अभिभावक र बालबच्चाले हेर्नैपर्ने चलचित्र – ‘दी पर्स्युट अफ ह्याप्पीनेस’
बालबच्चाका लागि अभिभावकले कतिसम्म संघर्ष गर्ने ? र, बालबच्चाले पनि अभिभावकको संघर्षबाट के सिक्ने ? यसको गतिलो सन्देश दिने चलचित्र हो, ‘दी पर्स्युट अफ ह्याप्पीनेस ।’
प्रत्येक अभिभावकले आफ्नो सन्तानलाई राम्रो स्कुलमा पढाउन चाहन्छन् । राम्रो पोषण दिन चाहन्छन् । राम्रो वातावरण दिन चाहन्छन् तर मध्यम वर्गाीय परिवारमा यी कुराहरुकाे सन्तुलन कायम गर्न सहज छ त ? पक्कै छैन ।
कमजोर आर्थिक अवस्थाले बालबच्चाको हुकाई, श्रीमान-श्रीमतीको सम्बन्ध र पारिवारिक प्रतिष्ठामा धेरै प्रभाव पार्छ । यी सबका बाबजुद बालबच्चाका लागि अभिभावकले कतिसम्म संघर्ष गर्ने ? र बालबच्चाले पनि अभिभावकको संघर्षबाट के सिक्ने ? यसको गतिलो सन्देश दिने एउटा चलचित्रको चर्चा गरौँ । चलचित्र हो, ‘दी पर्स्युट अफ ह्याप्पीनेस’ ।
जान्नुपर्ने कुरा के छ भने यो फगत काल्पनिक चलचित्र होइन । यो एउटा वास्तविक जीवनमा आधारित घटना हो । र, दशैँको फुर्सदमा अभिभावक र बालबच्चाले सँगै बसेर हेर्न मिल्ने सन्देशमुलक, भावनात्मक र पारिवारिक चलचित्र हो यो ।
छोरालाई राम्रो स्कुल पढाउने सपना
चलचित्रको मुख्य पात्र हुन्, क्रिस गार्डनर (बाबु), लिन्डा (आमा) र क्रिस्टोफोर (छोरा)।
क्रिसको परिवार भाडाको कोठामा बस्छन् । उ नीजि मेडिकलहरुको लागि स्क्यानर मेशिन बेच्छ । लिन्डा अरुको घरमा सहयोगी काम गर्छिन् । र क्रिस्टोफोर एक सरकारी विद्यालय (कक्षा ६) मा पढ्दैछ ।
क्रिस र लिन्डाको मात्र दुई वटा चाहना छ । एक, छोरोलाई राम्रो स्कुल पढाउने । दोस्रो, समयमै कोठा भाडा तिर्ने । तर, समय उनीहरुको चाहना पूरा गर्न मज्नुर हुँदैन ।
प्रविधिको विकासले क्रिसको स्क्यानर मेशिन निकै कम बिक्री हुन थाल्छ । नयाँ व्यवसाय थाल्न ऊसँग पर्याप्त पैसा हुँदैन । उता लिन्डाको आम्दानीले जसोतसो छोरो क्रिस्टोफोरको पोशाक र किताब किन्न पुगिरहेको हुन्छ ।
एक दिन क्रिस छोरोलाई स्कुल पुर्याउन बजार निस्कन्छ, मेशिन बेच्न । त्यत्तिकैमा उसको आँखा पुग्छ एक भव्य कम्पनीको भवनतिर । जुन भवनको अगाडि राम्रा र महँगा गाडी राखिएका हुन्छन् । त्यो भवनमा आउजाउ गर्नेहरु सबै टाइसुटमा सजिएका हुन्छन् । त्यो देखेर क्रिसलाई डाह हुन्छ ।
भवनबाट निस्कँदै गरेको एक जना व्यक्तिलाई उसले रोकेर सोध्छ, ‘तपाइँ के काम गर्नुहुन्छ ?’
जवाफमा त्यो व्यक्तिले भन्छ, ‘यही भवनमा जागिर गर्छु ।’
क्रिसले मनमा कल्पना गर्न थाल्छ- अब म पनि यही कम्पनीमा जागिर गर्छु । पैसा कमाउँछु र छोरालाई राम्रो स्कुल पढाउँछु । तर अवस्था उसले सोचेजति सहज हुँदैन ।
क्रिस साँझ घर पुग्छ । छोरा क्रिस्टोफोर क्युब (पजल) खेलिरहेको हुन्छ । क्रिस पनि गएर छोरोसँगै खेल्न थाल्छ । उता श्रीमती लिन्डाले सुनाउँछिन्, ‘कोठाभाडा नतिरहेको दुई महिना भइसक्यो । घरधनीले नोटिस पठाएको छ ।’
लिन्डाको कुरा सुनेपछि क्रिस एकछिन सोचमग्न हुन्छ । छोराको क्युब हातमै लिएर टोलाइरहन्छ ।
त्यसो त, लिन्डालाई विस्तारै लाग्न थालिसकेको हुन्छ- क्रिसले कहिल्यै पनि पैसा कमाउन सक्दैन । छोरालाई राम्रो स्कुलमा पढाउन सक्दैन । सायद मैले बिहे गरेर गल्ती गरेछु ।
कोठा भाडा, छोरोको खर्चलगायत विषयमा क्रिस र लिन्डाबीच दैनिक कलह हुन थाल्छ र अन्नतः लिन्डा घर छाडेर अर्को सहर जान्छे ।
...त्यसपछि बाबु-छोरा नै एक-अर्काको साथी
लिन्डाले घर छाडेर गएपछि छोरो क्रिस्टोफोरको सम्पूर्ण हेरचाह क्रिसको काँधमा आउँछ ।
क्रिसले ब्रोकरको जागिरका लागि आवेदन दिएको हुन्छ तर कम्पनीले केही महिना इन्टर्नसिप गर्नुपर्ने र त्यसपछि मात्रै अन्तर्वार्ता गरेर जागिर पक्का गर्ने सर्त सुनाउँछ । जुन सर्त क्रिसले पनि चुनौतीपुर्ण ढंगले स्वीकार्छ ।
चलचित्रमा केही केही यस्ता दृश्य छन्, जुन हेर्दा प्रत्येक अभिभावक र सन्तानको आँखाबाट एकैसाथ आँशु खस्छन् ।
हुन्छ के भने, तीन महिनाको भाडा तिर्न नसकेपछि क्रिस र छोरो क्रिस्टोफोरलाई घरधनीले कोठाबाट निकालिदिन्छ । त्यो कुराले छोरोलाई असर नगरोस् भनेर ऊ साथी बनेर गफ गर्छ ।
छोरो क्रिस्टोफोरले सोध्छ, ‘बुबा हामी कहाँ जाँदैछौं ?’
जवाफमा क्रिस भन्छ, ‘आज म तिमीलाई राति सहर कस्तो देखिन्छ, त्यो देखाउँछु । तिमीले राति आकाशमा जून देखेका छैनौ, त्यो देखाउँछु । सायद तिमीले कक्षामा ताराहरुबारे पढेका छौ होला, आज तिमीलाई त्यो पनि देखाउँछु ।’
क्रिस्टोफोर पनि बाबुको जवाफमा खुसी हुन्छ । ऊ पनि बाबुसँग कक्षामा पढेका कुरा सुनाउँछ । बाबुछोरा एकअर्काको साथी बन्छन् । मन बुझाउने पात्र बन्छन् ।
दृश्य बढ्दै जान्छ । रात ढल्दै गएपछि क्रिस्टोफोरलाई निद्राले च्याप्छ तर छोरालाई होटलमा लगेर सुताउन क्रिससँग सुक्को पैसा हुँदैन । त्यसपछि जुक्ति लगाउँछ । क्रिस्टोफोरलाई भन्छ, ‘तिमी सधैं मम्मीको काखमा सुत्यौ । आज म तिमीलाई मेरो काखमा सुताउँछु, हुन्छ ?’
त्यसपछि क्रिस नजिकैको एक कम्प्लेक्सको शौचालयमा जान्छ । भुइँमा केही कपडा ओछ्याउँछ । आफू पल्टिन्छ र छोरोलाई आफ्नो काँखमा निदाउन लगाउँछ ।
यी दृश्यहरु निकै हृदयविदारक छन् । हेर्दा जो कोही भावुक हुन्छन् ।
अनि बाबु-छोरा अंगालो हाल्छन्
समय बित्दै जान्छ । केही समय छोरा क्रिस्टोफोरको स्कुल छुट्छ । उता क्रिसले कम्पनीमा इन्टर्नसिपको अवधि पूरा गरिरहेको हुन्छ र एक दिन समय आउँछ अन्तर्वार्ताको । यो दृश्य पनि निकै सन्देशमुलक छ ।
कम्पनीमा जागिर एक जनाका लागि मात्रै हुन्छ तर त्यहाँ सयौँ आवेदक हुन्छन् । अरु सबै टाइसुटमा सजिएर पुगेका हुन्छन् । क्रिस भने च्यातिएको सर्ट र पुरानो पाइन्टमा हुन्छ ।
अन्तर्वार्ता लिने कोठामा कम्पनीका पाँच बोर्ड सदस्य हुन्छन् । एकपछि अर्को । एकपछि अर्को । सबैले अन्तर्वार्ता दिइसकेपछि पालो आउँछ, क्रिसको ।
ऊ भित्र जान्छ । सुरुमा बोर्ड सदस्यहरु क्रिसको हुलिया देखेर हाँस्छन् र प्रश्न गर्न थाल्छन्, ‘अरु आवेदकको पहिरन हेर्याै हैन ? तिमीलाई लाज लागेन ?’
क्रिस एकछिन् गम्भीर हुन्छ र संयमित भएर जवाफ फर्काउँछ, ‘अन्तर्वार्ता दिन आउनुअघि मैले धेरै सोचेँ कि यो पहिरनबारे म जवाफ दिऊँ तर मैले कुनै बहाना भेट्टाइन । यथार्थ के हो भने मसँग अन्य लुगा छैन । मसँग पैसा छैन तर मसँग इमान्दारी र उपायहरु धेरै छन् ।’
बोर्ड सदस्यहरुले फेरि सोध्छन्, ‘तिम्रो इमान्दारीलाई हामीले कसरी विश्वास गर्ने ?’
क्रिसले जवाफ दिन्छ, ‘मैले चाहेको भए कसैसँग मागेर एकछिनका लागि राम्रो लुगा लगाउन सक्थें तर गरिनँ किनकि त्यो मेरो बनावटी चरित्र हुन्थ्यो । म यही नै हुँ, म जे छु । अर्थात् मसँग लुगा छैन तर लुगाका विकल्पहरुबारे राम्ररी थाहा छ ।’
क्रिसको यस्तो जवाफ सुनेपछि बोर्ड सदस्यहरु एकछिन मौन हुन्छन् । क्रिस अन्तर्वार्ता कोठाबाट बाहिरिन्छ र एकैछिनपछि रिजल्ट आउँछ- मिस्टर क्रिस ! यु आर सेलेक्टेड ।
यो सुनेपछि क्रिसको आँखाबाट आँशु रसाउँछ । भुइँमा थचक्क बस्छ । छोरालाई बेस्सरी अंगालो हाल्छ । छोराले आफ्ना सुकोमल औँलाद्वारा बाबुको आँशु पुछिदिन्छ । वरिपरिका सबै मानिस भावुक हुन्छन् ।
त्यसपछि केही समयपछिको दृश्य देखाइन्छ । अब क्रिसले कम्पनीमा राम्रो तलब र सेवासहित जागिर गरिरहेको छ । छोरो क्रिस्टोफोर राम्रो स्कुल गइरहेको छ । क्रिस हरेक दिन बिहान छोरोलाई स्कुल छाड्छ र आफू अफिस जान्छ । बाबुछोरा साँझमा अनेकौँ गफ गर्छन् साथी बनेर ।
क्रिसले राम्रो पैसा कमाउँछ । छोरोले पनि विद्यालय शिक्षा पूरा गर्छ । त्यसपछि क्रिसले सानो लगानीमा आफ्नै कम्पनी खोल्छ । छोरोले पनि साथ दिन्छ । बाबु छोराको सम्बन्ध र सहकार्यले कम्पनी पनि ठूलो बन्दै जान्छ । र, यसरी एउटा मध्यमवर्गीय परिवारको सपना, संघर्ष, दुखलाई चलचित्रमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्रमा अन्य थुप्रै सहायक कथाहरु छन् । जस्तो, क्रिसले छोरो क्रिस्टोफोरको भोक मेटाउन आफ्नो रगत बेचेको कथा । छोरो क्रिस्टोफरले पनि बाबुलाई आफ्नो जीवनको हिरो भएर साथीहरुलाई सुनाएको कथा, आदि-आदि ।
अन्त्यमा, यो चलचित्रका थुप्रै रिमेकहरु बनेका छन् तर ती चलचित्रहरु संवाद, दृश्य र निर्माणमा कहीं न कहीं चुकेको पाइन्छ तर ‘दी पर्स्युट अफ ह्याप्पीनेस’ भने साँच्चिकै नेपाली समाजमा व्याप्त मध्यमवर्गीय परिवारका अभिभावक र बालबच्चाले हेर्नैपर्ने चलचित्र हो । अझै अभिभावक र बालबच्चा सँगै बसेर हेरे झन् राम्रो । किनकि, कतिपय दृश्यहरुमा अंगालो हालेर आफूलाई हलुका पार्न सजिलो हुनेछ ।
प्रतिक्रिया