सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

किन बन्द हुन्छ बच्चाको नाक ? किन दुख्छ कान ? (भिडियाे)

‘नाक, कान र घाँटीका समस्याहरू जटिल नबनुन् भन्नका लागि बच्चालाई धुलो र धुवाँबाट टाढा राख्नु र चिसो वातावरणबाट जोगाउनु आवश्यक हुन्छ’

बच्चाहरूको नाक, कान र घाँटीमा धेरैजसो सर्दी, खोकी, एलर्जी वा संक्रमणबाट समस्या उत्पन्न हुने गर्छ । सर्दी र खोकीको कारणले नाक बन्द हुने, सास फेर्न गाह्रो हुने वा नाकबाट पानी बग्ने समस्या सामान्य हुन्छ ।

बच्चाहरूले खेल्दा–दौडँदा नाकभित्र स–साना वस्तु अड्काउन सक्छन् । यसले समस्या थप गम्भीर बनाउँछ । यी समस्यालाई रोक्न बच्चालाई नुनपानीले नाक सफा गरिदिनु, तातो बाफ दिनु र डाक्टरको सल्लाहमा औषधि प्रयोग गर्नु उपयुक्त हुन्छ ।

त्यसैगरी कानमा हुने समस्याहरूमा कानको संक्रमण (ओटाइटिस मिडिया) प्रमुख हो, जुन सर्दी–खोकीले कानमा असर गर्दा हुने गर्छ । यसले कान दुख्ने, सुन्निने वा पानी बग्ने लक्षण देखिन्छ । यस्तै, धेरै कानेगुजी जम्दा बच्चालाई असजिलो महसुस हुन सक्छ । कानको सफाइ आफैं नगरी विशेषज्ञसँग परामर्श गर्नु महत्वपूर्ण छ ।

घाँटीमा समस्या हुँदा बच्चालाई निल्न गाह्रो हुने, ज्वरो आउने र स्वर बसेर बोल्न कठिन हुने अवस्था देखिन्छ । टन्सिलाइटिस वा ल्यारिन्जाइटिसका कारण यी लक्षण देखिन सक्छन् । नुनपानीले कुल्ला गराउनु, झोल पदार्थ खुवाउनु र आवश्यक परेमा डाक्टरको सल्लाहमा एन्टिबायोटिक दिनु उचित हुन्छ ।

नाक, कान र घाँटीका समस्याहरू जटिल नबनुन् भन्नका लागि बच्चाको सरसफाइमा ध्यान दिनु, धुलो र धुँवाबाट टाढा राख्नु, चिसो वातावरणबाट जोगाउनु र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु अत्यन्त आवश्यक छ । सही खानपान र राम्रो जीवनशैलीले यस्ता समस्याबाट बच्चालाई बचाउन मद्दत पु¥याउँछ ।

नाक, कान र घाँटीका समस्याहरु एकापसमा सम्बन्धित हुन्छन् । यी र यस्तै खालका समस्याहरुको निराकरण कसरी गर्ने ? चिसो मौसममा बढी देखिने यस्ता समस्याबाट कसरी बालबालिकालाई सुरक्षित राख्ने ? आदि विषयमा नाक, कान, घाँटी विशेषज्ञ प्रा.डा. मिरा बिष्टसँग हामीले भिडियो संवाद गरेका छौं । उहाँ सिनामंगलस्थित केएमसीलगायत अस्पतालहरुमा कार्यरत हुनुहुन्छ ।