सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

आकाशैमा चङ्गा सरर (भिडियाे)

 

भाइबहिनीहरू पक्कै पनि दसैंको छुट्टी रमाइलो गरी मनाउने सुरसारमा हुनुहुन्छ होला ।

चङ्गा उडाउने बेला भइसकेको छ । पसलहरू चङ्गा, लट्टाई, धागो बेच्न राख्न थालेका छन् । कतिपय साथीहरूले त चङ्गा किनेर उडाउने अभ्यास गर्दै हुनुहुन्छ होला ।

काठमाडौं उपत्यकामा इन्द्रजात्रा पनि भर्खरै सकिएको छ । इन्द्र भनेको पानी पार्ने देउता हुन् । स्वर्गको राजा, देवताका राजा भनिन्छ । इन्द्रलाई सहकालका देवता मानिन्छ । उनै इन्द्रलाई यसपालि वर्षातले पुग्यो है भनेर सन्देश पठाउन चङ्गा उडाउनुपर्छ भन्ने लोकपरम्परा छ । त्यो सन्देश सुनेर इन्द्रले वर्षाको मुहान रोकिदिन्छन् भनिन्छ ।

नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा चङ्गा उडाउने परम्परा छ । खासगरी उपत्यकाका रैथाने बासिन्दा नेवार जाति हुन् । चङ्गा उडाउने चलन नेवारी जनजीवनको शरदकालीन संस्कृति हो ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले दिनुभएको जानकारीअनुसार उपत्यकामा कृष्णाष्टमीदेखि दशमीको टीकाको दिनसम्म चङ्गा उडाउने परम्परा छ । ‘भगवान इन्द्रलाई वर्षातको पानीले पुग्यो रोकिदेऊ भनेर चिठी पठाएको भनेर बुझ्ने गरिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘नवमीको दिन कृषिकर्ममा प्रयोग गरिने हँसियालगायत औजारहरूको पूजा गरिन्छ । औजारको पूजा गरिसकेपछि त्यही हतियार लिएर धान काटिन्छ ।’

इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा चङ्गा संस्कृति मौखिक लोकपरम्परामा आधारित छ । उहाँ भन्नुहुन्छ, ‘इन्द्र भगवान चोर थिए भनेर इन्द्रजात्रा मनाइन्छ । इन्द्रलाई सजाय दिएर जात्रा मनाएलगत्तै जनताले खुशियालीमा चङ्गा उडाउने गरिन्छ ।’

छोरीचेली बोलाउन सन्देशवाहकका रूपमा चङ्गा उडाउने मान्यता पनि छ । चेलीलाई बिहे गरेर टाढा कर्म घर पठाइन्छ । अब मोहनी (दसैं) आउन लाग्यो । त्यसैले माइतीघर आऊ है भनेर निम्तो दिएको भन्ने छ । टाढा रहेकी चेलीलाई आकाशमा चङ्गा उडेको देखेपछि माइतीघरको सम्झना आउँछ भनिन्छ । नेवारी भाषामा चङ्गालाई ‘भुटीमाली’ भनिन्छ ।

कागज वा प्लास्टिकलाई त्रिकोण वा चौकोणको आकारमा चङ्गा बनाइन्छ । यसलाई उडाउन धागो र लट्टाई चाहिन्छ । साना भाइबहिनीले उडाउने चङ्गाको धागो सामान्य हुन्छ । ठूला पारखी व्यक्तिले उडाउने धागो विशेष खालको हुन्छ । लट्टाई काठ र बाँसबाट बनाइएको हुन्छ । माथि माथि आकाशमा उडाएर एकले अर्काको चङ्गासँग जुधाउने गरिन्छ ।

त्यसरी जुध्दा एउटा चङ्गाको धागो अर्काेसँग रेटिन पुग्छ र काटिन्छ । त्यसरी काटिनुलाई चङ्गा चेट भनिन्छ । टोल–टोलका चङ्गाबाजहरूबीच मैत्रीपूर्ण खेल हुने गर्छ । घमाइलो दिन यसै पनि रोमाञ्चक हुन्छ । हावाको चाप पश्चिमबाट पूर्वतिर बहँदा चङ्गा गज्जबले उड्छ ।

भाइबहिनीहरू तपाईंहरू पनि यो शरदकालीन सुनौलो मौसममा पक्कै चङ्गा उडाउनु हुनेछ तर होसियारी अपनाउनु होला है ! अग्लो ठाउँमा अनि घरको माथिल्लो छतमा बसेर उडाउँदा ध्यान पु¥याउनु होस् । बरु सम्म भुइँमै बसेर उडाउनु सुरक्षित हुन्छ ।

होस नपुर्‍याउँदा हरेक वर्ष चङ्गा उडाउने क्रममा लडेर धेरै जना घाइते भएका छन् । कतिको त ज्यानै गएको पनि छ ।

गणेश राई

(वरिष्ठ पत्रकार राई शिक्षा पत्रकारितामा दख्खल राख्नुहुन्छ ।)