आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

कला परिषद् भवनमा तीनदिने बाल चित्रकला प्रदर्शनी (भिडियाे)

प्रदर्शनीमा विभिन्न स्कुलमा अध्ययनरत बालकलाकारहरूका चित्रकला राखिएका छन् ।

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को भवनमा बाल चित्रकला प्रदर्शनी सुरु भएको छ । विश्व बाल दिवसको अवसरमा तीन दिने कला प्रदर्शनी बिहीबार (मंसिर ६ गते) सुरु भएको हो । 

लामो समयदेखि कलाको प्रवर्द्धनमा संलग्न आर्टबिट संस्थाले ‘कलरफुल ड्रिम’ शीर्षकमा बालकलाकारहरूको चित्रकला समावेश गरी प्रदर्शनी गरेको हो । 

प्रदर्शनीको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गर्नुभएको हो । ‘प्रत्येक बालबालिका कलाकार हुन्,’ लामो समयदेखि बालबालिकाको हितमा काम गर्दै आउनुभएकी रानाले भन्नुभयो, ‘बालबालिकालाई खानेकुराले मात्रै हुन्न, मायाले संरक्षण गर्नुपर्छ । त्यसो गर्दा असल नागरिक बन्न सक्छन् ।’

उद्घाटन सत्रमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारद हार्तम्छालीले मन्तव्य राख्नुभएको थियो । 

प्रदर्शनीमा विभिन्न स्कुलमा अध्ययनरत बालकलाकारहरूका चित्रकला राखिएका छन् । कलाकारले नेपाली समाज, संस्कृति, प्राकृतिक पर्यावरण, विज्ञान, प्रविधिजस्ता विषय समेटेर चित्रकला सिर्जना गर्नुभएको छ ।  

कक्षा ४ का छात्र नमन बटाजुले बनाउनुभएको श्वेत भैरव र आकाश भैरवको चित्रकला प्रदर्शनीमा रहेको छ ।

यसैगरी कक्षा ७ की आशीर्या देसारले सिर्जना गर्नुभएको हाँसको चित्र राखिएको छ । ‘अब चाँडै चराहरूको मात्र चित्रलाई लिएर प्रदर्शन गर्ने तयारीमा छु,’ उहाँले भन्नुभयो । 

कक्षा ६ मा अध्ययनरत पलिष्ठा महर्जनले एक्रेलिक रंगको पेन्टिङ गर्न अति मनपर्ने बताउनु भयो । अरुणोदय आधारभूत विद्यालय कक्षा ५ की छात्रा पूजा नेपालीले दुई वर्षदेखि पेन्टिङ गर्दै आएको र आफ्नो मनमा लागेको विषयमा चित्रकला बनाउने गरेको बताउनुभयो । गीतामाता मावि कक्षा ५ की ईश्वरी लुङ्गेली मगरले बनाउनुभएको बाँसुरी, घर, चरा, वर्षाद् र फूलको चित्र प्रदर्शनमा राखिएको छ । 

आयोजक संस्था आर्टबिटका संयोजक जुजुकाजी महर्जन दशकभन्दा बढी समयदेखि चित्रकला र पोटरी कलामा संलग्न हुनुहुन्छ । ‘कोरोना भाइरसजस्ता महामारी फैलिएपछि बालबालिकालाई मोबाइल खेल्ने लत बस्यो,’ उहाँ भन्नुहुन्छ, ‘मोबाइलमा बढी आकर्षण हुँदा मानसिक समस्या देखापर्न थालेको थाहा भयो । त्यसपछि हामीले दुई वर्षदेखि पोटरी र पेन्टिङका माध्यमबाट बालबालिकालाई हिलिङ गर्ने अभियान थालेका छौं । देशभरिका स्कुल–स्कुलमा पुग्ने प्रयास जारी छ ।’

यसरी बालबालिकाको पढाइ सँगसँगै चित्रकलाप्रति रुचि जगाउँदा फरक ढंगले प्रतिभा पहिचान हुने उहाँले बताउनुभयो । ‘चित्र कोर्न लगाएर मात्र हुँदैन, त्यसलाई सबैले हेर्न र अनुभूत गर्न पाउनुपर्छ भनेर पहिलो पटक चित्रकला प्रदर्शनीको आयोजना गरेका हौं,’ आर्टबिटका अध्यक्ष तथा कलाकार प्रमिला राजकर्णिकारले भन्नुभयो ।