बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

उपनिर्वाचनमा बालबालिका प्रयोग नगर्न अपील

बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिँदै कानुनविपरीत हुने यस्ता क्रियाकलापहरू नगर्न आग्रह

मंसिर १६ गते हुने उपनिर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयाेग नगर्न बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले अपील गरेकाे छ । 

वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहका ४४ रिक्त पदमा २०८१ मंसिर १६ मा उपनिर्वाचन हुँदै छ । 

निर्वाचन तालिकाअनुरुप मंसिर ३ मा सम्पन्न मनोनयन दर्ताको क्रममा कतिपय स्थानमा बालबालिकालाई प्रयोग गरिएको सिजपले जनाएकाे छ । उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न, विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछाैं,' सिजपले भनेकाे छ ।

विगतका निर्वाचनमा समेत बालबालिकालाई जुलुसमा सहभागी गराइएको, दलगत प्रचारप्रसारका लागि ट्याक्टर लगायतका सवारी साधनमा जोखिमपूर्ण रूपमा यात्रा गराइएको, विद्यालयका सवारी साधनहरूको प्रयोग गरिएको, दलगत प्रचारप्रसारका लागि झण्डासमेत बोकाएर बालबालिका लगिएको जनाउँदै सिजपले याे निर्वाचनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाहरूको ध्यानाकर्षण गराएकाे छ ।

बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिँदै कानुनविपरीत हुने यस्ता क्रियाकलापहरू नगर्न सिजपले आग्रह गरेकाे छ ।

सम्पूर्ण राजनीतिक दलहरूमा निर्वाचन आचारसहिता २०७८ को पालना गर्न र बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि  क्रियाकलापहरू नगर्न, बालबालिकाको मनोभावना, उनीहरूको सुरक्षाका साथै विद्यालयको शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि सिजपले अपिल गरेकाे छ ।