नानीबाबुलाई रहरले सिक्न दिने कि करले सिकाउने ?
के चाँडै लेख्न र कण्ठ पार्न सिक्दैमा त्यो पूर्ण सिकाइ हुन्छ ? अथवा सानो उमेरमा हेर्दै, बुझ्दै, छाम्दै, छुँदै क्रियाकलापमुखी प्रकारले सिक्दा साना मस्तिष्कमा सुरुदेखि नै प्रभावकारी र पूर्ण रुपले सिक्ने बानी बस्छ ?
बच्चा आमाको गर्भमा आएदेखि आठ वर्षसम्मको अवधिलाई अन्तर्राष्ट्रिय स्तरमा बालविकास उमेर समूह भनेर चिनिन्छ। विश्वव्यापी रुपमा यस समयलाई बालबालिकाको जीवनको महत्वपूर्ण समय अवधिका रुपमा स्वीकार गरिएको छ।
यस अवधिमा एउटा कोशिकाबाट पूर्ण मानव शरीरको निर्माण भएर शारीरिक, मानसिक, भावनात्मक र सामाजिक सिपको विकास हुने भएकाले यसलाई बालबालिकाको जीवनको कोसेढुंगाका रूपमा लिन सकिन्छ। यसै उमेरको संवेदनशीलतालाई मध्यनजर गरेर नेपाल सरकारले पनि हाल स्वास्थ्य, शिक्षा र पोषणजस्ता विषयलाई बालबालिकाका आधारभूत सेवामा राखेको छ ।
पूर्व बाल विकास समयलाई साना नानीहरू आमा बुवासँग आधारभूत सिप सिक्दै विद्यालयतर्फ जाने उमेरको रूपमा पनि लिइन्छ। कलिला मस्तिष्कका आफ्ना नानीबाबु विद्यालयतर्फ जाँदै गर्दा एकथरी अभिभावकमा उत्साहसँगै डर पनि हुन्छ– आफ्नो बच्चाले नयाँ वातावरणलाई कसरी स्वीकार गर्ला ? आफूलाई त्यसमा सुरक्षित महसुस गर्ला कि नगर्ला ? प्राय: शिक्षित परिवारमा यस्तो प्रकारको विचार रहेको पाइन्छ ।
अर्कोथरी परिवारमा चाहिँ बच्चा तीन वर्ष पुग्यो, अब विद्यालय पठाउनुपर्छ । पढ्न, लेख्न सिकाउनुपर्छ, तयारी गर्नुपर्छ भन्ने सोच हुन्छ।
अब प्रश्न रहन्छ– कुनचाहिँ सोचलाई हामी सही वा गलत भन्ने त ? कुनचाहिँ सोचलाई मान्यता दिने र बालबालिकाको सिकाइलाई सहज बनाउने ?
विद्यालयमा शिक्षकले र विद्यालय समूहले बाबुनानीहरूको विकासको अपेक्षा गरेका हुन्छन् । अभिभावकले पनि कसरी आफ्ना छोराछोरीले छिटो सिक्ने बोल्न र लेख्न सक्ने हुन्छन् भन्ने अपेक्षा राखेका हुन्छन् ।
यसलाई मध्यनजर गर्दै गर्दा पूर्व बालविकास उमेरमा बच्चाको सिकाई कति हुनुपर्ने हो त भन्ने प्रश्न अक्सर उब्जिरहन्छ । यही समयमा धेरै सिकाउनुपर्छ, विद्यालय गइसकेपछि सकेसम्म लेख्न र फरर्र पढ्न सक्ने हुनुपर्छ भन्ने मत हाम्रा अधिकांश अभिभावक र विद्यालयहरुमा पनि रहेको देखिन्छ ।
अनुसन्धानहरुले भने सानो उमेरमा बालबच्चामाथि दबाबसहित सिकाइने विषयगत ज्ञानका कुराले कलिला मस्तिष्कमा बोझको काम गर्ने र त्यसले सिकाइमा खलल पुग्ने गरेको देखाएका छन् ।
तालिम प्राप्त शिक्षकको कमी वा सानो उमेर समूहलाई कसरी सिकाउनुपर्छ भन्ने पूर्ण जानकारी नभएका शिक्षकहरूको दबावपूर्ण सिकाइले कति पटक साना नानीहरू विद्यालय जान नचाहने, घरमै बस्न रुचाउने गरेको हामी देख्न सक्छौं ।
अर्को तर्फ तालिम प्राप्त शिक्षक र बालमैत्री विद्यालयमा साना नानीहरूलाई स्वत: सिक्ने वातावरण दिनुपर्छ भनेर खोलिएका धेरै प्री स्कुल वा इसिडी सेन्टरहरूमा पढाइ नभएको भन्दै अभिभावकहरूले गुनासो गरेका पनि हामी पाउँछौं।
यो विषयलाई ध्यानपूर्वक सोच्ने हो भने सानो उमेरमा बालबालिकाले दबाबरहित वातावरणमा पूर्व भाषा, गणित जस्ता सिपहरु व्यावहारिक जीवनमा लागू गर्न सक्ने, आफ्नो वरिपरि भएका वातावरण र त्यसको बारेमा कुराकानी गर्न सक्ने तथा आफ्नो परिवारको सदस्य र छिमेकीसँग कुराकानी गर्न सक्ने सिपहरु सिकाउनु महत्वपूर्ण हुन्छ ।
जति धेरै मौका, उति नै धेरै सिकाइ
आठ वर्षको उमेरसम्म नानीहरूलाई स्वतन्त्र वातावरणमा खेल्दै, रमाउँदै सामान्य सीपको विकास गर्दै क्रियाकलापमुखी सिकाई गर्दा उनीहरूले प्राथमिक र माध्यमिक तहमा उत्कृष्ट प्रस्तुति गर्न सकेको प्रमाण हामीले विश्वका शिक्षा रिपोर्टहरूमा हेर्न सक्छौं । विकसित भनिएका देशहरूमा यस्तो प्रयोग गरिँदै आएको छ ।
हाम्रो जस्तो विकासशील देशमा भने पढाइको शिक्षित संख्या धेरै भए पनि प्रयोगात्मक रुपमा प्रयोग गर्न नसकेको गुनासो सुन्ने गरिन्छ । त्यसैले अब हामीले प्रश्न गर्नुपर्नेछ– चाँडै लेख्न र घोकाउन सिक्दैमा त्यो पूर्ण सिकाइ हुन्छ त ? अथवा सानो उमेरमा हेर्दै, बुझ्दै, छाम्दै, छुँदै क्रियाकलापमुखी प्रकारले सिक्दा साना मस्तिष्कमा सुरुदेखि नै प्रभावकारी र पूर्ण रुपले सिक्ने बानी बस्छ ?
आज एउटा अभिभावकले र एउटा शिक्षकले साना बालबालिकालाई घोकाउनु र जबरजस्ती लेख्न लगाउनु अगाडि यो प्रश्न गर्नुपर्छ ।
प्रतिक्रिया