बयरको शिक्षा (बालकथा)
बयरको बोटले केवल बयर मात्र दिँदैनथ्यो । त्यसमा अनौठो गुण थियो- त्यसले शिक्षण गर्थ्यो तर त्यो कुरा धेरैलाई थाहा थिएन ।
पुरन्दह गाउँको बीचमा विशेष विद्यालय थियो । त्यहाँका विद्यार्थीहरू निकै उत्साही थिए । विद्यालयको आँगनमा एउटा ठूलो बयरको बोट थियो । यो बोट निकै पुरानो थियो । गाउँलेहरूका लागि त्यसको महत्त्व ठूलो थियो । बोटले हर वर्ष मिठा बयर फलाउँथ्यो । खान पाएर विद्यार्थीहरू हर्षित बन्थे ।
बयरको बोटले केवल बयर मात्र दिँदैनथ्यो । त्यसमा अनौठो गुण थियो- त्यसले शिक्षण गर्थ्यो । तर त्यो कुरा धेरैलाई थाहा थिएन ।
त्यही विद्यालयमा अनमोल नामका दस वर्षीय बालक पढ्थे । उनी तीव्र दिमागका थिए । उनलाई पढाइभन्दा खेलकुद र मोबाइलमा खेल खेल्न धेरै रुचि थियो । उनी सधैं नयाँ-नयाँ खेलको बारेमा साथीहरूलाई सुनाउँथे ।
'पढ्नु त पुरानो कुरा हो ।' उनी प्रायः यसै भन्थे, 'अब त सबै कुरा मोबाइलमै सिक्न सकिन्छ।'
उनको यस बानीले शिक्षकहरूलाई चिन्तित बनाएको थियो। एक दिन शिक्षकले भने, 'अनमोल, मोबाइल खेल्दा रमाइलो हुन्छ तर किताबले तिमीलाई जीवनको साँचो ज्ञान दिन्छ।'
अनमोलले यस कुरालाई गम्भीर रूपमा लिएनन् ।
बयरको बोटले यी सबै दृश्य हेरिरहेको थियो । विद्यालय छुट्टी भएको बेला अनमोल बोटमुनि बसिरहेका थिए । त्यही बेला बयरले भन्यो, 'अनमोल, मसँग कुरा गर ।'
अनमोल झस्किए । 'बयरले कसरी बोल्न सक्छ ?' उसले आँखा मिच्दै भने ।
'म तिमीलाई केही सिकाउन चाहन्छु ।' बयरले भन्यो ।
अनमोल छक्क परे । उनको मनमा जिज्ञासा जाग्यो। 'के सिकाउन चाहन्छौ ?' उनले सोधे।
बयरले भन्यो, 'तिमीलाई थाहा छ, म यहाँ कति वर्षदेखि छु ?'
अनमोलले काँध उचाल्दै भने, 'शायद धेरै ।'
'ठीक छ,' बयरले भन्यो; 'मैले हरेक मौसममा आफ्नो पात झारेको छु । नयाँ पालुवा पलाएको छु । फल दिएको छु। मलाई सूर्यको प्रकाश, पानी र माटोको आवश्यकता पर्छ । ती सबै कुरा पाउन मैले प्रकृतिसँग तालमेल गर्नुपर्छ । मैले कहिल्यै सजिलो बाटो खोजिनँ ।'
'यसको मसँग के सम्बन्ध छ र ?' अनमोलले जिज्ञासु हुँदै सोधे।
'तिमीले अहिले सजिलो बाटो रोज्न खोज्दै छौ । मोबाइलमा खेल खेल्न सजिलो छ तर ज्ञान र सीप त मेहनतले आउँछ । किताबहरू पढ्न थाल । प्रश्न गर । नयाँ कुरा सिक । मैले आफ्ना जराहरूलाई बलियो बनाएजस्तै यसले तिमीलाई बलियो र सफल बनाउँछ ।'
बयरको कुराले अनमोलको मन छोयो । उनले सोच्न थाले, 'सायद बयरले सही भन्यो । मैले पढाइमा ध्यान दिनुपर्छ ।'
अर्को दिन विद्यालयमा अनमोलले आफ्ना शिक्षकसँग बयरको संवादको कुरा सुनाए । शिक्षकले मुस्कानसहित भने, 'त्यो बयर हाम्रो सबैभन्दा ठूलो शिक्षक हो । त्यसले तिमीलाई मात्र होइन, हामी सबैलाई शिक्षा दिन्छ ।'
त्यस दिनदेखि अनमोलले मोबाइलमा गेम खेल्न कम गरे । पढाइमा ध्यान दिन थाले। साथीहरूले पनि उनको बाटो अनुकरण गरे।
बयरको बोट अझै विद्यालयको आँगनमा उभिएको छ । बालबालिकाहरू अझै त्यसको छहारीमा खेल्छन् । बयर खान्छन् । सिक्छन् । बयरले सबैलाई जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउन कहिल्यै नथाक्ने वाचा गरेको छ।
गाउँलेहरू भन्छन्, 'यो बयर केवल हाम्रो विद्यालयको सौन्दर्य मात्र होइन, हाम्रो जीवनको मार्गदर्शक पनि हो ।'
बेलका-२. सिद्धार्थटोल, उदयपुर
प्रतिक्रिया