सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

‘बढ्दो सहरीकरणले बासस्थान मासिए, धेरै चराहरू खतम भए’ (भिडियाे)

केही चरा झुन्डमा बाँच्न रुचाउँछन्, सामूहिक रुपमा सिकार गर्छन् र गुँड बनाउँछन् । केही एक्लै बस्न मन पराउँछन् र एकान्त स्थानमा आफ्नो बासस्थान बनाउँछन् ।

चरा जैविक विविधताको प्रमुख हिस्सा हो । यसले पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

चराहरू प्रजाति, आनीबानी र व्यवहारअनुसार फरक–फरक छन् । केही चरा झुन्डमा बाँच्न रुचाउँछन्, सामूहिक रुपमा सिकार गर्छन् र गुँड बनाउँछन् । केही एक्लै बस्न मन पराउँछन् र एकान्त स्थानमा आफ्नो बासस्थान बनाउँछन् ।

चराहरूले आफ्नो बासस्थान प्राकृतिक स्रोतहरूमा निर्भर गर्दै छनोट गर्छन् । झाडी, जंगल, नदीका किनार, पहाडी क्षेत्र र घाँसे मैदान उनीहरूको सामान्य बासस्थान हुन् । जलवायु, उपलब्धता र सुरक्षा बासस्थान चयनका मुख्य आधार हुन् । पछिल्ला दिनमा सहरी क्षेत्रमा चराहरूले मानवनिर्मित संरचनाहरूमा पनि गुँड बनाउन थालेका छन् ।

सहरीकरण तीव्र गतिमा बढिरहेको छ, जसका कारण चराको प्राकृतिक बासस्थान सीमित हुँदै गएका छन् । हरियाली क्षेत्र घट्दा र जंगल फडानी हुँदा चराहरू नयाँ स्थानतिर बसाइँ सर्न बाध्य छन् ।

सहरको कृत्रिम प्रकाश र ध्वनि प्रदूषणले उनीहरूको प्राकृतिक जीवनशैलीमा गम्भीर असर पारेको छ । सहरीकरणका कारण धेरै चरा प्रजाति लोप हुने खतरामा छन् । 

सहरीकरण र जलवायु परिवर्तन चराहरूको बसाइँसराइका मुख्य कारण हुन् । चराहरू प्रायः खानेकुरा, सुरक्षित बासस्थान र अनुकूल वातावरणको खोजीमा बसाइँसराइ गर्छन् । गर्मीयाममा उच्च तापक्रमबाट बच्न वा जाडोमा गर्मी खोज्न उनीहरू लामो दूरीसम्म उड्ने गर्छन् ।

चराहरूले गुँड बनाउन विभिन्न सामग्री प्रयोग गर्छन् । केहीले घाँस, पात, हाँगा, माटो र जनावरका रौँ प्रयोग गरेर, केहीले हिलो माटो टाँसेर र केहीले पात सिएर बस्ने ठाउँ बनाउँछन् । काग र परेवाले सहरी क्षेत्रका भवन र बिजुलीका खम्बाहरूमा पनि गुँड बनाएको देख्न सकिन्छ ।

चराहरूको बाँच्ने कला, वातावरणसँगको समायोजन, मानवीय गतिविधि र सहरीकरणले उनीहरूको जीवनशैलीमा पारेको प्रभाव, चराका आनीबानी, बासस्थान, गुँड बनाउने कला, बसाइँसराइ आदि विषयमा हामीले चराविद् डा. हेमसागर बरालसँग कुराकानी गरेका छौं ।

चराहरूलाई जोगाउन र उनीहरूको जीवनशैलीलाई सहज बनाउन हरियाली क्षेत्रको विस्तार गर्ने, घरको वरपर गुँड बनाउनका लागि सुरक्षित ठाउँ बनाउने, चरा बस्ने क्षेत्र सुरक्षित राख्न जंगल फडानी रोक्ने र जलस्रोत जोगाउने जस्ता काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । विस्तृत जानकारीका लागि हेर्नुहोस् भिडियो ।