सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सामाजिक परम्परालाई चुनौती दिँदै कन्या गुरुकुलका किशाेरीहरू (भिडियाे )

‘छोरीले कर्मकाण्ड गर्नु हुँदैन, गर्न सक्दैनन् भन्ने प्रचलन थियो, त्यो प्रचलनलाई तोड्दै हामी छोरीहरू कर्मकाण्ड पढ्दै छौं, कर्मकाण्ड गर्न अग्रसर छौं ।'

सुनिता बटाला लोककल्याणी चितवनको देवघाटस्थित कालिका संस्कृत विद्यापीठमा संस्कृत द्वितीयक संस्कृत व्याकरण विषय अध्ययनरत हुनुहुन्छ ।

‘छोरीले कर्मकाण्ड गर्नु हुँदैन, गर्न सक्दैनन् भन्ने प्रचलन थियो,’ उहाँ भन्नुहुन्छ, ‘त्यो प्रचलनलाई तोड्दै हामी छोरीहरू कर्मकाण्ड पढ्दै छौं, कर्मकाण्ड गर्न अग्रसर छौं । कर्मकाण्डमा सत्यनारायण पूजा, रुद्री पाठ, विवाह गराएका छौं । यो नै संस्कृत पढेको उपलब्धि हो ।’

यसैगरी राधिका लोककल्याणी शास्त्री प्रथमा अध्ययनरत हुनुहुन्छ । ‘मैले पहिलोचोटि कावासोतीमा श्रीमद् देवी भागवत वाचन गर्ने अवसर पाएको थिएँ,’ आफूले हासिल गरेको ज्ञानको प्रवद्र्धनबारे उहाँ भन्नुहुन्छ, ‘मैले एक ठाउँमा वाचक र अरु ठाउँमा उपवाचकका रूपमा काम गरेको छु । हामीले जुन विद्या प्राप्त गर्छौं । त्यसलाई  नम्रताका साथ उपयोग गर्नुपर्छ । त्यो धर्मले हामीलाई सुख दिन्छ ।’ 

सुनिता र राधिका सामाजिक परम्परालाई चुनौती दिने पछिल्लो पुस्ताका उदाहरण हुनुहुन्छ । उहाँहरू लोककल्याण सेवा प्रतिष्ठानद्वारा चितवनको देवघाटमा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुल) मा अध्ययनरत हुनुहुन्छ ।

यसो त दुई जनामात्र होइन, कन्या गुरुकुलमा अहिले ८६ जना नानीहरू हुनुहुन्छ । ‘बाह्र जनाले दुई–तीन घण्टा गरेर एक दिनको कार्यक्रम भागवत गीता पाठ गर्न सक्नुहुन्छ,’ प्रतिष्ठानकी अध्यक्ष साबित्री टण्डन (नेपाली माता) भन्नुहुन्छ, ‘उहाँहरूमध्ये ६ जना व्यासमै बसेर गीताको अध्याय, देवी भागवत, रामायण, शिवपुराण शास्त्रको विधिअनुसार वाचन गर्न सक्नुहुन्छ । विधिअनुसार सात दिन, नौ दिन, एघार दिन लामो हुन्छ । विभिन्न ठाउँमा आयोजकले बोलाउनु हुन्छ । उहाँहरू सम्पन्न गरेर आउनुहुन्छ ।’

बाबुआमाबाट बञ्चित, अभिभावकबाट संरक्षण नपाएका नानीहरूको संरक्षण गर्ने उद्देश्यले २०६८ सालमा देवघाटमा कन्या गुरुकुल स्थापना गरिएको हो ।  देवघाट पवित्र तीर्थस्थल हो । नारायणी नदी वारि–पारि संस्कृत गुरुकुल वेद विद्याश्रम रहेका छन् । 

नीलम लोककल्याणी कक्षा १२ मा पढिरहनुभएको छ । ‘आध्यात्मिक शिक्षामा बाँधिएर औपचारिक शिक्षा दुवै हासिल गरिरहेका छौं,’ पाँच कक्षादेखि यहाँ पढ्दै आउनुभएकी नीलम भन्नुहुन्छ, ‘ज्ञान विद्यालयमा गएर सिक्छौं । आध्यात्मिक शिक्षाले व्यक्तिलाई बुद्धि प्रदान गर्छ ।’

स्वस्तिका लोककल्याणी श्री सीताराम संस्कृत माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्नुहुन्छ । उहाँ संस्कृत र आधुनिक शिक्षा दुवै पढ्नुहुन्छ । उहाँलाई नेपाली विषय मनपर्छ । स्वस्तिका फरर्र गीता पाठ गर्न सक्नुहुन्छ । 

कन्या गुरुकुल स्थापनाकालमा तीन जना बालकन्याको शिक्षादीक्षाबाट आरम्भ गरिएको थियो । यहाँबाट शिक्षादीक्षा प्राप्त गरेका नानीहरूमध्ये करिब ५० जना पुनःस्थापित भइसकेको अध्यक्ष टण्डन बताउनु हुन्छ । ‘उहाँहरूको पहिचान खुल्ने हकवालालाई जिम्मा लगाइदियौं,’ उहाँ भन्नुहुन्छ ।
 
कतिपयचाहिँ परिवारको हकवाला फेला परे पनि आध्यात्मिक शिक्षालाई निरन्तर अघि बढाउन  आश्रममै सेवा गरेर बस्नुभएको छ । यहींबाट उच्च शिक्षा हासिल गर्नुभएको छ । 

गुरुकुल शिक्षा भए पनि यहाँ आधुनिक शिक्षासमेत पढाइन्छ । आफ्नो क्षमता र रोजाइअनुसार यहाँ नानीहरू कम्प्युटर साइन्स, व्यवस्थापन, शिक्षाशास्त्र पढिरहनुभएको छ । 

नानीहरू संस्कृतमा संवाद गर्नु हुन्छ । संस्कृतमै कार्यक्रम सञ्चालन गर्नु हुन्छ । वाद्यवादन आफैं बजाउने, गाउने गर्नुहुन्छ । अतिरिक्त क्रियाकलापहरू वक्तृत्वकला, कविता, गीत गाउने प्रतिस्पर्धामा उत्रिनु हुन्छ । 

लोककल्याण सेवा प्रतिष्ठानका महासचिव रामेश्वर खनाल आध्यात्मिक ज्ञानले मान्छेको लक्ष्य र उद्देश्य उज्ज्वल हुने बताउनुहुन्छ । ‘मानव त्यो प्राणी हो, जसमा चेतना छ । उसले कर्म गर्नुपर्छ । यो मानव चोलामा बुझेर कर्म गर्न सक्यो भने भगवानलाई पनि दास बनाउन सकिन्छ, जसरी भक्त प्रल्हादले बनाएका थिए,’ उहाँ भन्नुहुन्छ ।

बालिका आश्रमका संरक्षक सदस्य डा. वासुदेवकृष्ण शास्त्री यस्तो कन्या गुरुकुल नेपालका अन्य ठाउँमा पनि खुल्न आवश्यक रहेको बताउनु हुन्छ । ‘मातृ गुरुकुल शिक्षा अति आवश्यक छ,’ उहाँ भन्नुहुन्छ, ‘यसो हुँदा विदूषी योगमाया न्यौपानेले राणाकालमा गर्नुभएको विद्रोह र उहाँले दिनुभएको ज्यानको आहुतिको समेत सम्मान हुनेछ ।’ गुरुकुलीय शिक्षापद्धति नारीशक्तिको मर्यादाप्रति सशक्त हुनुपर्ने उहाँ उल्लेख गर्नुहुन्छ ।