आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

वन्यजन्तु संग्रहालयमा देशभरिका वन्यजन्तुहरूको नमुना

सर्वसाधारणदेखि अध्ययन अनुसन्धान गर्न चाहनेसम्मका निम्ति पर्यावरणबारे ज्ञान तथा जानकारी आदानप्रदान गर्न संग्रहालय बनाइएको हो ।

हरेक देशमा प्रकृति र वन्यजन्तु संरक्षण लागि निश्चित भू–भागलाई राष्ट्रिय निकुञ्जहरूका रूपमा छुट्याइएको हुन्छ । 

नेपालमा पनि प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपंक्षी, वनस्पति र भू–स्वरूपलाई संरक्षण तथा व्यवस्थापन गर्न राष्ट्रिय निकुञ्ज छुटाइएका छन् । नेपालको कुल क्षेत्रफलको करिब १९.७ प्रतिशत भूभागमा १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रहरू रहेका छन् ।

त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्ज एक हो । यो निकुञ्ज ९ सय ५२ किलोमिटर (३६८ वर्ग माइल) मा फैलिएको छ । वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि समुदायलाई सचेत गराउन निकुञ्जमा वन्यजन्तु आखेटाेपहार प्रदर्शन तथा सूचना  केन्द्र निर्माण गरिएको छ । सर्वसाधारणदेखि अध्ययन अनुसन्धान गर्न चाहनेसम्मका निम्ति पर्यावरणबारे ज्ञान तथा जानकारी आदानप्रदान गर्न संग्रहालय बनाइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत आशिष गुरुङले दिनुभएको जानकारी अनुसार यो संग्रहालयमा  देशभरिका वन्यजन्तुहरूको नमुना ल्याएर राखिएका छन् । सरिशृप, कीराफट्याङ्ग्रा, माछा, चराचुङ्गी, स्तनधारी जीवनजन्तुका नमुनाहरू हेरेर त्यसबारे जानकारी लिन सकिन्छ ।

यी जीवजन्तुका अवशेषहरूलाई विभिन्न रसायन हालेर प्रदर्शनमा राखिएका छन् । कतिपय जीवजनावरको छालालाई जस्ताको तस्तै सुरक्षित राखिएको छ । यसरी राख्ने विधिलाई टेक्सिडर्मी भनिन्छ । 

पर्यावरण र प्राणीजगत हेर्नु, जानकारी लिनु, जान्नु, बुझ्नु, बुझाउनु हामी सबैको कर्तव्य हो । प्रकृतिमाथि हानि हुने काम गर्नु हुन्न भन्ने चेतना जगाउन यो संग्रहालयले भूमिका निभाएको छ ।