सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

देवी मन्दिर, जहाँ बलि चढ्दैन (भिडियाे)

यहाँ पुग्न दुई विकल्प छन् । पहिलो– एक डेढ घण्टाको पैदल यात्रा गर्ने । मन्दिर पुग्न १ हजार ८ सय ८२ खुड्किला चढ्नुपर्छ । दोस्रो– मौलाकाली केबलकार चढ्ने ।

 

चितवनबाट नारायणी नदीको पुल तरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट पुगिन्छ । गैंडाकोट नगरपालिका–१ मा रहेको छ मौलाकालिका मन्दिर । यो एक धार्मिक स्थल हो । 

चितवन राष्ट्रिय निकुञ्जको यात्रामा जाने पर्यटकका निम्ति मौलाकालिका मन्दिरसमेत गन्तव्य बनेको छ । नारायणी नदीले छुट्याए पनि एउटै भूगोलमा रहेको पर्यटकीय केन्द्रका रूपमा मौलाकालिका मन्दिर परिचित छ । 

गैंडाकोटस्थित पूर्व–पश्चिम राजमार्गबाट करिब चार किलोमिटर उत्तरतर्फ मौलाकालिका मन्दिर रहेको छ । समुद्री सतहदेखि ५ सय ६१ मिटर उचाइमा पहाड तथा वनको बीचमा रहेको छ यो मन्दिर । 

यहाँ पुग्न दुई विकल्प छन् । पहिलो– एक डेढ घण्टाको पैदल यात्रा गर्ने । मन्दिर पुग्न १ हजार ८ सय ८२ खुड्किला चढ्नुपर्छ । दोस्रो– मौलाकाली केबलकार चढ्ने । २०८० वैशाख १ गतेबाट यो केबलकार सञ्चालनमा आएको हो । 

केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले दिनुभएको जानकारीअनुसार दुई वटा स्टेसन रहेको केवलकारको लम्बाइ १२ सय मिटर छ । केबलकारमा ६ वटा टावर र १२ वटा डब्बा छन् । एउटा डब्बामा आठ जना अट्छ भने प्रतिदिन ६ हजारले आउजाउ गर्न सक्छन् । 

‘मौलाकालिका मन्दिरलाई लक्षित गरेर यो केबलकार स्थापना गरिएको हो,’ ऐतिहासिक मन्दिरको आफ्नै महिमा रहेको उल्लेख गर्दै स्टेसन म्यानेजर पौडेल भन्नुहुन्छ, ‘असक्त, वृद्धवृद्धा, बालबालिकालाई लक्ष्य गरेर केबलकार बनाएका हौं । समयको बचतका निम्ति अर्थात् छोटो समय लिएर घुम्न आउने दर्शनार्थीका निम्ति पनि यो सजिलो माध्यम बनेको छ ।’

केवलकार चढ्नका निम्ति बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट दिने गरिएको छ । 

किंवदन्तीअनुसार विक्रम संवत्को पन्धौं शताब्दीको अन्ततिर पाल्पाका राजा मणिमुकुन्द सेनले यस ठाउँमा सैनिक टुकडी राखेर देवघाट धाममा चक्रवर्ती शिला स्थापना गरेका थिए ।

सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडेर पीठका रूपमा पूजाअर्चनाको व्यवस्था गरेका थिए । सेन राजाको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले यो मन्दिरमा पूजा गर्ने गर्थे । गाउँलेहरू आलोपालो पूजा गर्थे । त्यहाँ एउटा ठूलो सालको रूख थियो । १९९० सालको भूइँचालोले त्यो रुख ढल्यो । त्यो रुखसँग जोडिएको ऐतिहासिक मन्दिर पनि भताभुङ्ग हुनु पुग्यो । कालान्तरमा स्थानीय आदिवासी मगरहरू अन्यत्र बसाइँ सरेर गए । त्यसपछि मन्दिरको स्याहारसम्भार हुन छाड्यो । 

२०३२ सालमा स्थानीय अगुवाको पहलमा यो ऐतिहासिक मन्दिरको पुनःउत्थान तथा जीर्णोद्धार भयो । त्यसबेला मौलो, भाला, गोलाकार शिला तथा घण्टीहरू फेला परेका थिए । त्यसयता स्थानीवासीले सानो मन्दिर निर्माण गरी बडादसैं र चैतेदसैंमा पूजापाठ गर्दै आएका थिए । यस मन्दिरमा २०६४ सालदेखि तीनजना आवासीय ब्राह्मण पूजारीको व्यवस्था गरी वैदिक विधिअनुसार पूजाअर्चना हुँदै आएको छ । 

यो मन्दिरमा बलि पूजा प्रतिबन्ध रहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष खगराज कँडेल बताउनु हुन्छ । ‘यहाँको हरियाली वातावरण, मन्दिर परिसरको सुरम्य वातावरणले भक्तजनलाई लोभ्याउने गरेको छ,’ उहाँ भन्नुहुन्छ, ‘पूर्वीय दर्शनअनुसार हामीले सात्यिकी पूजा गरेका छौं । यो मन्दिरमा धार्मिक सेवा समितिले बलि पूजा गर्दैन । सात्यिकी पञ्चबलि पूजा गर्छ ।’

चितवनको सौराहा घुम्न आउने पर्यटकहरूले मौलाकालिका मन्दिर क्षेत्रसमेत भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । मौलाकालिका मन्दिर परिसरबाट हेर्दा चितवन, नवलपुर र तनहुँ जिल्लाको दृश्यावलोकन गर्न पाइन्छ । 

चितवनको दक्षिण गोलाघाटसम्म, पूर्वी चितवन, पश्चिम चितवन पूरै देख्न सकिन्छ । नवलपुरको रजर फाँटको दृश्यपान गर्न सकिन्छ । उत्तरतर्फ तनहुँको देवघाट देखिन्छ ।