सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

डिजिटलमैत्री बन्दै उपत्यकाका २०० निजी विद्यालय

प्याब्सनले हरेक जिल्लाका सदस्य विद्यालय र कार्यरत शिक्षकलाई डिजिटल एआई प्रयोगका निम्ति सशक्तीकरण गर्दै जाने

काठमाडौं उपत्यकाका दुई सय निजी तथा आवासीय विद्यालयलाई डिजिटलमैत्री गरिने भएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजन नेपाल (प्याब्सन) ले सोमबार आयोजना गरेको ‘डिजिटल एन्ड बियोन्ड एक्सपिरियन्स एआई’ सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो । 

त्यसनिम्ति प्याब्सनले डिजिटल एन्ड बियोन्ड संस्थासँग सहकार्यका निम्ति सम्झौता गरेको अध्यक्ष डिके ढुंगानाले जानकारी दिनुभयो । ‘प्याब्सन अब फरक धारमा अघि बढ्दैछ,’ अध्यक्ष ढुंगानाले भन्नुभयो, ‘काठमाडौं उपत्यकाका दुई सय विद्यालय छनोट गरी डिजिटल पाइलट प्रोजेक्ट लागू गर्छौं र अबको सात महिनाभित्र शिक्षक तालिम सम्पन्न गर्नेछौं ।’ 

प्याब्सनमातहत देशभरि पाँच हजार सदस्य विद्यालय छन् । त्यसमध्ये उपत्यकामा १ हजार ८ सय विद्यालय रहेका छन् । 

प्याब्सनले हरेक जिल्लाका सदस्य विद्यालय र कार्यरत शिक्षकलाई डिजिटल एआई प्रयोगका निम्ति सशक्तीकरण गर्दै जाने जनाएको छ । ‘हरेक जिल्लाका स्कुललाई डिजिटल प्रयोगका निम्ति तयारी गर्न, गराउन प्रेरित गर्नेछौं,’ ढुंगानाले भन्नुभयो, ‘स्कुल आफैंले तयारी नगरे विद्यार्थीले छोड्ने छन् । अब कुनै पनि विद्यालय डिजिटलविहीन भएर रहन सक्दैन ।’

डिजिटल एन्ड बियोन्ड संस्थाका प्रमुख कार्यकारी अधिकृत सगुन ढुंगानाले विगत डेढ दशकदेखि शिक्षामा सूचना प्रविधि तथा एआईको प्रयोगबारे काम गर्दै आएको बताउनुभयो । पछिल्लो पटक काठमाडौं महानगरपालिकाका ८१ सामुदायिक विद्यालय र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

‘हामी ४५ मिनेटको कक्षामा गरिने सिकाइ र एआईका माध्यमबाट ३० सेकेन्डमा बालबालिकाले सिक्ने सिकाइबीचको अन्तरलाई केलाउन सक्ने शिक्षकलाई बुझाउन तालिम दिन्छौं,’ प्रमुख कार्यकारी अधिकृत ढुंगानाले भन्नुभयो, ‘शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम, शिक्षण सिकाइमा एआई जोडेर अघि बढ्नु एकमात्र विकल्प हो । हामी त्यसलाई सहजीकरण गर्दैछौं ।’

परम्परागत सिकाइलाई एआई/च्याट जिपीटीले विस्थापित गरेको जनाइएको छ । अहिले च्याट जिपीटीले ९२ प्रतिशत अंग्रेजी भाषामा अनुवाद गर्ने गरेको छ । नेपाली भाषामा भरखरैमात्र प्रवेश गरेको जनाइएको छ ।