आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

झिलिमिली तिहार

तिहारमा मृत्युका देवता यमराजसमेत आफ्ना काम थाती राखेर बहिनी यमुनाकहाँ टीका ग्रहण गर्न जान्छन् । बहिनीले दाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिन्छिन् ।

भाइबहिनीहरू ! तपाईंहरु सबै जनालाई तिहारको हार्दिक मंगलमय शुभकामना ! हामी झिलिमिली बत्ती र रंगीबिरंगी फूलको चाड तिहार मनाइरहेका छाैं । 

तिहारमा भैली र देउसी खेल्नुको मजा अर्कै छ । मादल, बाँसुरी, खैजडी बजाएर रम्बाइ गाउनुको मजा उस्तै छ । रमाइलो गर्नुहोस् तर जथाभावी पटकाचाहिँ नपड्काउनु होला । दुर्घटना हुनसक्छ । 

यी कुरा तपाईंहरू सबैलाई थाहा छ । तैपनि पुनः स्मरण गराएका मात्र हौं । 

तिहारको बारेमा तपाईंहरू सबैलाई धेरथोर थाहा छ । तिहारलाई हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड भनिन्छ । नेपालमा हामी १० वटा धर्म मान्ने जातजाति समुदाय छौं ।

तिहार शरद ऋतुमा पर्ने चाड हो । यो बेला प्राकृतिक रूपमा पनि सबैतिर रमाइलो छ । फूलैफूलको बहार छ । त्यसैले तिहारलाई कुनै धर्मविशेषभन्दा पनि नेपालीको चाडका रुपमा लिइन्छ ।

तिहार पाँच दिन मनाइन्छ । पहिलो दिनलाई काग तिहार भनिन्छ । त्यसपछि कुकुर तिहार र लक्ष्मी पूजा गरिन्छ । तेस्रो दिन गाई पूजा गरिन्छ । चौथो दिन गोरु पूजा गरिन्छ । अन्तिम र पाँचौं दिन भाइटीका लगाइन्छ । नेवार समुदायमा म्हपूजा (आत्मपूजा) गरेर मनाउने चलन छ । 

तिहारको पाँच दिनलाई यमपञ्चक भनिन्छ । कथाअनुसार तिहारमा मृत्युका देवता यमराजसमेत आफ्ना काम थाती राखेर बहिनी यमुनाकहाँ टीका ग्रहण गर्न जान्छन् । बहिनीले दाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिन्छिन् । त्यसैले भाइटीका ग्रहण गर्ने पर्वलाई यमपञ्चक भनिएको हो भन्ने छ । 

धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार तिहारमा काग, कुकुर, गाई, गोवर्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठामीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि रहेकाे छ । 

उहाँका अनुसार वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रूपमा कहलिएका थिए । त्यो कामले देवतामा समेत त्रास फैलिएको थियो ।

त्यसैले भगवान् विष्णुले वामन अवतार धारण गरेर बलि राजासित तीन पाउको स्थान मागेका थिए । त्यतिखेर एक पाउले अन्तरीक्ष र अर्को पाउले पृथ्वीमा टेके । तेस्रो पाउ राख्ने ठाउँ माग्दा बलि राजाले शिर थापिदिए । वामन रूपधारी भगवान् विष्णुले शिरमाथि पाउ राख्दा पातालमा भासिएको कथा सुन्न पाइन्छ । 

भगवान विष्णुले बलि राजाको दानशीलताबाट प्रभावित भएर उनलाई वर्षमा पाँच दिन पृथ्वीको शासन गर्ने अधिकार दिएका थिए । उक्त समयमा बलि राजाको पूजा गरेमा विष्णु प्रशन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको हो पनि भनिन्छ ।