हात्ती हाम्राे साथी (भिडियाे)
जनावरहरूमध्ये हात्ती सबैभन्दा चलाख र चतुर हुन्छ । हात्तीलाई मान्छेपछिको बुद्धिमानी प्राणी भनिन्छ ।
हामीमध्ये धेरैले हात्ती देखेका छाैं । नदेखेकाले पनि सुनेका छाैं । हात्ती लाेपोन्मुख जनावरमा पर्दछ ।
हाम्राे देशमा पनि धेरै हात्ती छन् । जङ्गली हात्तीले तराईका जिल्लामा बर्सेनि धनजनकाे ठूलाे क्षति गरेकाे समाचार हामी सुन्दछाैं । तीमध्ये कतिलाई त पालेर पनि राख्ने गरिएकाे छ । पहाडी तथा हिमाली क्षेत्रमा चाहिँ हात्ती पाइँदैन ।
विज्ञका अनुसार पालेर राखिएका हात्ती जतिसुकै बदमास भए पनि आफ्नो स्याहारसुसार गर्ने मान्छेलाई चिन्छ । भनेको सुन्छ । बुझ्छ । मान्छ । कहीं केही परेको खण्डमा मालिकलाई बचाउन आउँछ ।
हात्ती पाल्न ज्यादै गाह्रो हुने भएकाले सबैले आफ्नो साथी बनाउन सक्दैनौं । अजंगको शरीर हुन्छ, धेरै किसिमको खानपिन गराउनुपर्छ । पाल्न ठूलो ठाउँ चाहिन्छ । डुल्न, घुम्न जंगल हुनुपर्छ । पानी पिलाउन नजिकै नदी, खोलानाला हुनुपर्छ ।
जनावरहरूमध्ये हात्ती सबैभन्दा चलाख र चतुर हुन्छ । हात्तीलाई मान्छेपछिको बुद्धिमानी प्राणी भनिन्छ । हात्तीकाे नाम पनि मान्छेसँग मिल्दाेजुल्दाे गरी राखिएकाे हुन्छ । जस्तै : रोनाल्डो, धुर्वे, गोविन्दे, बफुना । यी नामहरु हामीले धेरै सुनेका छाैं । यी मत्ता अर्थात् भाले हात्ती हुन् ।
पाेथी हात्तीकाे नाम पनि उस्तै गरी राखिएकाे हुन्छ । जस्तै : कर्णालीकली, हिमानीकली, ऐश्वर्यमाला, चितवनकली, तीर्थमानकली, गणेशकली, तमरकली, लोकतन्त्रकली, प्रेरणाकली, खगेन्द्रप्रसाद, रिमझिमकली आदि ।
राजतन्त्रकालमा दरबारबाटै हात्तीको नाम तोकिएर आउँथ्यो । दरबारभित्रैका मान्छेको नाम हुन्थ्यो । जस्तै : वीरेन्द्रप्रसाद, धीरेन्द्रप्रसाद, ज्ञानेन्द्रप्रसाद, ऐश्वर्यमाला, कोमलकली ।
अहिले हात्ती जन्मनेबित्तिकै निकुञ्ज कार्यालयमा खबर गरिन्छ । परम्पराअनुसार हात्तीको छावा जन्मिएको १२औं दिनमा नामकरण गरिन्छ । निकुञ्जको प्रमुखले जे नाम राख्छ, त्यसैअनुसार न्वारान हुने गरेको छ । पछिल्लाे समय वन सचिव, निर्देशकलगायत प्रमुखहरूको नाम जोडेर नामकरण गर्ने गरिएकाे छ ।
नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत खोरसोरमा हात्ती प्रजनन तथा तालिम केन्द्र व्यवस्था गरेको छ ।
हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरन चौधरीका अनुसार अहिले यहाँ २१ वटा हात्ती छन् । तीमध्ये १० वटा बच्चा र ११ वटा माउ छन् । हात्तीको भालेलाई मत्ता र पोथीलाई ढोई भनिन्छ । बच्चालाई छावा भनिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सरकार र निजी क्षेत्रले हात्ती पाल्दै आएका छन् । सरकारमातहत ५५ वटा हात्ती छन् । निजी क्षेत्रले ४० वटाभन्दा बढी हात्ती पालेका छन् । दुवैतर्फका गरी एक सयवटा हात्ती चितवनमा रहेको अधिकृत चौधरीको अनुमान छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत खोरसोरस्थित प्रजनन तथा तालिम केन्द्रमा पालिएका हात्ती । तस्बिर : नितेश माथेमा
पालिएका हात्तीलाई विभिन्न खाना खुवाइन्छ । सरकारले तोकेअनुसार एउटा हात्तीलाई एक दिनका लागि १५ किलो धान, डेढ किलो सख्खर र २५ ग्राम नुन खुवाइन्छ । एउटा हात्ती स्याहार्नका लागि तीनजना व्यक्ति खटाइन्छन् । त्यसरी स्याहार गर्नेलाई माहुते, पछुवा र फनेत भनिन्छ ।
हात्तीको उमेर र तौलअनुसार दिनमा डेढदेखि अढाइ क्विन्टलसम्म घाँस खुवाइन्छ । त्यसैगरी धान, सख्खर र नुन मिसाएर खरमा सानो–सानो पोको पारिन्छ । त्यो पोकोलाई कुचो भनिन्छ । प्रतिदिन करिब सयवटा कुचो पोको बनाएर खुवाइन्छ । हात्तीको खान्कीका निम्ति महिनामा २० हजार रुपैयाँभन्दा बढी लाग्ने गर्छ । एउटा हात्तीका निम्ति खानपान, स्याहार, सम्भार गर्ने जनशक्तिको तलबसहित गरेर महिनामा १ लाख २५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।
हात्ती जन्मिनेबित्तिकै ८० किलोदेखि १३० किलोग्राम तौलको हुन्छ । बढ्दै जाँदा हात्तीको तौल ४५ क्विन्टल (४ हजार ५ सय किलोग्राम) सम्म हुने गर्छ ।
पोथी हात्ती सुधो हुन्छ । भाले हात्ती ज्यादै मात्तिएको र बदमास स्वभावको हुन्छ । त्यसैले भाले हात्ती पालिँदैन । प्रजनन अर्थात् बच्चा पाउनका निम्ति पालेर राखिएका पोथी हात्तीलाई वनमा छाडा रहेका भाले हात्तीको सम्पर्कमा लैजानुपर्ने हुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपास चारवटा जङ्गली भाले हात्ती छन्– रोनाल्डो, धुर्वे, गोविन्दे र बफुना । पालिएका ढोईलाई तिनै भाले हात्तीसँग सम्पर्क गराएर गर्भवती तुल्याइन्छ ।
गर्भवती ढोईले २२ देखि २४ महिनाभित्रमा बच्चा जन्माउँछ । प्रजनन केन्द्रमा वर्षेनी चार–पाँचवटा छावा जन्मिने गरेका छन् । छावालाई तालिम दिएर देशका विभिन्न निकुञ्जहरूमा पठाइन्छ र काम लगाइन्छ ।
सुत्केरी भएको दुई महिनापछि ढोइ पुनः गर्भवती हुन योग्य हुने अधिकृत चौधरी बताउनुहुन्छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत खोरसोरस्थित प्रजनन तथा तालिम केन्द्रमा पालिएका हात्ती । तस्बिर : नितेश माथेमा
प्रतिक्रिया