एभरेष्ट त जहिले पनि जान पाए हुन्थ्याे जस्ताे लाग्छ : पूर्णिमा श्रेष्ठ (भिडियाे)
एकै सिजनमा तीनसहित चारपटक सगरमाथा आरोहण गर्नुभएकी पूर्णिमा भन्नुहुन्छ– 'नेपालमा जन्मिएकाेमा गर्व लाग्छ, नेपाली भएकैले यति धेरै हिमाल चढ्न पाएँ ।'
फोटो पत्रकारका रूपमा परिचय बनाउनुभएकी पूर्णिमा श्रेष्ठ अहिले पर्वतारोहीका रूपमा बढी चिनिनुहुन्छ । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको चारपटक सफल आरोहण गर्नुभएको छ । एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्नुभएकी उहाँ विश्वको सातौं अग्लो हिमाल धवलागिरिको चुचुरोमा पुग्ने पनि पहिलो महिला हुनुहुन्छ ।
गोरखा जिल्लाको आरुघाट–३ मा जन्मनुभएकी श्रेष्ठ सानैदेखि जीवनमा केही ठूलो काम गर्न चाहनुहुन्थ्यो । पछि फोटो पत्रकार बन्नुभयो । त्यही क्रममा उहाँलाई हिमाल चढ्ने हुटहुटी जाग्यो ।
उहाँले सुरुमै विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने सोच बनाउनुभयो । तर, उहाँसँग कुनै अनुभव वा तालिम थिएन । सबैले पहिला सानो हिमाल आरोहण गर्न सल्लाह दिएपछि उहाँले सन् २०१७ सेप्टेम्बरमा विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गर्नुभयो ।
२०१८ मा उहाँले सगरमाथाको सफल आरोहण गर्नुभयो । २०१९ मा अमादब्लमको शिखर चुम्नुभयो । २०२१ मा उहाँले अन्य ६ महिलासँगै अन्नपूर्णको चुचुरोमा टेक्नुभयो । र, २०२१ अक्टोबरमै धवलागिरि आरोहण गर्नुभयो । २०२४ मे २५ मा उहाँले चौथोपटक सगरमाथाको सफल आरोहण गर्नुभयो ।
विश्वका ८ हजारमाथिका १४ वटै हिमाल आरोहणको लक्ष्य लिनुभएकी उहाँले हालसम्म सगरमाथा, माउन्ट केटुसहित आठवटा हिमाल आरोहण गरिसक्नुभएको छ ।
हिमाल चढ्नभन्दा त्यसका लागि लाग्ने खर्च जुटाउन गाह्रो भएको उहाँ बताउनुहुन्छ । मनास्लु हिमाल आरोहण गर्ने बेलामा त ऋण खोजेर गएको उहाँले बताउनुभयो ।
हिमाल आरोहणका क्रममा गर्नुपरेका संघर्ष र अनुभवका विषयमा उनै साहसिक पर्वतारोही श्रेष्ठसँग पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा श्रेया सापकोटाले गर्नुभएको संवाद ।
प्रतिक्रिया