आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

राेशनले यसरी उडाए हवाईजहाज (भिडियाे)

 

रोशन खत्री चितवनको खैरहनीस्थित माध्यमिक विद्यालय गबईमा कक्षा १० मा पढ्नु हुन्छ । १७ वर्षीय रोशन ‘प्लेन’ बनाउने विद्यार्थीका रूपमा चिनिनु हुन्छ । 

रोशनले रातो चन्द्र–सूर्य अंकित नेपाली झण्डासहित हवाईजहाज बनाउनुभएको छ ।  

स्कुलमा विज्ञान प्रतियोगिता हुँदा हवाईजहाज बनाउने कल्पना गर्नुभयो । चितवन जिल्लाव्यापी प्रतियोगितामा जाँदा एकजना साथीले ड्रोन बनाएको देखेपछि उहाँमा त्यस्तै केही नयाँ चिज बनाउने हुटहुटी जाग्यो । त्यसपछि युट्युबमा खोज्न थाल्नुभयो । खोज्दै जाँदा हवाईजहाज बनाएको फेला पार्नुभयो । यो त नयाँ काम हो भन्ने लागेर उहाँले हवाईजहाज बनाउनुभएको हो । 

युट्युब हेरेर बनाउँदा उहाँलाई करिब एक महिनाजति लाग्यो । उहाँले हवाईजहाज बनाउन थर्मकोल, ब्रासलेस मोटर, पर्पोलर, रिमोट, रिसिभर आदि प्रयोग गर्नुभएको छ । केही सामान चीनबाट समेत मगाएको उहाँ सुनाउनु हुन्छ । रोशनले बनाउनुभएको जहाज २२ सीएमचको छ । यो हवाईजहाज सात किलोमिटर टाढा र १५ मिनेटसम्म आकाशमा उड्न सक्ने उहाँको दावी छ । तर, क्यामरा जडान नगरिएकाले आँखाले भ्याउने दूरीसम्म मात्र उडाउने गरिएको छ । 

हवाईजहाज बनाउँदा सुरुमा बिग्रियो । त्यसैले ३२ हजार रुपैयाँ लागेको नत्र २५ हजारमै तयार गर्न सकिने उहाँ बताउनुहुन्छ । 

खत्री भविष्यमा इन्जिनियर बन्न चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो देश कृषिप्रधान हो । त्यसैले मलाई मल छर्न सक्ने ड्रोन बनाउने इच्छा छ ।’ शिक्षक र बुवाको सहयोगबाट हवाईजहाज बनाउन सकेको उहाँ बताउनु हुन्छ । 

रोशनले यसअघि विज्ञान प्रदर्शनीमा सहभागी हुँदा झार काट्ने, प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने र बाढी आउँदा सूचना दिने यन्त्रसमेत निर्माण गरेर देखाउनुभएको थियो । त्यसबापत पुरस्कारसमेत पाउनुभएको थियो । 

प्रधानाध्यापक ऋषिप्रसाद खनालका अनुसार रोशन कक्षाको औसत विद्यार्थीमा पर्नुुहुन्छ । ‘तर प्राविधिक विषयमा अत्यन्तै चासो राख्ने विद्यार्थी हुन्,’ उहाँ भन्नुहुन्छ, ‘उनी भविष्यमा इन्जिनियर बनेर देशको सेवा गर्न चाहन्छन् ।’ 

माध्यमिक विद्यालय गबही चितवनको खैरहनी नगरपालिका वडा नं.१३ मा रहेको छ । यो विद्यालय २०१४ सालमा स्थापना भएको हो । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । 

खनालका अनुसार सबै कक्षाका गरी ५ सय ५० विद्यार्थी यहाँ पढ्नु हुन्छ । कक्षा ११ र १२ मा व्यवस्थापन विषय पठनपाठन हुन्छ ।

 

याे पनि हेर्नुहाेस् :

राेशनले बनाएकाे हवाईजहाज (फाेटाे फिचर)