आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

कल-झगडा (बालकविता)

हाम्रो बिचमा त्यस्तो कैल्यै हुन्न लफडा, बाहरूको किन हुन्छ कल झगडा ?

एक्कै छिन् त सुन्दा पनि भएँ झसङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग ।

हाम्रो बिचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल झगडा ?
नबुझेर ट्वाल्ल परेँ, भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै´छ र हो तिम्रा बासँग ?

कसले कुन्नि कैले कहाँ कस्तो बिगार गरे ?
सधैं मिल्ने मान्छे आज किन त्यसै लडे ?
आफ्नो भने मन त्यसै भयो भरङ्ग
मेरा बाले निहुँ खोजे रे तिम्रा बासँग ।

सँगै हाँस्दै, गफ गर्दै हिँडिरा´छन् ऐले
सुन्दै छु म चिया पिउन पसल गा´छन् ऐले ।
कैले लर्ने कैले मिल्ने परे म दङ्ग
मेरा बालाई सँगै देखेँ तिम्रा बासँग ।

बाहरूको कुरा के हो उत्तर खोजियो
`कल´ भनेको `फोन गर्नु हो´ भन्ने बुझियो ।
रमाएँ म, मक्ख परेँ, भएँ फुरुङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग ।


भोर्लेटार, लमजुङ

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)