पाँच वर्षे गढीमाई मेला सुरु (भिडियाे)
दक्षिण एसियाकै ठूलो मेलाका रूपमा लिइने गढीमाई मेलामा लाखौं भक्तजनहरूको सहभागिता रहन्छ
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला शनिबारबाट सुरु भएकाे छ । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा यो मेला लाग्ने गर्दछ ।
यसलाई दक्षिण एसियाकै ठूलो मेलाका रूपमा लिइन्छ । लाखौं भक्तजनहरूको सहभागिता रहने मेला मंसिर ३० सम्म सञ्चालन हुनेछ ।
मेला सम्पन्न गर्न महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समिति गठन गरिएको छ ।
मेला समितिले यो वर्ष एक हजार बिघामा मेला लगाउने तयारी गरेको छ । पञ्चवर्षीय मेलामा लाखौं भक्तजनहरू आउँदछन् । त्यसमा सबैभन्दा बढी झण्डै ७० प्रतिशत दर्शनार्थी भारतबाट आउने गरेको व्यवस्थापन समितिले जनाएको छ ।
गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका महासचिव नरेशप्रसाद जयसवालले मेला व्यवस्थापनलाई विशेष जोड दिइएको जानकारी दिनुभएको छ ।
‘बोर्डर पारिबाट आउने भक्तजनलाई सहज तुल्याउन पहल भइरहेको छ,’ महासचिव जयसवालले भन्नुभयो, ‘सुरक्षा निकायसँग समन्वय गरिएको छ । कहीं कतै लापरबाही नहोस् भनेर सीसी क्यामराको बन्दोबस्त मिलाइएको छ ।’
गढीमाईको दर्शन गर्न एउटा सर्वसाधारण लाइन र अर्को भिआईपी लाइन रहने छ । भिआईपीले दर्शन तथा विशेष पूजाका लागि पाँच सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । दर्शनार्थी भक्तजनलाई बस्नका लागि ठूलो टेण्ट, खाना खाने ठाउँ, खानेपानी, शौचालय सबै निःशुल्क व्यवस्था गरिएको छ ।
झाँक्रीले विधिपूर्वक विशेष तान्त्रिक पूजा गरेपछि गढीमाईमा पञ्चवली दिने परम्परा छ । गढीमाईका मूल पुजारी शिव चौधरीका अनुसार मंसिर २३ र २४ गते दुई दिन बलिपूजा हुनेछ ।
तस्बिर : नितेश माथेमा
‘परम्पराअनुसार गाउँवासी मिलेर पञ्चबलिसहितको मुख्य पूजाको तयारी भएको छ,’ मूलपूजारी चौधरीले भन्नुभयो, ‘पहिलो दिन राँगाको र दोस्रो दिन बोकाको बलि चढाइन्छ ।’ पञ्चबलिअन्तर्गत मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पंक्षीको बली चढाउने प्रचलन छ ।
पशु अधिकारकर्मीले बलि पूजाको विरोध गर्ने गरेका छन् । मूलपूजारी चौधरीले शदीऔंदेखि पञ्चबलि चढाइँदै आएकाले त्यसलाई पूजारी तथा व्यवस्थापन समितिले नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।
‘हामी पूजारीले बलि चढाउन भनेर कसैलाई भन्दैनौं,’ खीर, पुरी, मिष्ठान आदि पनि चढाउने गरिएको उल्लेख गर्दै चौधरीले भन्नुभयो, ‘अरु मन्दिरहरु दक्षिणकाली र मनकामनामा प्रतिदिन बलि हुन्छ । त्यसको चर्चा हुँदैन तर यहाँ पाँच वर्षमा दुई दिनमात्र बलि दिने चलन भएकाले धेरै बलि चढाएको देखिन्छ । भक्तजनको इच्छा हो ।’
गढीमाईलाई मनोकामना पूरा गर्ने देवताका रूपमा लिइन्छ ।
प्रतिक्रिया