आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

गुगलले कसरी देख्यो महासागरको पिँध ?

हामीले अहिलेसम्म समुद्रको तल्लो सतहको म्यापिङ नै गर्न सकेका छैनौं भने गुगलले कसरी त्यहाँको चित्र देखाइरहेको छ त ?

हामीसँग अहिलेसम्म महासागरको तल्लो सतहको नक्सा नै छैन तर पनि जब हामी गुगग म्याप हेर्छाैं, तब समुद्रको सतहमा ठूलाठूला हिमाल, पहाड, भ्याली र ज्वालामुखीजस्ता संरचना देख्ने गर्दछौं ।

अब यहाँ एउटा प्रश्न उठ्छ कि हामीले अहिलेसम्म समुद्रको तल्लो सतहको म्यापिङ नै गर्न सकेका छैनौं भने गुगलले कसरी त्यहाँको चित्र देखाइरहेको छ त ? 

महासागरको नक्सांकन गर्नु निकै कठिन काम हो किनकि यो हामीले कल्पना गर्नेभन्दा धेरै गहिरो छ । समुद्रको १० मिटर गहिराइमा पुग्नेबित्तिकै तपाईंको शरीरले अतिरिक्त दबाब महसुस गर्न थाल्नेछ । 

सन् २०२३ को सुरुमा विश्व रेकर्ड बनाउँदै आर्नुड जेराल्ड त्यो पहिलो व्यक्ति बने जो बिनाकुनै अक्सिजन सिलिन्डर एक सय २२ मिटरको गहिराइमा पुगेका थिए । अक्सिजन र विभिन्न उपकरण प्रयोग गरेर पनि त्योभन्दा तल जान निकै कठिन हुन्छ ।

अहमद गाबर यो संसारका एक्ला त्यस्ता व्यक्ति हुन् जसले सम्पूर्ण उपकरण प्रयोग गरेर १० वर्षको मिहिनेतपछि तीन सय ३२ दशमलब ३५ मिटर गहिरो डाइभ गर्न सफल भएका थिए । यो नै अहिलेसम्मको विश्व रेकर्ड हो । अर्थात् योभन्दा तल जान सम्भव नै छैन । 

यदि तपाईसँग सबमरिन छ भने पानीमुनिको यो यात्रा जारी राख्न सक्नुहुन्छ । त्यतिबेला तपाईंको चारैतिर अँध्यारोबाहेक केही हुनेछैन किनकि समुद्रको यो गहिराइमा सूर्यको प्रकाश पनि पुग्न सक्दैन । 

समुद्रमा प्रत्येक एक सय मिटर गहिराइपछि त्यहाँको जैविक विविधता धेरै परिवर्तन हुने गर्दछ । आठ सय मिटरको गहिराइमा पुगेपछि सबमरिनमा पनि समस्या देखिन थाल्नेछ । 

समुद्रको यो गहिराइ संसारको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफाबराबर हो । त्यहाँको एटमोस्फेयरिक प्रेसर पृथ्वीको सतहभन्दा ८० गुणा धेरै हुन्छ । त्यसैले कुनै सामान्य सबमरिनमा त्योभन्दा अगाडिको यात्रा गर्न सम्भव छैन ।

संसारको सबैभन्दा गहिरो समुद्री भूभाग मरियाना ट्रेन्चको गहिराइ ११ हजार ३४ मिटर अर्थात् करिब ११ किलोमिटर छ । त्यसैले महासागरको त्यो गहिराइमा पुग्न धेरै चुनौतीपूर्ण र लगभग असम्भवजस्तै छ । 

तर गुगलले महासागरको पिँध कस्तो छ भनेर कसरी थाहा पायो त ?

वास्तवमा समुद्रको तल्लो सतहसम्म प्रकाश वा सेटेलाइटको इलेक्ट्रो म्याग्नेटिक वेभ पुग्न सक्दैन । वैज्ञानिकहरू समुद्रको माथिल्लो सतहको अध्ययन गरेर नै त्यसको तल्लो सतह कस्तो छ भनेर पत्ता लगाउने गर्दछन् । 

हामी समुद्रको माथिल्लो सतह समतल छ भन्ने सोच्ने गर्दछौं, तर त्यो सतह हामीले सोचेजस्तो समतल छैन । समुद्रको माथिल्लो सतह पनि धेरै हदसम्म त्यसको सबैभन्दा तल्लो सतहसँग मिलदोजुल्दो हुन्छ । 

उदाहरणका लागि यदि कुनै समुद्रको सतहमा हिमाल रहेको छ भने त्यहाँ समुद्रको माथिल्लो सतहको पानी पनि केही माथि उठेको हुन्छ । त्यो लगभग पिँधमा रहेको हिमालकै आकारमा माथि उठेको हुन्छ । 

यदि महासागरको पिँधमा कतै भ्याली वा ट्रेन्च छ भने त्यसको माथिल्लो सतहको पानी पनि त्यही भ्याली वा ट्रेन्चजस्तै केही तल दबिएको हुन्छ । तर त्यस्ता परिवर्तन धेरै सामान्य हुन्छन् जुन हाम्रो नांगो आँखाले पत्ता लगाउन सक्दैन । यसलाई सेटेलाइटको माध्यमबाट समुद्रको सतहमा पठाइएका रडार पल्समार्फत् नाप्न सकिन्छ । 

यही प्रविधिको प्रयोग गरेर गुगल म्यापले समुद्रको त्यो सतहको टु–डी म्याप बनाउने गर्दछ ।