सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

देवी माध्यमिक विद्यालयले मनायाे ५६ औँ वार्षिकोत्सव

देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो भवनभन्दा गतिलो शिक्षक चाहिन्छ : बिजुक्छें

भक्तपुरको देवी माध्यमिक विद्यालयले ५६ औं वार्षिकोत्सव मनाएकाे छ । वि.सं. २०२५ सालमा स्थापना भएकाे उक्त विद्यालयकाे ५६ औं वार्षिकोत्सव शुक्रबार विद्यालय प्राङ्गणमा भएको हाे ।

वार्षिकोत्सवकाे उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (राेहित) ले गर्नुभएकाे थियाे । उहाँले देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो भवनभन्दा गतिलो शिक्षक चाहिने बताउनुभयाे ।

'शिक्षाका लागि आवश्यक भवन तथा भौतिक पूर्वाधारमात्र गतिलो भएर हुँदैन, अध्यापन गराउने शिक्षकहरू पनि गतिला हुनुपर्छ, तबमात्र देश बनाउन सक्ने असल युवा जनशक्ति उत्पादन हुन्छन्,' उहाँले भन्नुभयाे ।  शैक्षिकस्तर उकास्न विद्यालयले अभिभावकहरूसँग निरन्तर छलफल र अन्तरक्रिया गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । 

अध्यक्ष बिजुक्छेंले विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक, एसईई उत्तीर्ण विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र विद्यालय परिवारलाई कदरपत्रका साथ सम्मान गर्नुभएकाे थियाे ।

चाँगुनारायण नगरपालिका– ९ का वडाध्यक्ष गणेश त्यातले शिक्षाकाे गुणस्तरका लागि देवी मावि उत्कृष्ट र नमूना विद्यालय रहेकाे उल्लेख गर्दै शैक्षिक पद्धति समान हुनुपर्नेमा जाेड दिनुभयाे ।

संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष राेशनराज तुईतुईले परीक्षा समितिकाे सक्रिय विद्यालयकाे रूपमा रहेकाे देवी मावि शैक्षिक उत्कृष्ट विद्यालय रहेकाे बताउँदै शिक्षककाे क्षमता अभिवृद्धिका लागि समितिले याेजना निर्माण गरेकाे जानकारी दिनुभयाे ।

प्रधानाध्यापक चन्द्रबहादुर थुयाजूले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका समस्या र चुनाैतीलाई सामना गर्नका लागि विद्यालयले बनाएकाे भावी नीत तथा कार्यक्रम पेश गर्नुभएकाे थियाे ।