परिवर्तन (बालकथा)
उर्मिला चर्किइन्— ‘फूलबाट निस्केकी छैन, कति कुरा जानेकी ? खुरुक्क भोलिदेखि तिसासँग खेल्नु, उसैसँग आऊजाऊ गर्नु, नत्र म तिमीसँग बोल्दै बोल्दिनँ । सबैले तपाईंको छोरीको सङ्गत साग बेच्नेको छोरीसँग छ भन्छन् ।’
फूल गोड्दै गरेकी उर्मिलाले छोरीतिर हेर्दै भनिन्— ‘आज पनि तिमी त्यही नम्रतासँग आयौ होला होइन ? मैले कति भन्नु हामीले आफू सुहाउँदो साथीको सङ्गत गनुपर्छ भनेर !’
सदीक्षाले उत्तर दिइन्— ‘हजुर त कुरा नै बुझ्नुहुन्न भन्या ! मैले त्यही त गरेकी छु नि ! नम्रता साह्रै ज्ञानी छिन् । सबैलाई सबै कुरामा जितिदिने भएर सर–मिसहरू पनि धेरै माया गर्नुहुन्छ ।’
उर्मिला चर्किइन्— ‘फूलबाट निस्केकी छैन, कति कुरा जानेकी ? खुरुक्क भोलिदेखि तिसासँग खेल्नु, उसैसँग आऊजाऊ गर्नु, नत्र म तिमीसँग बोल्दै बोल्दिनँ । सबैले तपाईंको छोरीको सङ्गत साग बेच्नेको छोरीसँग छ भन्छन् ।’
धेरैका अभिभावकहरू जस्तै आफ्नी आमाको पनि नराम्रो सोच देखेर सदीक्षालाई साह्रै नमज्जा लाग्यो ।
उर्मिलाले रिसाउँदै भनिन्— ‘के सोचेकी ? सङ्गतगुनाको फल भन्ने कुरा थाहा छैन ? उसको सङ्गत नगर्नुु भनेपछि नगर्नु ।’
‘हवस्’ भन्दै सदीक्षा भित्र पसिन् । उनलाई नम्रताको साह्रै माया लाग्थ्यो । आमाले गर्दा तिसासँगै स्कुल आऊजाऊ गर्न थालिन् । नम्रता गरिब भएकै कारणले अरू साथीहरू पनि उनीसँग खेल्ने, बोल्ने गर्दैनथे । यसरी दिन बित्दै गयो ।
एक दिन सदीक्षा र तिसा स्कुलबाट घर आउँदै थिए । आमालाई सडकको पल्लो किनारमा देखेर सदीक्षा दौडँदै सडक पार गर्न थालिन् । उनलाई मोटरसाइकलले हान्न लाग्दा दौडँदै आएर नम्रताले तानिन् । दुवै पछारिए । दिपेनले मोटरसाइकल रोकेर नम्रतालाई उठाउँदै भने— ‘अहो ! टाउको र घुँडामा ठूलै घाउ लागेछ ।’
आत्तिँदै आएर उर्मिलाले छोरीलाई उठाउँदै भनिन्— ‘हिँड्दा यताउता हेर्नु पर्दैन ? नम्रता भगवान् नै भएर आइन् र दुवैलाई जोगाइन् ।’
दिपेनले उर्मिलाको कुरामा सही थापे । नम्रतालाई चार हजार दिँदै भने— ‘मैले तिमीजस्ती मायालु बच्चा कहीँ देखेको छैन । तिम्रो त जति नै प्रशंसा गरे पनि कम हुन्छ । तिमीले गर्दा हामी दुवैको जिन्दगी बर्बाद हुनबाट बच्यो । यो पैसा उपहार सम्झेर राख । मसँग यति नै छ ।’
नम्रता घाउको पीडाले गर्दा बोल्न नै सकिनन् । हात जोडेर नमस्कार मात्र गरिन् । दिपेनले उनको हातमा पैसा राखेर मोटरसाइकल चढ्दै भने— ‘तिमीले अरूको रक्षा गर्दा आफ्नो बारेमा पनि सोच्नू । ल यिनलाई मेडिकल लैजानुहोस् । राम्रो स्याहार गर्नुहोस् ।’
उर्मिलाले आँसु पुछ्दै हुन्छ भनेर मुन्टो हल्लाइन् । नम्रताले मायालु आँखाले दिपेन गएको हेरिरहिन् । उनलाई हिजो घरबेटी दाजुले आमालाई भनेको शब्द याद आयो, ‘भाडा नदिएको दुई महिना भइसक्यो । यस्तै गर्ने हो भने छिटो डेरा छोड ।’ नम्रता दुखाइ बिर्सिएर आमालाई सहयोग गर्न पाएकोमा खुसी पनि भइन् ।
नम्रतालाई मुसार्दै उर्मिला बोलिन्— ‘सदीक्षाले भनेझैँ तिमी साह्रै ज्ञानी पो रहिछौ । आफ्नै मृत्युको पर्वाह नगरी साथीलाई बचायौ । म पो गलत रहिछु । मलाई माफ गर । मैले तिमीहरूको मित्रता टुटाएँ ।’
नम्रताले सानो स्वरमा जवाफ दिइन्— ‘केही छैन, हामी फेरि साथी भइहाल्छौँ नि ! उनलाई बचाउन सकेकोमा म धेरै खुसी छु ।’
सदीक्षाले भनिन्— ‘धन्यवाद साथी ! म पनि तिमीसँग धेरै खुसी छु नि !’
उर्मिलाले डो¥याउँदै नम्रतालाई मेडिकलतिर लगिन् । डाक्टरले घाउमा औषधि लगाउँदै भने— ‘घाउ ठूलो नै छ । सात दिनसम्म औषधि खानु । केही दिन आराम गर्नु ।’
नम्रताले ‘हवस्’ भनिन् । मेडिकलबाट निस्केपछि उर्मिला पछुताउँदै बोलिन्— ‘पाँच कक्षामा पढ्ने तिमीहरूको जति पनि मेरो बुद्धि रहेनछ । अब म पनि तिमीजस्तै ज्ञानी हुन्छु । मैले सुनेकी थिएँ, तिमीलाई आमाको धेरै चिन्ता छ रे, हो ?’
नम्रताले आँखाभरि आँसु पार्दै भनिन्— ‘हजुर, धेरै चिन्ता छ नि ! पैसा नहुँदा ममीले धेरै पीडा सहनुपर्छ । हामीसँग पैसा भएको भए म त्यो अंकलसँग पैसा नै लिँदैनथेँ ।’
नम्रताको कुराले उर्मिलाको आँखा रसायो । उनले आँसु पुछ्दै भनिन्— ‘हुने बिरुवाको चिल्लो पात भनेको यही हो । यति सानो उमेरमा पनि आमाको यति धेरै चिन्ता छ । तिमीजस्ती छोरी पाउने आमा पनि साह्रै भाग्यमानी हुन् ।’
‘म पनि भाग्यमानी छु नि ! ममी मलाई पेट भराउन आफू भोकै बस्नुहुन्छ । म पनि ममीलाई खुवाउनका लागि भोक छैन भन्दै थोरै खान्छु नि !’ नम्रताले भनिन् ।
सदीक्षाले खुसीको स्वरमा भनिन्— ‘मैले पहिल्यै नम्रता साह्रै ज्ञानी छिन् भनेकै थिएँ । हजुरले कुरै बुझ्नु भएन ।’
उर्मिलाले लामो सास फेर्दै भनिन्— ‘ल अब सबै बुझेँ बाबा ! आजदेखि यिनी पनि मेरी छोरी भइन् ।’
उर्मिलाको कुरा सुनेर नम्रता, सदीक्षा र तिसा खुसीहुँदै अगाडि बढे । उर्मिला पछाडि–पछाडि हिँड्दै सोचिन्— ‘यिनका बाबु भएको भए यस्ती छोरी देख्दा कति खुसी हुन्थे होला । दैवले बाबु खोसे पनि अति नै मायालु आमा दिएका छन् । अब यिनीहरूको आँखाको आँसु मैले पुछ्नुपर्छ ।’
नम्रताको राम्रो व्यवहारले उर्मिलाजस्ती कठोर नारीको मन पनि परिवर्तन भयो । उनले नम्रतालाई मात्र होइन नम्रताजस्ता अरूलाई पनि माया र सहयोग गर्न थालिन् ।
– बुद्धनगर काठमाडौँ
शिक्षा : कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ ।
प्रतिक्रिया