सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

छात्रालाई आत्मरक्षा तालिम दिँदै वीरगञ्ज महानगर

एकसाथ १० हजारभन्दा बढी छात्रालाई आत्मरक्षाको तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने योजना

वीरगञ्ज महानगरपालिकाले नगरभित्रका १० हजारभन्दा बढी छात्रालाई आत्मरक्षाकाे तालिम दिने भएकाे छ ।

बुधवार बिहान १० बजे वीरगञ्जको आदर्शनगर रङ्गशालामा सुरु हुने तालिममा नगरभित्रका सामुदायिक र निजी विद्यालय तथा कलेजका कक्षा ६ देखि १२ सम्मका छात्रा सहभागी हुनेछन् । आत्मरक्षामार्फत किशोरीहरूलाई सशक्त बनाउन तालिम दिन लागिएकाे हाे ।

तालिमकाे तयारीबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा महानगर प्रमुख राजेशमान सिंहका अनुसार एकसाथ १० हजारभन्दा बढी छात्रालाई आत्मरक्षाको तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने योजना छ । यो पहलले वीरगञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई सम्पूर्ण नेपाललाई गौरवान्वित गर्ने उहाँले बताउनुभयाे । 'यो तालिमले छात्रालाई आत्मरक्षामा सक्षम बनाउनुका साथै समाजमा महिला सशक्तीकरणको महत्त्वलाई प्रवर्धन गर्नेछ,' उहाँले भन्नुभयाे ।

तालिमका लागि भारतबाट मार्सल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीलाई विशेष रूपमा बोलाइएको छ । नेपाल भारत सहयोग मञ्चको समन्वयमा आयोजना गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि डा. शेट्टीजस्तो धेरै भारतीय कलाकारलाई तालिम दिइसक्नुभएका अनुभवी प्रशिक्षकलाई निमन्त्रणा गरिएको महानगरले जनाएकाे छ ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । सहभागी छात्राहरूलाई विद्यालयबाट प्रशिक्षण स्थलसम्म सुरक्षित रूपमा ल्याउन र फर्काउन सम्पूर्ण व्यवस्था भइसकेको छ ।