आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सपनाको पाठ (बालकथा)

सपना सकिएपछि सुरज अकस्मात ब्यूँझियो । बिहान उठ्नेबित्तिकै उसले मोबाइल बन्द गर्‍याे र आमालाई भन्यो, “आमा, म आज किताब पढ्छु र साथीहरूसँग खेल्न जान्छु ।”

सुरज आठ वर्षको एक उत्साही बालक थियो । ऊ सधैं नयाँ कुरा सिक्न र संसार बुझ्न रुचाउँथ्यो । तर पछिल्ला दिनमा, ऊ पढाइ र खेलभन्दा मोबाइल फोनमा धेरै समय बिताउन थालेको थियो । मोबाइलका रङ्गीचङ्गी खेलहरूले उसलाई आकर्षित गर्थे । बिहान उठेदेखि राति सुत्ने समयसम्म उसले फोन छोड्नै चाहँदैनथ्यो ।

उसकी आमाले धेरै पटक सम्झाइन्, “सुरज, यो मोबाइलमा धेरै समय बिताउँदा तिम्रो आँखा बिग्रन सक्छ र स्वास्थ्यमा पनि असर पर्छ । किताब पढ, खेल खेल या त केही सिर्जनात्मक काम गर ।”

तर सुरजले भने, “आमा, मोबाइलमा धेरै रमाइलो छ । यहाँ संसारभरिका कुरा सिक्न पाइन्छ । खेलहरू पनि मजेदार छन् ।”

एक दिन, जब सुरज मोबाइल खेल्दै थियो, ऊ अकस्मात निदायो । निद्रामा उसलाई अनौठो सपना आयो ।

•••

सपना शुरू हुँदै गर्दा, सुरजले आफूलाई एउटा अनौठो ठाउँमा देख्यो । त्यो ठाउँमा न त रुखहरू थिए, न चरा, न फूलहरू । चारैतिर स्क्रिनहरू मात्रै थिए । स्क्रिनहरूबाट चम्किलो प्रकाश आउँथ्यो र आँखामा अलिक असजिलो पनि लाग्थ्यो । “यो कस्तो ठाउँ हो ?” सुरजले मनमनै सोच्यो ।

अचानक, अगाडि एउटा रोबोट देखियो । त्यो रोबोटले भन्यो, “स्वागत छ, सुरज ! यो ‘स्क्रिन नगर’ हो । यहाँ मानिसहरूले आफ्नो जीवन स्क्रिनमा बिताउँछन् । के तिमी यहाँ रमाइलो गरिरहेका छौ ?”

सुरजले जवाफ दियो, “तर मलाई यहाँ केही बेर पनि रमाइलो लागेन । यहाँ न त खेल्ने साथी छन्, न कुनै रमणीय दृश्य ।”

रोबोटले हाँस्दै भन्यो, “यही त हो समस्या । स्क्रिन नगरमा सबैले स्क्रिनमै ध्यान दिन्छन् । यहाँ मानिसहरू आफैंलाई बिर्सेर मेसिनजस्तै बाँच्छन् । के तिमी पनि यसरी नै बाँच्न चाहन्छौ ?”

सुरजले सोच्न थाल्यो । उसलाई सम्झना आयो, ऊ कसरी मोबाइलमा व्यस्त हुँदा साथीहरूलाई खेल्नको लागि समय दिन छोड्थ्यो । उसलाई आफूसँग भएको सुन्दर किताबहरू, आकाशको उज्यालो र साथीहरूसँगको हाँसो सम्झना आयो ।

•••

रोबोटले भन्यो, “सुरज, तिमीले आफ्नो जीवनमा सन्तुलन राख्नुपर्नेछ । स्क्रिन उपयोगी छ, तर यसले तिमीलाई आफ्ना प्रिय मानिसहरू र प्रकृतिबाट टाढा बनाउँदै छ । म तिमीलाई केही कुरा देखाउँछु ।”

रोबोटले सुरजलाई समयको झ्याल देखायो । त्यो झ्यालबाट सुरजले आफ्नो भविष्य देख्यो । उसले आफूलाई एक्लो देख्यो । ऊ ठूला स्क्रिनहरूसँग मात्र व्यस्त थियो, साथीहरू र परिवार हराइसकेका थिए । यो देखेर सुरजको आँखा रसायो ।

“म यस्तो जीवन चाहन्नँ,” सुरजले कराउँदै भन्यो, “म साथीहरूसँग खेल्न चाहन्छु, किताबहरू पढ्न चाहन्छु  र प्रकृतिमा रमाउन चाहन्छु।”

•••

सपना सकिएपछि सुरज अकस्मात ब्यूँझियो । उसको हृदयले ती दृश्यमाथि गहिरो असर परेको थियो । बिहान उठ्नेबित्तिकै उसले मोबाइल बन्द गर्‍याे र आमालाई भन्यो, “आमा, म आज किताब पढ्छु र साथीहरूसँग खेल्न जान्छु ।”

आमाले मुस्कुराउँदै भनिन्, “यो त निकै राम्रो हो । म तिमीलाई यसै कुराको लागि सम्झाउँदै थिएँ ।”

त्यस दिन सुरजले मोबाइललाई धेरै समय दिन छोड्यो । ऊ साथीहरूसँग क्रिकेट खेल्न गयो । बेलुका ऊ बगैँचामा बसेर आमासँग नयाँ किताबका कथाहरू पढ्न थाल्यो ।

•••

सुरजले त्यो दिनदेखि आफ्नो जीवनमा सन्तुलन ल्यायो । ऊ मोबाइल पनि चलाउँथ्यो, तर थोरै समयका लागि । ऊ साथीहरूसँग रमाइलो गर्थ्यो, खेल खेल्थ्यो र नयाँ-नयाँ ज्ञानको खोजी गर्न थाल्याे ।

अचेल सुरज सबैलाई भन्न थालेको छ- "जीवनलाई रमाइलो, सिर्जनात्मक र अर्थपूर्ण बनाउनका लागि वास्तविक संसारमा ध्यान दिन आवश्यक छ । हामीले प्रविधिको प्रयोग गर्नुपर्छ, तर त्यसले हामीलाई नियन्त्रण गर्न दिनुहुँदैन ।"

नन्दलाल आचार्य

बेलका- २, सिद्धार्थटोल, उदयपुर [email protected]