कोरियाली केटाकेटीलाई नेपाल चिनाउँदा
‘सगरमाथाको देश भन्दा धेरैले चिन्दैनन्, बुद्ध जन्मेको देश भन्दा इन्डिया बुझ्छन्’
कक्षा ३ मा नेपालको बारेमा पढाइरहँदा एक जना अलि हठी स्वभावका विद्यार्थीले हात उठाउँदै प्रश्न गरे, ‘नेपाल र इन्डिया एउटै होइन र ? किन राजधानी फरक ?’
एकछिन त म अलमलमा परें । तत्काल मैले नम्र भएर मुसुक्क मुस्कुराउँदै उनलाई उल्टै सोधें, ‘के कोरिया र जापान एउटै देश हो त ?’ मलाई जस्तै उनलाई पनि झट्का लाग्यो होला सायद, अलि रिसाउँदै भने, ‘होइन, फरक देश हुन् ।’
‘हो, नेपाल र इन्डिया पनि फरक देश हुन् । जसरी कोरियाको छिमेकी देश जापान हो, त्यसैगरी नेपालको छिमेकी देश इन्डिया हो, ‘मैले उसको जिज्ञासालाई मेटाउँदै भनें ।
इन्डियन सेलिब्रेटीले त बेला–बेला नेपाल इन्डियाको एक राज्य हो भनिदिन्छन् भने विचरा ९ वर्षे कोरियन बच्चालाई के थाहा नेपालको बारेमा ?
दक्षिण कोरियाको ख्यङसाङ नाम्दो क्षेत्रका विभिन्न विद्यालयमा बहुसाँस्कृतिक शिक्षकका रूपमा जाँदा शुरुमै विद्यार्थीलाई ‘म कुन देशबाट आएको हो, तिमीहरुलाई खुलदुली लागेको होला, म मेरो देशको दुईवटा विशेषता भन्छु पत्ता लगाऊ है ?’ भन्दै प्रश्न राख्छु ।
१. संसारको सर्वोच्च शिखर सगरमाथाको देश ।
२. गौतम बुद्ध जन्मेको देश ।
अधिकांशले २ नम्बर हेरेर ‘इन्डिया’ भन्छन् । सगरमाथा नेपालमा पर्छ भन्ने एकाधलाई मात्र थाहा छ तर सतप्रतिशतले गौतम बुद्ध इन्डियामा जन्मेको भन्छन् । गौतम बुद्धको जन्मस्थान हाल नेपालको लुम्बिनी भन्ने ठाउँमा हो, जुन इन्डियाबाट नजिक पर्छ भन्दै नेपालको नक्सा देखाउँदै सगरमाथा र गौतम बुद्धको देश नेपाल भनेर कोरियन विद्यार्थीलाई चिनाउन पाउँदा गर्व महसुस गर्छु ।
कोरियामा कक्षा ९ सम्म अनिवार्य शिक्षा हो । अहिले कोरियामा विदेशीहरुको संख्या बढ्न थालेपछि यहाँका विद्यालयमा बहुसाँस्कृतिक शिक्षा पनि अनिवार्य भएको छ ।
विभिन्न देशको कला, संस्कृति, रहनसहन, भेषभूषा, खानपान, जीवनशैलीलगायत विषयमा जानकारी गराउने तथा विविध कला संस्कृतिलाई सम्मान गर्ने र बहुसाँस्कृतिक शिक्षाको औचित्य र महत्वबारे जानकारी गराउन नेपालसहित चीन, भियतनाम, ताइवान, मंगोलिया, उज्वेकिस्तान, इन्डोनेसियालगायत देशका बहुसाँस्कृतिक शिक्षिकाहरु स्थानीय शिक्षा मन्त्रालय र बहुसाँस्कृतिक परिवार केन्द्रमार्फत् कार्यरत छन् । जसमा म पनि एक हुँ ।
लगातार दुई, तीनपटकको प्रशिक्षणपश्चात कोरियाको प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नेपाल चिनाउन पाउनु ठूलो मौका र सौभाग्य हो मेरो लागि ।
विद्यार्थीलाई एकोहोरो पढाउने मात्र नभई खेल खेलाउने वा केही बनाउनेजस्ता गतिविधि गराउनुपर्ने हुन्छ । जसमा जापान, चीन, भियतनाम, फिलिपिन्सजस्ता देशहरुका बनाउन मिल्ने र खेल्न मिल्ने सामग्रीहरु सजिलै पाउन सकिन्छ भने नेपालको न त खेलाउन सकिने रमाइला खेलको सामग्री छ न त बनाउन सकिने सजिलो र आकर्षक वस्तु नै पाइन्छ ।
धन्न, पेपरबाट नेपाली ढाकाटोपी बनाउने तरिका युट्युबमा भेटेर कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई टोपी बनाउने गतिविधि गराइरहेको छु भने कक्षा १ देखि ३ सम्मलाई नेपाली पहिरनमा रंग भर्न सिकाइरहेको छु ।
नेपाललाई प्रतिनिधित्व गर्ने केही रमाइलो, आकर्षक र समय धेरै नलाग्ने खेल वा बनाउन सकिने केही भए भन्नुस है ?
प्रतिक्रिया