मंगलबार ०४ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

खेल्छौँ हामी भैलो (बाल कविता)

आसिक दिन आएका छौँ हामी केटाकेटी, हामीसँगै नाच्न तल झर्नुस् घरबेटी !

बत्ती जस्तै उज्यालिई फाली मनको मैलो
हजुरको आँगनीमा खेल्छौँ हामी भैलो

आसिक दिन आएका छौँ हामी केटाकेटी
हामीसँगै नाच्न तल झर्नुस् घरबेटी

आमा पनि यतै आउनुस् उघारेर दैलो
घरबेटी र भैले भई खेल्छौँ हामी भैलो

माटो छुँदा अन्न होओस् फलाम छोए सुन
जिन्दगीमा कोही कसैलाई नपरोस् है रुन

खोल्दै गर्नुस् कन्तुरका रुपियाँको थैलो
नाच्दै गाउँदै अझै एक्छिन् खेल्छौँ हामी भैलो

पायौँ आज हजुरबाट तिहारको दान
हजुरको भलो होओस् बढोस् सधैँ मान

नरित्तियोस् कैल्यै पनि भकारी र घैलो
बिदा हुन्छौँ अर्को घरमा खेल्छौँ हामी भैलो ।


भोर्लेटार, लमजुङ  

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)