सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

वीर (बालकथा)

उनीहरू सैनिकलाई झुक्याउन ठाउँ-ठाउँमा लुके । बाँसुरी बजाउँदै र कराउँदै सङ्केत दिए । गाउँभरका मानिसहरू उठेर चहलपहल गर्न थाले । सैनिकहरू डराउन थाले । यसरी बहादुर र उसका साथीहरू मिलेर गाउँको रक्षा गरे ।

गाउँमा साँझ ढल्किरहेको थियो। गाउँका सबै बच्चाहरू हजुरबुबाको घरमा जम्मा भएका थिए । हजुरबुबाले कथाको थैली खोल्नासाथ सारा केटाकेटीका आँखा उत्साहले चम्किए।

हजुरबुबाले बिस्तारै भन्न थाल्नुभयो, 'यस पटक म हाम्रै नर्घो गाउँको कथा सुनाउँछु ! हाम्रो गाउँमा बहादुर नाम गरेको १२ वर्षको साहसी केटो थियो ।  उसको मनमा भने ठूलो हिम्मत र देशप्रति गहिरो माया थियो ।'

हजुरबुबाले थप्नुभयो, 'त्यस बेला हाम्रो देशका सीमावर्ती स्तम्भ विदेशी सैनिकहरूले उखल्थे  र रातारात सारेर हाम्रो भूमि मिच्थे । उनीहरूले गाउँका सबैलाई डराउँथे । हाम्रो अन्न, पशु र पानी जबर्जस्ती लान्थे । गाउँका सबैजना ती सैनिकहरूलाई देख्दा डराउँथे । बहादुर भने कहिल्यै डराउँदैनथ्यो । 

ऊ आफ्ना साथीहरूलाई सधैं भन्थ्यो, 'देशको माया गर्नेले डराउनु पर्दैन। हामी सबैले मिलेर हाम्रो गाउँ जोगाउनुपर्छ।'

एक दिन ती सैनिकहरूले फेरि सीमास्तम्भ गायव पार्ने योजना बनाए । कसैले विरोध गरे गाउँमा नै हमला गर्ने योजना बनाएका थिए। बहादुरले यो कुरा थाहा पाएर साथीहरूलाई बोलायो ।

बडो हिम्मतका साथ उसले भन्यो, 'हामी एक भएर बुद्धि पुर्‍याउन सके गाउँ जोगाउन सक्छौं ।' सबै साथीहरूले बहादुरको कुरा माने । उसले सबैलाई योजना सिकायो ।

उनीहरू सैनिकलाई झुक्याउन ठाउँ-ठाउँमा लुके । बाँसुरी बजाउँदै र कराउँदै सङ्केत दिए । गाउँभरका मानिसहरू उठेर चहलपहल गर्न थाले । सैनिकहरू डराउन थाले । यसरी बहादुर र उसका साथीहरू मिलेर गाउँको रक्षा गरे ।

सैनिकहरूले अन्ततः बहादुरको बहादुरी थाहा पाए । उनीहरू रिसले आगो भए । उनीहरूले फेरि स्तम्भ उखल्न थाले । यो कुरा थाहा पाएपछि बहादुर एक्लै उनीहरू सामु उभियो र भन्यो, 'म त मर्न सक्छु तर मेरो गाउँलाई जोगाएर‌ै छाड्छु ।'

सैनिकहरूले चुपचाप फर्कन भन्दै चकलेट दिए । बहादुरले पैतालाले किचिमिची पारिदियो अनि सीमा स्तम्भलाई अङ्गालो हाल्न पुग्यो ।

हजुरबुबाले गहिरो सास लिएर बिस्तारै भन्नुभयो, 'बहादुरले आफ्नो ज्यान दिएर गाउँको रक्षा गर्यो। ऊ सहिद बन्यो । आजसम्म गाउँलेहरूले उसको सम्झनामा दीप बालिरहेका छन्, जसलाई ‘बहादुर दीप’ भन्छन् ।'

कथा सकिँदा बच्चाहरूको मन गम्भीर भयो । गर्व र दायित्व बोधले भरियो। उनीहरूले एकअर्कालाई हेरे र मनमनै प्रतिज्ञा गरे, 'हामी पनि बहादुरजस्तै बहादुरी  देखाउनेछौं । वैरीको गिद्धेदृष्टिबाट देशलाई जोगाउने छौँ ।'

त्यो साँझ सबै बच्चाहरूले बुझे- साँचो वीरतालाई उमेरले मापन गरिन्न । उसको साहस र देशप्रेमले मापन गरिन्छ।


(२०८१ कार्तिक २३ गते)

नन्दलाल आचार्य

बेलका- २, सिद्धार्थटोल, उदयपुर [email protected]