सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

रिसाएकी सानी छोरीको कविता

बाबा, मेरो टिचरलाई हप्काएर चिट्ठी लेखिदिनुस्– उहाँ सधैँ राष्ट्रपति, प्रधानमन्त्री, राजा– बम, रकेट, मिसाइल– केके ठुल्ठूला डरलाग्दा नामहरू भनिरहनुहुन्छ । नत्र म कुन दिन भाग्छु ।

ड्याडी, मलाई त आजकल
ठूलो मान्छे भन्यो कि
डर लागिहाल्छ ।

हाम्रो गाउँको त्यो ठूलो
सिमलको रुख छ नि,
त्यसको छायाँमा म आजसम्म
बसेको छैन,
ठूलो चिज भन्यो कि
मलाई डर लागिहाल्छ ।

ठूलो चौरमा अरुहरू गए
म आगनमै भँगेराहरुसँगै हुर्किएँ ।
ठूलो नदी अरुहरूले तरे
म कुवाको भुरा माछा हेरेरै रमाएँ ।
तेन्जिङले बाबा, तेत्रो हिमाल के गरी
चढ्यो होला ?
तेत्रो त कल्पनाले पनि
मलाई डर लाग्छ ।

ठूलो घर जुन तपाइँले कहिल्यै
बनाउनु भएन
तर सोच्नुहुन्छ,
ठूलो पुस्तक जुन तपाइँले अस्ति
पनि किन्नु भयो,
र, लामो कविता जुन तपाइँले
हिजोमात्र लेख्नुभयो–
मलाई कस्तो डर लाग्छ ।

ठूलो आँधी गएको,
भुइँचालो वा ठूलो पहिरो गएको
भोलिपल्ट
म लाईब्रेरी नै छिर्दिन, बाबा
समाचार नै पढ्दिन ।
ठूलो देशसित पनि मलाई
एकदम डर लाग्छ
ग्लाब घुमाएर जहिल्यै म मेरो सानु
देश मात्रै हेर्छु ।

कक्षामा पनि मजस्तै एउटी सानी
साथी छे
म ऊसितै बस्छु ।
बाबा, मेरो टिचरलाई हप्काएर
चिट्ठी लेखिदिनुस्–
उहाँ सधैँ राष्ट्रपति, प्रधानमन्त्री,
राजा–
बम, रकेट, मिसाइल–
केके ठुल्ठूला डरलाग्दा नामहरू
भनिरहनुहुन्छ ।
नत्र म कुन दिन भाग्छु ।

अरुलाई पनि ठुल्ठूला स्वरले
मलाई नकराउन भनिदिनुस्
सहरलाई पनि ठुल्ठूला नारा
नलगाउन भनिदिनुस्
मलाई डर लाग्छ ।

ड्याडी, तपाइँसित पनि मलाई डर लाग्छ
तपाइँ अग्लो हुनुहुन्छ ।
तपाइँको आवाज पनि बडेमानको छ ।

तर धेरै नै ठूलो चिजदेखि बाबा
मलाई डर नै लाग्दैन
जस्तो सूर्य ठूलो भएनि सानो हुन सक्छ
चन्द्रमा ठूलो भएनि सानो देखिन
सक्छ
बुद्ध, गान्धी, देवकोटा
हिमाल, समुन्द्र, आकास–
यिनीहरूसित मलाई डर लाग्दैन
किनकि, यिनीहरू धेरै नै ठूला हुन्छन्
धेरै ठूला मानिसले साना मानिसलाई
मायामात्रै गर्छन्

ड्याडी, तपाइँ कि मजस्तै सानु हुनुस्
कि धेरै नै ठूलो
जस्तो ‘माम्मी’ हुनुहुन्छ ।

सधैँ साना हामीलाई हप्काएर
सधैँ साना हामीलाई लखेटेर बस्ने भए
म अबदेखि तपाइँसित बोल्दिन–
अनि तपाइँ रुनुहुन्छ । 

मनु मञ्जिल

(इटहरी घर भएका मनु मञ्जिल समकालीन नेपाली साहित्यका चर्चित कवि हुन् । उनको ‘आँधिको आवेग’ र ‘ल्याम्पपोष्टबाट खसेको जून’ पुस्तक प्रकाशित छन् । )