काठमाडौंमा बालश्रमिक : 'सित्तैमा काम गर्नुपर्छ, त्यहीमाथि घरमुलीले पिट्छन्'
घरमुलीसँग बस्दै आउनुभएका २०६ बालबालिकाले सित्तैमा काम गर्नुपरेको बताउनुभएको छ भने १६१ जनालाई घरमुलीले सजाय दिने गरेको सुनाउनुभएको छ
बालसाथीहरू तपाईंहरूको अवस्था कस्तो छ ? बुवा–आमासँगै बसेर पढिरहनुभएको छ भने ठीकै छ । अरु अभिभावकसँग हो भने पनि राम्रै छ । अभिभावकभन्दा धेरै टाढा बसेर संघर्ष गर्दै हुनुहुन्छ भने के कसरी अघि बढ्नुभएको छ ?
बालबालिका खुलस्त बोल्न सक्दैनन् । अन्तरमुखी हुन्छन् । आफ्नो मनका कुरा र पीडा पोख्न सक्दैनन् । बालबालिकाको स्थितिबारे अभिभावकबाहेक कसैलाई जानकारी हुन्न ।
काठमाडौं उपत्यकामा रहनुभएका बालश्रमिक साथीहरूको अवस्थाबारे भने काठमाडौं महानगरपालिकाले सोधीखोजी थालेको छ । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागअन्तर्गत बालअधिकार समितिले यो कामको थालनी गरेको हो ।
समितिले महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालय पढ्दै गरेका बालबालिकाको सोधीखोजी गरेको हो । त्यसक्रममा आफ्नो नातागोताभन्दा बाहेकका घरपरिवारसँग बस्दै आउनुभएका २ सय ४५ जना बालबालिका फेला पर्नुभएको छ । उहाँहरूमध्ये १४ वर्षभन्दा कम उमेरका १ सय ४३ जना हुनुहुन्छ । सबैजना गरी १ सय ५३ जना बालिका र ९२ जना बालक हुनुहुन्छ ।
समितिले उहाँहरूको अवस्थाबारे अध्ययन र विश्लेषणसहित प्रतिवेदन तयार गरेको छ । घरमुलीसँग बस्दै आउनुभएका २ सय ६ जनाले सित्तैमा काम गर्नुपरेको प्रतिवेदनमा छ । त्यहाँ काम गरेबापत घरमुलीबाट आफ्नो परिवारले कुनै आर्थिक लाभ नलिएको जानकारी दिनुभएको छ ।
बालश्रमिक साथीहरूमध्ये १ सय ४८ जनाले दैनिक ५ घण्टाभन्दा बढी काम गर्नुपर्छ । उहाँहरूमध्ये १ सय ७६ जना राति १० बजेपछि सुत्ने गर्नुहुन्छ ।
बालश्रमिकमध्ये १ सय ३० जना तीन वर्षभन्दा लामो समयदेखि घरमुलीसँग बस्दै आउनुभएको छ । उहाँहरूमध्ये २५ जनाले आफ्नो घरपरिवारसँग कहिल्यै सम्पर्क गर्न पाउनुभएको छैन । लामो समयको अन्तरालमा भेट हुने गरेका ८५ जना हुनुहुन्छ ।
‘अन्तर्वार्ताका क्रममा १ सय ९९ जना बालबालिकाले आफू अध्ययनका लागि र आर्थिक कारणले गर्दा हालको अवस्थामा रहे–बसेको बताएका छन्,’ महानगर बालअधिकार समितिको प्रतिवेदनमा छ, ‘उनीहरूमध्ये १ सय ६१ जना बालबालिकालाई रहे बसेको घरमुलीले सजाय दिने गरेको पाइएको छ ।’
उहाँहरूमध्ये ४० जनाले अहिले आफू बसिरहेको घरबाट भागेर अन्त जाने सोच बनाउनुभएको छ ।
यसरी भएको थियो खोजी
महानगरपालिकाले बाल उद्धार कार्यविधि २०८० चैतमा पारित गरेको छ । कार्यविधिअनुसार बालअधिकार समितिले बाल श्रमिकहरूको खोजतलास गर्न स्नातक तह पढ्दै गरेका युवालाई ‘इन्टर्न’का रूपमा छनोट गर्ने निर्णय ग¥यो । त्यसैअनुसार गत वैशाखमा ३१ जना इन्टर्नको माग ग¥यो । सोसल साइन्स, स्वास्थ्य, बिएसडब्लु, कानुन पढ्दै गरेका युवा इन्टर्न छानिनुभयो । त्यसपछि उहाँहरूलाई बाल अधिकारबारे तालिम तथा प्रशिक्षण दिइयो ।
समितिका सदस्य सोनी भट्टराईले जानकारी दिनु भएअनुसार त्यसपछि ५–५ जनाको टोली बनाइयो । उहाँहरूमध्ये १ जना इन्टर्न लिडर तोकिनुभएको थियो । इन्टर्नहरूलाई महानगरपालिकाभित्र रहेका ८९ सामुदायिक (सरकारी) विद्यालयमा खटाइयो ।
महानगरपालिकाले प्रत्येक स्कुलमा बाल संरक्षण शिक्षक तोक्न लगाएको छ । इन्टर्न दाजुदिदीहरू सम्बन्धित स्कुलमा पुगेर प्रधानाध्यापकलाई भेटेर आफ्नो उद्देश्य बताउनुभयो । त्यसपछि बाल संरक्षण शिक्षकलाई भेटेर आफ्नो कुराकानी राख्नुभयो । त्यसपछि अर्काको घरमा बालश्रमिकका रूपमा काम गर्दै पढ्न आउनुभएका बालबालिका साथीहरूलाई छुट्टाछुट्टै भेट्नुभयो ।
त्यसरी इन्टर्न दाजुदिदीहरूले स्कुलमा पढ्दै गर्नुभएका बालश्रमिक साथीहरूको अवस्थाबारे महानगरपालिकाको बाल अधिकार समितिलाई जानकारी गराउनुभयो । आफूले अनुभव गरेका सबै कुरा बताउनुभयो । त्यसपछि इन्टर्नलाई बाल अधिकारबारे थप तालिम दिनुभयो । के कसो गर्ने भन्नेबारे रणनीति बन्यो । त्यसपछि फेरि स्कुलमा बालश्रमिक साथीहरूसँग विभिन्न कुराहरू गर्नुपर्ने भयो । उहाँहरूले बालश्रमिक साथीहरूलाई सोध्नुपर्ने ७०–८० वटा प्रश्नावली बन्यो । तालिमले उहाँहरूको अवस्था पहिल्याउन सजिलो भयो । त्यसपछि उहाँहरूसँग अन्तर्वार्ता लिनुभयो ।
रातो, पहेँलो र हरियो वर्ग
महानगरपालिका बाल अधिकार समितिका अर्का सदस्य प्रविण सिलवालले दिनुभएको जानकारीअनुसार बाल श्रमिकको अवस्थालाई तीन वर्गमा विभाजन गर्ने निधो भयो । रातो वर्ग, पहेँलो वर्ग र हरियो वर्ग भनेर बाँडियो ।
रातो वर्गमा बाह्र वर्षभन्दा कम उमेरको पर्नुभयो । दैनिक ५ घण्टाभन्दा बढी काम गर्नुपथ्र्यो । यौन हिंसा तथा दुव्र्यवहारको सामना गरिरहनुभएको थियो । दीर्घकालीन रोग लागेको थियो । आमा–बाबु बेपत्ता वा थाहा नभएकाले विशेष संरक्षणको आवश्यकता थियो ।
पहेँलो वर्गमा आमा–बाबुमध्ये एक जनामात्र जीवित रहेका बालबालिका पर्नुभयो । दैनिक २ देखि ५ घण्टा काम गर्नुपथ्र्यो । काम गर्न बसेको घरमा घरबेटीले कुटपिट गर्ने, गालीगलौज गर्ने, परिवारले भन्दा छुट्टै खाना दिने, पेटभरि खान नदिने गर्दथे । भुइँमा ओछ्यान लगाएर वा भ¥याङमुनि सुत्नुपथ्र्यो तर निद्रा पुग्ने गरी सुत्न पाइन्नथ्यो । लामो समयको अन्तरालमा मात्र परिवारसँग भेटघाट गर्न दिइन्थ्यो ।
यसैगरी हरियो वर्गमा घरमुलीले मायालु व्यवहार र बोलीवचन गर्ने, नियमित विद्यालय पढ्न पठाउने, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराउने बालबालिका पर्नुभयो । उहाँहरुलाई घरपरिवारसँग नियमित सम्पर्क गर्न दिने, खानामा पनि सँगै खुवाउने र सुत्ने कोठा र खाटको व्यवस्था गरिदिएको पाइयो ।
अनि उद्धा गरिए
बालश्रमिकका रूपमा रहेका बालबालिकाको अवस्थाबारे स्पष्ट रूपमा सबै कुरा जानकारी मिल्यो । अनि महानगरपालिकाले सबैभन्दा जोखिममा रहनुभएका बालबालिकाको उद्धार गर्ने नीति अघि बढायो ।
बाल अधिकार समितिका सदस्य भट्टराईका अनुसार २०८१ असोजसम्म विभिन्न यातायात, होटलमा काम गर्ने ५१ जना बालश्रमिकको उद्धार गरिएका छन् । ‘उहाँहरूमध्ये १० जनालाई संरक्षण गृहसँग समन्वय गरेर राखिएको छ,’ सदस्य भट्टराईले भन्नुभयो, ‘अहिले हामीलाई बालश्रमिकबारे जानकारी आएबित्तिकै तत्काल उद्धार गर्छौं ।’
यातायातमा परिचालक
यसैगरी धेरै जना काठमाडौं महानगरपालिकाभित्र गुड्ने सार्वजनिक यातायातमा सहचालक (खलासी) का रूपमा काम गर्दै आउनुभएको पाइएको छ । प्रतिवेदनमा छ, ‘महानगरपालिका क्षेत्रभित्र गुड्ने ४ सय ८९ वटा सवारी साधनमा बालश्रमिक प्रयोग भएको पाइएको छ र ती सबैजना बालक रहेको पाइएको छ ।’
त्यसमा सबैभन्दा बढी ९२ जना बालक चक्रपथ परिक्रमा गर्ने रुटमा चल्ने यातायातमा परिचालकका रूपमा कार्यरत रहेका छन् । सबैभन्दा बढी बसमा ३ सय ९८ जना बालक परिचालक छन् । परिचालकमध्ये ५ जना श्रमिक बालकको उद्धार र पारिवारिक पुनर्मिलन गराइएको छ ।
बाल हेल्पलाइन १०९८
बाल अधिकार हाम्रो प्रमुख सरोकारको विषय हो । बालबालिकालाई आपतविपत् परेको अवस्थामा आफूलाई परेको विपत्तिका बेला १०९८ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यसलाई बाल हेल्पलाइन भनिन्छ । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका खोजतलास सेवा १०४ व्यवस्था गरेको छ । नेपाल प्रहरी र महानगर प्रहरीले बालबालिकाको उद्धार गर्दछन् ।
बालश्रमिक उद्दार गरेपछि अस्थायी संरक्षण गृहमा पु¥याइन्छ । दोस्रो दिनदेखि पीडित बालबालिकासँग मनोसामाजिक विमर्श गरिन्छ । पारिवारिक लेखाजोखा, घटना विवरण, शोषण र दुव्र्यवहारको स्थिति केलाइन्छ । बालबालिकाको मनस्थिति खुलाएर मनोसामाजिक प्रतिवेदन तयार गरिन्छ ।
बालबालिकाको हित मुख्य केन्द्र हो । बालश्रम गराउनेलाई कानुनी कारबाही गर्नुपर्ने, क्षतिपूर्ति भराउनु पर्ने काम हुन्छ । पीडित बालबालिकाको जैविक आमा–बाबु, तीन पुस्ताभित्रका नातेदार, परिवारसँग पुनर्मिलन गराइन्छ । पारिवारिक पुनर्मिलन गराउँदा बालबालिका रहने, बस्ने घरपरिवारलाई संरक्षण संस्था र महानगरपालिकाको बालकोषमार्फत् पारिवारिक जीविकोपार्जन सहायतासमेत उपलब्ध गराइन्छ । बालबालिकाको सर्वोत्तम हित हुन नसकेमा स्थानीय पालिकाको सिफारिसमा बालगृहमा उचित आवास, पालनपोषण, शिक्षा, स्वास्थ्य उपचारजस्ता सेवाको प्रबन्ध गरिन्छ । बालबालिका १८ वर्ष उमेर पूरा भएर बालिग बन्दछ । सामाजिक पुनःस्थापना हुने गर्दछ ।
भाइबहिनीहरू तपाईंहरूलाई पनि बाल अधिकारबाट बन्चित हुनुभएको छ कि ? अथवा तपाईंको छिमेकमा कोही बालसाथीहरूलाई समस्या परेको छ कि ? सम्झिनुहोस् है हेल्पलाइन १०९८ र १०४ !
प्रतिक्रिया