पर्साका ग्रामीण विद्यालयमा विषयगत शिक्षक अभाव
कक्षा ९, १०, ११ र १२ का विद्यार्थी प्रभावित, प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकले माविमा पढाउनुपर्ने बाध्यता, नतिजा खस्कँदाे
विषयगत शिक्षकको अभावले पर्सा जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि शिक्षक व्यवस्थापन नहुँदा माध्यमिक तह (कक्षा ९, १०, ११ र १२) का विद्यार्थी प्रभावित भएका छन् ।
शिक्षक अभावका कारण प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकले नै उच्च कक्षामा पढाउनुपर्ने बाध्यता छ। यसले गर्दा विद्यालयहरूको नतिजासमेत कमजोर हुँदै गएको छ।
विन्ध्यवासिनी गाउँपालिका-३ मा रहेको रामस्वरूप रामप्रीत चौरसिया माध्यमिक विद्यालय झौवा र राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुअर्वाभाठा शिक्षक अभावले ग्रस्त छन्। झौवामा नेपाली र सामाजिक विषयका शिक्षकको अभाव छ भने बहुअर्वाभाठामा नेपाली र अङ्ग्रेजी विषयका शिक्षक छैनन्।
धोबिनी गाउँपालिका-१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरका प्रधानाध्यापक विनय कुर्मीले आफ्नो विद्यालयमा नेपाली, विज्ञान र सामाजिक विषयका शिक्षक अभाव रहेको बताउनुभयाे । प्रावि र निमावि तहका शिक्षकहरूबाट ती विषय पढाउनुपरेकाे उहाँले जानकारी दिनुभयाे ।
उहाँका अनुसार कक्षा ९ र १० का विद्यार्थीले विषयगत शिक्षक अभावका कारण एसईई परीक्षामा कम अंक ल्याउने गरेका छन्।
पर्साका १४ वटै पालिकामा विषयगत शिक्षकको समस्या छ। वीरगन्ज महानगरपालिका-१६ नगवास्थित विद्यालयमा हालै विद्यार्थीहरूले प्रदर्शन गरेपछि निजी स्रोतबाट शिक्षक नियुक्त गरिएको थियो । अन्य पालिकामा भने समस्या कायमै छ।
पालिकाका पदाधिकारीले सामुदायिक विद्यालयमा विषयगत शिक्षक व्यवस्थापनको प्रयास भइरहेको बताउँदै आए पनि समाधान भएको छैन। पालिकाका प्रमुखहरूबाट चासो नपाइने, संघ सरकारले पर्याप्त शिक्षक उपलब्ध नगराइरहेको गुनासो प्रधानाध्यापकहरूले गरेका छन्।
विद्यार्थी, शिक्षक, र अभिभावकहरूले स्थानीय तह र संघ सरकारलाई यस समस्याको समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
प्रतिक्रिया