सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

'शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय'

नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा) को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगी कविले श्रम चेतनासम्बन्धी कविता वाचन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो  ।

राष्ट्रव्यापी कविता प्रतियोतिमा प्रथम विवेक पराजुलीलाई नगद पुरस्कार रु. ५०  हजार, द्वितीय देवीप्रसाद बराललाई रु. ३५ हजार तथा तृतीय भीष्मराज काफ्ले र गौरी कँडेललाई रु. २० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा. कोमल फुँयालले विश्वसाहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रमचेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।

समारोहमा निष्टाका सल्लाहकार संयोजक मुकुन्द गौतम र अनुसन्धान सल्लाहकार डा. दशरथ न्यौपानेलाई सम्मानित गरिएको थियो । सो अवसरमा निस्टा बागमती प्रदेशद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा यान्त्रिक माध्यमद्वारा आयोजित समारोहका अभिनन्दित शोधार्थीलाई समेत सम्मान गरिएको प्रदेश अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो ।

केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले निस्टाले पेशागत सवालका अतिरिक्त शिक्षक तथा विद्यार्थीकेन्द्रित सृजनात्मक र अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनुभयाे ।

प्रदेशस्तरमा समेत विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो । यसै वर्षको अन्त्यसम्ममा मैथिली भाषा, साहित्य र संस्कृतिमा श्रमचेतना विषयक प्रदेशस्तरीय गोष्ठी तथा कविता प्रतियोगिता आयोजना हुने निस्टाले जनाएको छ ।

समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर, ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपाली,  ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलनाथ दाहाल, पब्लिक क्याम्पस प्राध्यापक संघका सल्लाहकार प्रा.डा. घमानसिंह खड्का,  नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेपाल लेखक संघ महासचिव सोझो गाउँले लगायतको उपस्थिति रहेको थियो ।