मैनालीलाई मदन पुरस्कार, यादवलाई जगदम्बा–श्री सम्मान
भाइबहिनीहरू, दसैंको पहिलो दिन घटस्थापना अर्थात् जमरा राख्ने दिन हो । यही दिनबाट दसैं सुरु भइसकेको छ ।
घटस्थापनाकै दिन ‘मदन पुरस्कार’ र ‘जगदम्बा–श्री सम्मान’ प्रदान गरिन्छ । मदन पुरस्कार गुठीले यो पुरस्कार र सम्मान प्रदान गर्दछ ।
वर्षभरि नेपाली भाषामा प्रकाशितमध्ये उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गरिन्छ । मदन पुरस्कारलाई देशको सबैभन्दा ठूलो राशिसहितको ओजनदार पुरस्कार मानिन्छ ।
यो वर्ष ‘मुकाम रणमैदान : नेपाल–अंग्रेज युद्धको बखान’ इतिहास कृतिका लागि लेखक मोहन मैनालीलाई ‘मदन पुरस्कार–२०८०’ प्रदान गरिएको छ । पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ ।
यसैगरी नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गर्नुभएका प्रसिद्ध भाषावैज्ञानिक प्राध्यापक डा. योगेन्द्रप्रसाद यादवलाई ‘जगदम्बा–श्री सम्मान–२०८०’ प्रदान गरिएको छ । सम्मानको राशि पनि ४ लाख रुपैयाँ रहेको छ ।
पाटनढोकास्थित मदन पुरस्कार गुठीले बिहीबार आयोजना गरेको समाराहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले उक्त पुरस्कार र सम्मान प्रदान गर्नुभएको हो ।
जगदम्बा–श्री सम्मानप्राप्त भाषावैज्ञानिक यादवले नेपालमा बोलिने १२४ भाषा राष्ट्रको सम्पदा भएको उल्लेख गर्दै अधिकांश भाषा संकटग्रस्त रहेको बताउनुभयो । उहाँले लोपोन्मुख र संकटग्रस्त भाषाहरूलाई शिक्षा, सञ्चार, प्रशासन, साहित्य सिर्जनामा सम्भाव्यता बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
मदन पुरस्कार प्राप्त गर्नुहुने साहित्यकार मैनालीले आफू तेह्रथुमको आठराईमा जन्मे हुर्केको उल्लेख गर्दै आफ्नो क्षेत्रले यसअघि तीनपटक मदन पुरस्कार पाएको तर दुईवटाको अभिलेख नरहेको उल्लेख गर्नुभयो ।
‘१८७१–७२ सालमा नेपाल र अंग्रेजीबीच लडाइँ नभएको भए त्यसको झण्डै २०० वर्षपछि भारतीय सेना फिल्ड मार्शल सामबहादुर र उनका नेपाली अर्दलीबीच यस्तो सम्बन्ध हुँदैनथ्यो, सामबहादुरको घरमा नेपाली वातावरण हुँदैनथ्यो,’ आफ्नो कृतिबारे उहाँले भन्नुभयो, ‘त्यसैले त भन्ने गरिन्छ– इतिहास भूतकाल हैन, वर्तमान र भविष्यत् काल हो ।’
प्राध्यापक डा. कटक मल्लले ‘जैविक विविधता, जीवमण्डल सुरक्षा र वातावरणीय कानून’ शीर्षकमा विद्वत् प्रवचन दिनुभयो । ‘जैविक सुरक्षा साझा चासोको विषय हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो ज्ञान र दृष्टिकोण अब जैविक सुरक्षा र जीवमण्डलको अखण्डताप्रति जागृत हुनुपर्छ ।’
यसरी सुरु भयो मदन पुरस्कार र जगदम्बा श्री सम्मान
मदन शमशेर राणा (१९७६–२०१०) को सम्झनामा २०१२ सालमा ‘मदन पुरस्कार’ स्थापना गरिएको हो ।
२०१३ सालमा पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो ।
स्थापना कालदेखि २०८० सालसम्म संयुक्तसमेत गरेर ८३ जना लेखक, साहित्यका, अनुसन्धाता व्यक्तित्वका कृतिले ‘मदन पुरस्कार’ प्राप्त गरेको छ ।
यसैगरी रानी जगदम्बा कुमारीदेवी राणा (विसं.१९७५–२०४५) को सम्झनामा २०४५ सालमा ‘जगदम्बा–श्री पुरस्कार’ सम्मान स्थापना गरिएको हो ।
विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई यो सम्मान प्रदान गरिँदै आएको छ । पहिलो पटक स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यलाई ‘जगदम्बा–श्री सम्मान–२०४५’ प्रदान गरिएको थियो ।
स्थापनाकालदेखि २०८० सालसम्म ३६ वर्षमा दुईवटा संस्था र एकपटक संयुक्तसमेत गरी ३५ जना व्यक्तित्वलाई यो सम्मान प्रदान गरिएको छ ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया