सुरु भयो दसैं : शक्तिपीठहरुमा बढ्याे चहलपहल (भिडियाे)
शरद ऋतृलाई ऋतृहरूको राजा भनिन्छ । यही ऋतुमा पर्छ दशैं । दशैं हिन्दू धर्मावलम्बीहरूको महान् चाड हो । विश्वभरि छरिएर रहेका आम नेपालीले राष्ट्रिय चाडका रूपमा दशैं मनाउने चलन छ । सबैभन्दा ठूलो चाड भएकाले बडा दशैं भनिन्छ ।
दशैं घटस्थापनादेखि सुरु हुन्छ । नौ दिनसम्म दुर्गाको पूजाका लागि आश्विन शुक्ल प्रतिपदामा घट (कलश) स्थापना गर्ने कामलाई घटस्थापना भनिन्छ ।
विजया दशमीभन्दा अगाडिका नौ दिनलाई नौरथा भनिन्छ । सनातन धर्ममा यी नौ दिनको विशेष महत्व छ । नौ दिन, नौ रातलाई देवीदर्शनको समय मानिन्छ ।
नौरथामा दुर्गा भवानीका विभिन्न अवतारको पूजा आराधना गरिन्छ । दुर्गा भवानीका ९ रूपलाई नगदुर्गा भनिन्छ । नवदुर्गालाई शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री पनि भनिन्छ ।
कथाअनुसार माता दुर्गाले महिषासुर राक्षससँग नौ दिनसम्म युद्ध गरेकी थिइन् । त्यसपछि नवमीको रातमा त्यो राक्षस मारिएको थियो । त्यस बेलादेखि माता दुर्गाको शक्तिमा समर्पित नवरात्रि व्रत मनाउने क्रममा उनका ९ रूपको पूजा गरिन्छ ।
महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको शक्तिपीठहरूमा पूजा गरिन्छ । भक्तजनहरूको भीड लाग्ने गर्छ ।
नवरात्रिमा दुर्गा माताको पूजा गर्दा आशीर्वाद प्राप्त हुन्छ, परिवारजनमा ऐश्वर्य, समृद्धि र सुख प्राप्त हुन्छ भन्ने लोकविश्वास रहेको छ । घरघरमा घटस्थापना, पूजाअर्चना गरिन्छ भने घरबाहिर सामूहिक स्थल, मठमन्दिरमा पूजाआजा गरिन्छ ।
काठमाडौं उपत्यकामा शोभा भगवती, मैतीदेवी, दक्षिणकाली, भद्रकालीलगायत शक्तिपीठहरूमा पूजाआजा हुन्छ । देशका विभिन्न शक्तिपीठहरूमा पनि पूजाअर्चना गरिन्छ ।
प्रतिक्रिया