किताबरहित शुक्रबार : रैथाने सीप सिक्दै विद्यार्थी (भिडियाे)
बुक फ्रि फ्राइडेका दिन विद्यार्थीले दाम्लो, नाम्लो, डोरी, पिरा, टपरी, ठहर, दुना, बोहता, डोको, पेरुङ्गोजस्ता सामग्रीहरू बुन्नु, उन्नुभएको थियो ।
भाइबहिनीहरू सुन्नु भएकै होला– सीप भए भोकभोकै रहनु पर्दैन । ज्ञानको राजा भनेकै सीप हो । देशलाई चिन्न हातमा सीप र आँतमा माया हुनुपर्छ ।
धेरै पाठ्यपुस्तकहरू तपाईंहरूका हातमा छन् । ती ज्ञानका लागि हुन् । किताबले व्यवहार सिकाउँदैन । किताबको कुरा पढ्न स्कुल जानुपर्छ । व्यवहार सिक्न घर, समाजमा रहनु पर्छ भन्ने धारणा छ ।
तर पनि घर, समाजमा सिकेको कुरा स्कुलमै सिक्न पाउँदा अझ राम्रो हुन्छ भन्ने चौतर्फी अभ्यासले प्रमाणित गरेको छ । सहरदेखि गाउँघरसम्म हरेकजसो विद्यालयले परम्परागतदेखि अत्याधुनिक प्रविधिका सीपहरू बालबालिकालाई सिकाउने क्रम बढेको छ ।
यही क्रममा ओखलढुंगाकाे मानेभन्ज्याङस्थित श्री भगवती माध्यमिक विद्यालय मानेभन्ज्याङका साथीहरूले पहिलो पटक २०८१ मंसिर ७ गते किताबबिहीन खुसियाली शुक्रबार (बुक फ्री फ्राइडे) मनाउनुभयो । यो स्कुल ओखलढुंगा जिल्ला सदरमुकाम दक्षिणकाे मानेभन्ज्याङ गाउँपालिका–५ मुकाममा रहेको छ । बाल कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा करिब ६ सय जना अध्ययनरत हुनुहुन्छ ।
सीप सिकाइमा लगभग ४ सय ४८ जना विद्यार्थी साथीहरू जुट्नुभएको थियो । ‘बुक फ्री फ्राइडे’मा उहाँले विभिन्न आठओटा रैथाने सीपको अभ्यास गर्नुभयो । बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीले कागजबाट विभिन्न सामग्री निर्माण गर्ने सीप सिक्नुभयो ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थी दाजुदिदीहरू आफ्ना रुचीअनुसार केस कटाइ, धुवाँरहित चुल्हो निर्माण, चोया, पात, खर, मकैका खोस्टा, परालबाट बन्ने विभिन्न सामग्री र बत्ती कात्ने सीपको अभ्यास गर्नुभयो । विद्यार्थीले दाम्लो, नाम्लो, डोरी, पिरा, टपरी, ठहर, दुना, बोहता, डोको, पेरुङ्गोजस्ता सामग्रीहरू बुन्नु, उन्नुभएको थियो ।
प्रत्येक सीपमा दुई–दुईजना शिक्षक सहजकर्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । आफ्नै घर तथा स्थानीय स्तरमा पाइने आवश्यक सामग्री, कैंची, काँगियो, चोया, पात, बाबियो, खोस्टा, कपास र पुराना कागजलगायतका सामग्री जुटाइएको थियो । ती सामग्री सीपगत समूह शिक्षक तथा विद्यार्थी स्वयंले व्यवस्थापन गर्नुभएको शिक्षक बुद्धिबहादुर राईले जानकारी दिनुभयो ।
विद्यार्थीद्वारा शिक्षकको केस कटाइबाट कार्यक्रम सुरु भएको थियो । सुरुमा कक्षा १० का समीर दर्नालले कक्षा ८ का सानुराम रुचालको कपाल काटिदिनुभयो । त्यसैगरी कक्षा ११ का दीपेन्द्र राईले कक्षा ७ का दिवाध्वज राईको र कक्षा १२ का मोहन राईले शिक्षक तिलबहादुर अधिकारीको कपाल काटिदिनुभएको थियो । विद्यालयमै केस काट्ने सीप भएका विद्यार्थीबाट कटाउन थालेपछि अबदेखि बजारमा लामवद्ध भएर पैसा तिरेर कटाउनुपर्ने बाध्यता हटेको प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले बताउनुभयो । ‘विद्यार्थी भाइबहिनीहरूलाई जीवनोपयोगी सीप सिकाइ बढावा दिनु हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘यो रैथाने सीप भनिए हो र यसले स्वावलम्बी बनाउने छ ।’
विद्यार्थीद्वारा निर्माण गरिएको सीपकलालाई सामुहिक प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र मानेभन्ज्याङ गाउँपालिकाका शिक्षा शाखा प्रमुखको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितका अध्यक्ष रामकुमार राईले विद्यार्थीद्वारा निर्मित सामग्री अवलोकनपछि खुसी हुँदै सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
समीक्षात्मक कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख भरत खतिवडाले सिर्जनात्मक कार्यक्रम आयोजना गर्न हौसला प्रदान गर्दै जिल्लामै यो कार्यक्रम पहिलो भएको बताउनु भएको थियो ।
विद्यालयको वाष्किि कार्यतालिका अनुसार हरेक शुक्रबार अतिरिक्त क्रियाकलापहरू हुँदै आएको छ । ‘बुक फ्री फ्राइडे’ कार्यक्रम वर्षमा तीनवटा हुने तालिका छ । त्यसअनुसार गत असोज ११ गते यो कार्यक्रम हुनुपर्ने थियो । तर देशमा अविरल वर्षा, बाढी र पहिरोका कारण स्थगित गरिएको थियो । अब माघ २५ गते ‘खाना मेला’ हुनेछ भने फागुन २३ गते ‘सीप सिकाइ’को हुनेछ ।
राष्ट्रगानका रचयिता व्याकुल माइलाको स्कुल
जनतालाई २०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका रूपमा स्थापित यस विद्यालयलाई मानेभन्ज्याङ गाउँपालिकाले नमुना विद्यालयका रूपमा विकास गरेको छ । विद्यालयले ६४ वर्षको यात्रा पूरा गर्दा सम्ममा विद्यालयबाट सयौं विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गरेका छन् । यही श्री भगवती माध्यमिक विद्यालयबाट राष्ट्रगानका रचनाकार व्याकुल माइलाले २०४६ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।
यसैगरी वर्तमान संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाले यही विद्यालयबाट २०४१ एसएलसी पहिलो ब्याचमा उत्तीर्ण गर्नुभएको थियो ।
विद्यालयले आफ्नो हीरक जयन्तीमा ‘भगवती स्मारिका’को दुई अंक (२०७७ र २०७८) प्रकाशित गरेको छ । नमुना विद्यालयका रूपमा विकास गर्न विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको प्रधानाध्यापक बास्तोलाले जानकारी दिनुभएको छ । जसमा केरेन र साथी नेपाल संस्थाको सहयोगमा बालमैत्री कक्षा व्यवस्थापन, शिक्षक तालिम दिने गरेका छन् ।
यस्तै पहार ट्रस्ट नेपालको सहयोगमा व्यवस्थित पुस्तकालयको व्यवस्था रहेको छ । उत्कृष्ट पाठक विद्यार्थीलाई पुरस्कारको व्यवस्था छ । गोरखा वेलफेयर ट्रस्टको सहयोगमा भव्य आधुनिक भवन निर्माण गरिएको छ ।
_sgLFjcEqyl_mq2xfoxjkeckad5hwyenzqox9srpo8glyv3cekddfsfjhguyl3hgrbdkteav_AWY8qLORvQ_zsxijftg7vsyqv6oygfyoxoylxocmgkuvyqgj1bmfrth3pz2uis3zji2qles.jpg)
अबाकस तथा मानसिक गणित प्रतियोगिता सम्पन्न

शिक्षकका माग पूरा, आन्दाेलन फिर्ता
ललितपुर महानगरले भन्याे– वैशाख १६ देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू

४५ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड तर सडकमै पाक्छ शिक्षककाे तलब

कक्षा १२ काे परीक्षा निर्धारित मितिमै गर्ने निर्णय

शिक्षा समिति सभापतिले अपमान गरेकाे भन्दै शिक्षकहरू आक्राेशित

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

प्रतिक्रिया