कुकुर तिहार नेपालको मात्रै चाड
सडक कुकुरको उद्धार कथाकृति ‘सहारा’

भाइबहिनीहरू तपाईंहरूलाई कुकुरका छाउरा छाउरी कति मनपर्छ ? बाटोमा हिँड्दै गर्दा छाउरा छाउरी देख्नासाथ कुतीकुती भन्दै समाउन मन लाग्छ होला । कत्ति माया लाग्दो भन्दै सुमसुम्याएर माया गरौं झैं लाग्छ होला ।
तपाईंहरुमध्ये कति जनाले त घरमै कुकुर पाल्नुभएको होला । कुकुरतिहारमा पक्कै पनि कुकुरलाई फूलमाला पहिराएर मिठो मिठो खानेकुरा खुवाउनुहुन्छ हाेला । तपाईंहरूको स्कुलमा पनि तिहारको बारेमा चर्चा भइरहेको होला ।
कुकुरलाई माया गर्नु राम्रो हो । यो संसारमा सबै प्राणीको बाँच्न पाउने समान अधिकार छ । मान्छे बढी चेतनशील भएकाले अरु प्राणीहरूको अधिकारलाई सुरक्षित गरिदिनुपर्छ । तिहारमा ककुरलाई पटका पड्काएर तर्साउनु हुँदैन । अबिर, सिन्दुर र अनेक किसिमका माला लगाइदिँदा एलर्जी हुनसक्छ । त्यसैले यस्ता कुरामा ध्यान दिनुहोला ।
तिहारकै मुखमा गत आइतबार भक्तपुरको एभरेस्ट इङ्लिस स्कुलका साथीहरूले कुकुर तिहारको महत्व झल्किनेगरी ‘सहारा’ नामक नाटक प्रदर्शन गर्नुभयाे । यो नाटक सडकमा बेसहारा कुकुरहरूको बारेमा हो ।
यही सन्दर्भमा उहाँहरुले पर्यावरणचक्र अर्थात् माटो, पानी, हावा, जंगल, कुकुरलगायत प्राणीजगतको बारेमा अन्तरसंवाद गर्नुभयो ।
त्यस अवसरमा ‘सहारा’ नामक चित्रकथाको पुस्तक पनि सार्वजनिक गरिएको छ । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी, राष्ट्रगानका रचयिता व्याकुल माइला, लेखिका डा. जुलिया एम. पलाइस र स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रूपमा किताब विमोचन गर्नुभएको थियो ।
यो किताब जुल (डा. जुलिया एम. पलाइस) र प्रवेश राजभण्डारीले लेख्नुभएको हो । किताब तयार गर्न एभरेस्ट इङ्लिस स्कुलका विद्यार्थी र कर्मचारीसमेत संलग्न हुनुुभएको थियो । किताबमा जीवित सांस्कृतिक संग्रहालय भनेर चिनिने भक्तपुरको कलासंस्कृति तथा सडक कुकुरहरूको कथा जनाउने चित्रकला राजेन्द्र याकामीले कोर्नुभएको छ ।
कथा यस्तो छ– भक्तपुरबासी साथी अमृत घरदेखि बीस मिनेट टाढा स्कुल जाँदै गर्दा सडकमा एउटा कुकुर सुतिरहेको देख्नुभयो । हरेक दिनजसो त्यो कुकुर त्यसरी नै देखिन्थ्यो । कुकुर साह्रै दुब्लो र कयौं दिनदेखि भोकै देखिन्थ्यो । उहाँले त्यो असहाय कुकर भएको चाल पाउनुभयो ।
कुकुर उदास देखिन्थ्यो । शरीरमा कालासेता टाटाले गर्दा फुस्रो, रौं निकै पातलो थियो । बोलाछेँ टोलबाट अगाडि दरबार क्षेत्र कटेर केही मिनेटपछि स्कुल पुग्नुभयो । बाटोमा अरु पनि कुकुर भेटिएका थिए तर अघि भेटिएको जस्तो निन्याउरा थिएनन् ।
त्यो कुकुरको अवस्थाले अमृतलाई खुबै सतायो । अन्ततः अमृतले त्यो बेसहारा कुकुरको बारेमा प्रिन्सिपललाई सुनाउनुभयो । प्रिन्सिपलले आफू पनि कुकुरप्रेमी हुनुका साथै पाँचवटा कुकुर पाल्दै आउनुभएको सुनाउनुभयो । सडकमा बस्ने बेसहारा कुकुरप्रति चिन्ता व्यक्त गर्नुभयो ।
त्यसपछि भक्तपुर पशु कल्याण क्लब गठन गरेर बेसहारा कुकुरहरूको हेरचाह गर्ने सल्लाह गर्नुभयो । स्मार्ट फोनबाट फोटो खिचेर सहरका सडक टोलटोलमा रहेका कुकुरहरूको रेकर्ड राख्ने योजना बनाउनुभयो । घर–घरमा पालिएका कुकुरका मालिक वा हेरचाहकर्ता भए/नभएको पनि पत्ता लगाउन तयार हुनुभयो ।
रेबिज र अन्य घातक रोग लागेविरुद्ध वार्षिक खोप दिलाउने, समुदायमा घरबारविहीन कुकुरको संख्या घटाउन बन्ध्याकरण गराउने, घरपालुवा कुकुरका धनीलाई जिम्मेवार तुल्याउने योजना बन्यो । कुकुरहरूबीच आपसी झैंझगडा कम गराउने, कुकुर र समुदायका मानिसबीच सम्बन्ध सुमधुर तुल्याउन अनेक उपायको खोजी गर्नुभयो ।
स्थानीय नगरपालिका, पशु स्वास्थ सेवा केन्द्रहरूको जिम्मेवारी बढाउने तथा पशु चिकित्सकहरूबाट सडक कुकुरको हेरचाह बढाउनुभयो ।
यसरी सडक कुकुरहरूको खोजी गर्ने र अवस्थाअनुसार वर्गीकरण गरेर सहारा दिने वातावरण उहाँले मिलाउनुभयो ।
यसपछि स्कुलका कुकुरप्रेमी साथीहरूको पशु कल्याण क्लब बन्यो । अमृतलाई आमा–बुवाले पशु कल्याण क्लबमा सहभागी हुने अनुमति दिनुभयो । विद्यार्थी साथीहरूले टोल–टोलमा सडक कुकुरहरूको व्यवस्थापनबारे जनचेतना बढाउने काम गर्नुभयो ।
अमृतले पहिलो पटक भेट्नुभएको बेसहारा कुकुरको उद्धार भयो । त्यो कुकुरको नाम ‘सहारा’ राखियो । उक्त कुकुरलाई यतिखेर प्रिन्सिपल भक्त राजभण्डारीको घरमा सम्मानपूर्वक राखिएको छ ।
साथीहरूले त्यही कुकुरको नामबाट ‘सहारा’ शीर्षक नाटक अभिनयसहित प्रस्तुत गर्नुभयो । कुकुरतिहार आउनुभन्दा चार दिनअगाडि स्कुलमा आयोजित समारोहमा उक्त नाटक प्रदर्शन गर्नुभएको हो । सहाराको कथा वास्तविक घटनामा आधारित छ ।
नेपालीहरूको महान चाड तिहारको सन्दर्भमा कुकुर तिहार नेपालमा मात्र मनाइने मौलिक पर्व हो । ‘यस कार्यक्रमको मुख्य उद्देश्य नेपालको मौलिक पर्व कुकुर तिहारको प्रवद्र्धन गरौं, कुकुर र मानिसबीचको अन्तरसम्बन्धलाई प्रगाढ बनाऔं रहेको छ,’ कार्यक्रममा सम्बोधनको क्रममा प्रिन्सिपल राजभण्डारीले भन्नुभयो, ‘सडक कुकुरलाई घरमा पालेर गर्व गरौं । प्राणीप्रतिको दया र संरक्षणको लागि हातेमालो गरौं ।’
लेखिका जुलु
‘सहारा’ किताबकी लेखिका जुलु संक्षिप्त नाम हो । उहाँको पूरा नाम जुली मिचेल पालाइस हो । उहाँको सन् १९५६ उहाँ अमेरिकाको मासाचुसेटमा भएको हो ।
उहाँ एक वैज्ञानिक हुनुहुन्छ । उहाँले ‘जियोलोजिकल एण्ड अर्थ साइन्सेस्÷जियोसाइन्सेस्’मा पीएचडी गर्नुभएको छ । उहाँले ‘इन्टरनेसनल एनिमल वेलफेयर इथिक्स एण्ड ल’ विषयमा पोस्ट ग्य्राजुएट गर्नुभएको छ । नेपालमा पर्यटकका रूपमा आउने गर्नुभएका जुलुको यसअघि ‘साथी ः दि स्ट्रिट डग फ्रम काठमाण्डु नेपाल’ बालबालिकाका लक्षित किताब प्रकाशित छ ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया