आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

यसकारण लेखेँ मैले ‘फर्क आफ्नै देश’ कविता

कुनै पनि कविताको गर्भरचना सार्वजनिक गर्नु हुँदैन भन्ने भाष्य छ तर मैले शिक्षक र विद्यार्थीलाई सहयोग होला भन्ने आशाले कविताको आशय र गर्भरचना सार्वजनिक गर्दैछु ।

(यो लेखबाट आमपाठकले केही न केही नयाँ पक्कै सिक्नेछन् । विशेषगरी कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गर्ने शिक्षकहरुका लागि निकै उपयोगी हुने विश्वास लिएको छु ।)

कक्षा ८ को नेपाली पाठ्यक्रममा ‘फर्क आफ्नै देश’ शीर्षककाे कविता रहेको सर्वविदितै छ । सोही कविताको लेखकको नाताले म शिक्षक र विद्यार्थीहरुसँग केही अनुभव साट्दै छु ।

मैले नेपाली साहित्यमा कलम चलाउन थालेको करिब दुई दशक भयो । यो अवधिमा थुप्रै कविता लेखेँ । पढेँ । र, कतिपय कविता आफैंलाई चित्त नबुझ्दा च्यातेर पनि फालेँ । नेपाली साहित्यमा जीवनलाई समर्पित गर्ने उद्देश्यले नै म यहाँसम्म आइपुगेको छु । आगामी दिनमा पनि मेरो लेखन तपाईंहरु समक्ष आउने नै छ । 

त्यसो त, कुनै पनि कविताको गर्भरचना सार्वजनिक गर्नु हुँदैन भन्ने भाष्य छ तर मैले शिक्षक र विद्यार्थीलाई सहयोग होला भन्ने आशाले कविताको आशय र गर्भरचना सार्वजनिक गर्दैछु । 

०००
सामान्यतया एउटा मानिसलाई के चाहिन्छ ? 

राम्रो शिक्षा । राम्रो स्वास्थ्य । साँझ बिहानको दुई छाक टार्ने रोजगारी ।  हाम्रो देशमा यी आधारभूत आयामहरु प्राप्त गर्न धेरै संघर्ष गर्नुपर्छ । स्वदेशमा राम्रो रोजगारीको वातावरण नहुँदा दिनहुँ हजारौं युवा विदेश पलायन भइरहेका छन् । दैनिक २५ सय युवा विदेशिँदा हाम्रा गाउँहरु रित्तो बन्दै गएका छन् ।

यहाँ सोचनीय प्रश्न छ, अध्ययन तथा रोजगारीका लागि विदेश पुगेका नेपालीमा स्वदेश फर्कने चाहना छ कि छैन ? 

समयकालसँगै देश बलियो होला, देशमा विकास होला भनेर सोचेको थिएँ  तर न विकास भयो, न नेपाली जनता नै बद्लिए । सोचेँ, अब नेता बदल्नकै लागि भए पनि जनता बद्लिनुपर्छ । 

जबसम्म जनता सही बाटोमा हिँड्न सक्दैनन् र जबसम्म एक भोटर नै शक्तिशाली हुन्छ भन्ने कुरा आमजनताले महसुस गर्न सक्दैनन्, तबसम्म नेता पनि सही बाटोमा हिँड्न सक्दैनन् भन्ने महसुस भएपछि मैले यो कविता लेखेको हुँ । 

मैले यो कविता लेख्नुको मुख्य कारण भनेकै देश दिनानुदिन कमजोर हुँदै जानु हो । त्यो चाहे आर्थिक पक्षमा होस्, चाहे जनशक्तिमा । अस्थिर राजनीतिले सत्ता परिवर्तन भइरहने पुरानै प्रवृत्ति हो तर हामीले नेताहरुलाई गाली गर्नुको साट्टो अब आफै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । 

हामीले देश छाड्दैमा सुख पाउँछौ त ? पक्कै पाउँदैनौँ । बरु अब युवा एकजुट हुन आवश्यक छ । विदेशी भूमिमा पसिना बगाइरहेका नागरिकले अब स्वदेशी भूमिमा पसिना बगाउने साहस गर्नुपर्छ । 

यो कविता किन र केका लागि लेखियो ? याे प्रश्न शिक्षक र विद्यार्थीमा सधैँ आउन सक्छ । यसको जवाफ सटिक हो, अस्थिर तथा बिग्रँदो राजनीति र बेराजगारी । यस कवितालाई यति मात्रै व्याख्या गरेर पूर्ण भने हुन सक्दैन । 

कवितामा भनिएजस्तै युवाको रगत र पसिनाबाटै देश उर्वर हुन्छ । अब युवा यो देशमा फर्केर आउनुपर्छ र यही देशमा पसिना बगाउनुपर्छ । आज युवा गाउँ छोडेर विदेश जाने चक्करले गर्दा गाउँ, गाउँजस्तो देखिँदैन । घरहरू रित्ता भएका छन्। खेतबारी बाँझो भएका छन् । यो देशलाई बनाउने कि अझै भत्काउने ? अब हाम्रो हातमा छ । अब राजनीतिक नेतृत्वलाई दोष लगाएर मात्रै हुँदैन । हामीले नेता मात्रै बदल्न खोज्यौँ तर हामी आफूचाहिँ बद्लिन सकेनौँ । त्यसकारण पनि अब युवा आफ्नै देशमा फर्केर आउन आवश्यक छ । 

परिश्रमिका हत्केलामा ठेला उठे पनि अब आफ्नै देशका लागि लड्नुपर्छ । जाग्नुपर्छ । यो जीवन र जगत एक सिक्काको दुई पाटा हुन् भनेर जबसम्म विचारको विकास गर्न सकिँदैन, तबसम्म देशको विकासको गति झन् ओरालोतिर मोडिन्छ । 

यो देश विकासमा अबको समय हामी युवाको हातमा छ । युवाले देश छोडेर यसरी नै विदेश गइरहने हो भने, देश इतिहासको पानाहरूमा मात्रै सीमित भइदिन पनि सक्छ । यसकारण युवाले आफ्नै देशमा आएर देश विकासका लागि पसिना बगाउन तयार हुनुपर्छ । 

अतः कविताको प्रत्येक पंक्तिअनुसार सूक्ष्म व्याख्या गर्न सकिन्छ । यस कविताको मुल भाव भनैकै युवालाई स्वदेशमै कर्म गर्न र विदेशमा भएका नेपालीलाई स्वदेश फर्किन अभिप्रेरित गर्नु हो । 

कक्षा ८ को नेपाली पाठ्यक्रममा समावेश गरिएकाे ‘फर्क आफ्नै देश’ शीर्षककाे कविता यस प्रकार छ–


‘फर्क आफ्नै देश’ 

हिमालजस्तो स्वाभिमान भएको
बुद्धकोजस्तो विचार भएको
म एक वीर गोर्खाली हुँ ।

अदम्य साहस बोकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्तो फराकिलो छातीमा
आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा ।

छोडेर पर्देशमै हरियो पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग ।

गाउँमा चर्किएका घरका भित्ताहरू
माटोले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो यो निश्चल आँखामा हिमाल हाँस्छ
डाँफे चरिका रङ्गिन प्वाँखजस्तै
रङ्ग्याउन बाँकी छ मेरो देशको सपना
र देशको खम्बा भएर बाँच्नु छ मलाई ।

लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेको गुँरासजस्तो
सगरमाथा चढ्ने आरोहीका पैतालाजस्तो
हामीले यो युगको गीत लेखौँ ।

अब खनौँ आफ्नै बाटो-कोदाली भएर
अब जोडौँ हजार सपनाहरू - पुल भएर
फर्क युवा हो फर्क
यो देशको ईतिहास हामी आफैँले  लेख्नु पर्छ ।

युग बदल्ने जोसिला पाईलाहरू
उर्जाशिल मुठ्ठीहरू
गोलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा युगान्तकारी नक्सा कोरौँ
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हो देश फर्क
हामी हाम्रो पिढीको लागि देश भएर बाँचौँ ।

विक्रम पवन परियार

(कवि परियार सुरक्षा निकायमा समेत आवद्ध छन् ।)