पत्नीका लागि बनाएका थिए ग्राहम बेलले टेलिफोन
एउटा रिसिभरमा ग्राहम थिए भने अर्को कोठामा रहेको रिसिभरमा उनका सहायक थोमस वाट्सन थिए । यताबाट रिसिभर उठाएर ग्राहमले भने, ‘मिस्टर, वाट्सन, यता आऊ त, तिमीसँग काम छ ।’ त्यतिञ्जेलसम्ममा ठूलो चमत्कार भइसकेको थियो ।
अलेक्जेन्डर ग्राहम बेलको जन्म सन् १८४७ मार्च ३ मा स्कटल्यान्डको एडेनबर्ग नामक सहरमा भएको थियो । उनका बाबु कान नसुन्नेहरूलाई भाषा प्रशिक्षण दिन्थे भने उनकी आमा पनि सुन्न सक्दिन थिइन् । यसका बाबजुद पनि उनी धेरै राम्रो पियानोवादक र चित्रकार थिइन् ।
बेलको बाल्यकाल यस्ता व्यक्तिको बीचमा बितेको थियो जसका लागि आवाजको कुनै अर्थ थिएन । त्यही कारण उनले ध्वनि विज्ञानको मद्दतबाट नसुन्ने मानिसहरूका लागि यस्तो यन्त्र बनाउन सफल भए, जुन आज पनि उनीेहरूका लागि कुनै वरदानभन्दा कम छैन ।
जीवनका यस्तै खास परिस्थितिहरूका कारण ग्राहम बेल टेलिफोनको आविष्कार गर्न सफल भए ।
मानिसको कानले आवाज कसरी सुन्छ भन्ने विषयमा ग्राहम बेललाई राम्ररी जानकारी थियो । त्यसैले उनी यही सिद्धान्तमा आधारित रहेर एउटा यस्तो मेसिन बनाउन थाले जसले ध्वनि तरंगलाई आवाजमा परिवर्तन गर्न सकोस् ।
त्यसपछि उनले तारबाट एक स्थानबाट अर्को स्थानमा पठाउन सक्ने इलेक्ट्रिक तरंग उत्पन्न गराउने विषयमा सोच्न थाले । केही वर्षसम्म उनी यस्तै प्रयासमा लागिरहेका थिए ।
सन् १८७६ मार्च १० मा ग्राहम बेलले अमेरिकाको बोस्टनस्थित आफ्नो वर्कसपका दुई कोठामा फरक–फरक रिसिभर जडान गरे र रिसिभरलाई तारले जोडे अनि त्यसमा ब्याट्री लगाए । एउटा रिसिभरमा ग्राहम थिए भने अर्को कोठामा रहेको रिसिभरमा उनका सहायक थोमस वाट्सन थिए । यताबाट रिसिभर उठाएर ग्राहमले भने, ‘मिस्टर, वाट्सन, यता आऊ त, तिमीसँग काम छ ।’
त्यतिबेलासम्म ठूलो चमत्कार भइसकेको थियो, इतिहास रचिएको थियो । ग्राहमले बोलेका शब्द तार हुँदै वाट्सनसम्म पुगेका थिए । त्यो दिन रातभर दुवैजना त्यही रिसिभरबाट कुरा गरिरहे । यसरी टेलिफोनको आविष्कार भयो जुन उनले विशेषगरी आफ्नी पत्नीका लागि बनाएका थिए ।
प्रतिक्रिया