'जरैसम्म पुगेर समाधान गरे मात्रै बालविवाह अन्त्य हुनसक्छ'
'बालविवाह अपराध भए पनि यसको अभियोगमा पक्राउ परेकामाथि बालविवाहकै अभियोगमा मात्रै मुद्दा चल्नुपर्छ'
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालविवाह हुनुको विभिन्न कारण रहेकाले त्यसको जरैसम्म पुगेर समाधान गरे मात्रै बालविवाह अन्त्य हुनसक्ने बताउनुभएकाे छ ।
बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष मगरले बालविवाह अपराध भए पनि यसको अभियोगमा पक्राउ परेकामाथि बालविवाहकै अभियोगमा मात्रै मुद्दा चल्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।
‘बालविवाहको अभियोगमा पक्राउ परेकालाई जबरजस्ती करणी, शरीर बन्धकजस्ता अभियोग लगाएर वर्षौंसम्म जेलमा राख्ने गरिएको छ, यसमा सर्वोच्च अदालतले समेत यसो नगर्न निर्देशनात्मक आदेश दिएको छ’, उहाँले भन्नुभयाे ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको तीन दिने उक्त भेला बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एसियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले आयोजना गरिएको हाे ।
बाल अधिकारका क्षेत्रमा मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एसियाली पहल (साइवाग) सहितका संस्थाहरू कार्यरत छन्।
कार्यक्रममा संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरूले १० बन्दीगृह र ३ बाल सुधारगृहको अनुगमन गर्दा बालविवाहकै आरोपमा धेरै थुनामा पर्ने गरेको पाइएको बताउनुभयाे ।
त्यसैगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपालले तराई क्षेत्रमा दाइजोका कारण बालविवाहको क्रम नरोकिएको बताउनुभयाे । छोरीलाई धेरै पढायो भने त्यहीअनुसारको केटा खोज्नुपर्ने र त्यही अनुसार दाइजो दिनुपर्ने भएकोले छिट्टै विवाह गरिदिने प्रचलन रहेको उहाँले बताउनुभयाे ।
प्रत्येक प्रदेशबाट तीन-तीन जनासमेत गरी २१ जना तथा विभिन्न अल्पसंख्यक समुदायबाट थप १० जनासमेत गरी ३१ जना बालबालिकालाई समेत सहभागी गराएर कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाले बालविवाह रोकथामका लागि गरेका प्रयास र त्यसक्रममा देखिएका चुनौतीबारे विस्तृत छलफल गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया