सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

बालकथा – हिरो

‘हो आमा ! अबदेखि मलाई पनि अरू डन साथीहरू चाहिँदैन । हिरो भाइ भए पुग्छ । म पनि सधैँ राम्रो काम गरेर भाइजस्तै हिरो बन्छु ।’

ढोकाबाट चिहाउँदै वेदकुमारीले भनिन्– ‘होइन, के गर्दैछस् बाबू ? आमा खोइ त ? तेत्रो गुन्द्रुक के गर्न लागेको नि ?’

ए, बजै पो आउनुभएछ, बस्नुहोस् । आमा त बिहानै मेलामा जानुभयो । मेलाबाट थाकेर आउनुहन्छ । घैँटोमा एक मुठ्ठी जति पीठो रहेछ । त्यसैमा गुन्द्रुक, नुन खुर्सानी हालेर पकाउन लागेको हुँ । हामीलाई  पुगिहाल्छ क्यार ! म त आइडिया मास्टर हुँ नि बजै !’

वेदकुमारीले चुः चुः गर्दै भनिन्– ‘हेर ! मेरो बुद्धिमा त कीरा नै परेको रहेछ । तेरो बावु बितेपछि उतै लैजानुपथ्र्यो । शोभाले केही वर्ष हाम्रो घरमा दुःख गरी भने तँ अवश्य ठूलो मान्छे बन्छस् । ढोकामा राम्रोसँग ताल्चा लगाएर आइजो ।’ 

शरद्ले खुसी हुँदै भने– ‘म पनि काम गर्छु नि बजै ! पख्नुहोस्, स्कुलको ब्याग लिएर आउँछु, अब त आमा पनि खुसी हुनुहुन्छ, हैन बजै ?’

भोलि राम्रो हुनेले आजै राम्रो लक्षण देखाउँछ भनेको यही हो । नौ–दश वर्षको उमेरमा पनि आफ्नोभन्दा आमाको बढी पीर छ । यस्तै कुरा गर्दै दुवै घर आए । वेदकुमारीले आँगनमा उभिरहेको प्रनिततिर हेर्दै भनिन्, ‘हेर, बाबु ! आजदेखि शरद् यहीं बस्छ ।’

प्रनितले जवाफ दिए– ‘राम्रै भयो, यसको पढाइ, खेल सबै राम्रो भएकाले नवराज सरले हिरो भन्नु भएपछि सबैले हिरो भन्न थाले । म त डन हुँ डन....।  हेर्नुहोस् न, अब त हिरोसिरो डनको अगाडि कसरी जिरो हुन्छ ।’

प्रनित हिँडेपछि वेदकुमारी अँध्यारो मुख लगाएर थ्याच्च पिँढीमा बसिन् । शरद्ले सम्झाए– ‘बजै ! पीर नगर्नुहोस् । सरले भन्नुभएको सधैँ हाँस्नुपर्छ रे क्या ! अनि स्वास्थ्य राम्रो हुन्छ रे ! अबदेखि आमा पनि हाँस्नुहुन्छ । दाइ पनि ज्ञानी भइहाल्नु हुन्छ नि !’

वेदकुमारीले  भनिन्– ‘पीर हटाउन तँ आइहालिस् नि बाबै ! अब पीर गर्दिनँ । ल तँ पनि खाएर स्कुल गइहाल्, ढिलो भयो ।’

हवस् भन्दै शरद् खाएर खुसी हुँदै स्कुल पुगे । कक्षाभित्र पसेपछि प्रनितले भने– ‘ऊ हाम्रो घरको नोकर आइपुगे । अब त क्या आनन्द ! हिरोसँग कुनै कुरामा डराउनु पनि पर्दैन । हिरो नै हामी सबैसँग डराउँछ ।’

सँगै बसेका स्पर्शले भने– ‘अब तिमीलाई झन् बोर हुने भयो नि यार ! नोकरचाहिँ फस्ट हुन्छ । तिमी चाहिँ बल्लबल्ल पास हुन्छौ । घरमा गाली गर्नु हुन्न त ?’

मैले त बाटोमा सबै कुरा सोचेर आइसकेँ । कुरा सिम्पल छ । तँ फेल भइनस् भने हाम्रो घरमा बस्नै पर्दैन भनिदिन्छु, भइहाल्छ नि !’

रोजीले कुरा थपिन्– ‘गुड आइडिया ! त्यसकी आमाले दुःख पाउलिन् भनेर पनि त्यो फेल हुन्छ ।

सर र मिसको जिब्रोमा उसैको नाम झुन्डिएको छ । उसको जिब्रोमा उसकी आमाको नाम झुन्डिएको छ । खुब कविता लेखेको थियो नि त्यसकी आमाको...!

जूनभन्दा राम्री छिन्
फूलभन्दा राम्री 
सबैभन्दा राम्री छिन् 
यिनै आमा हाम्री ।’

दीपिकाले हकारिन्– ‘आफूले पनि आमालाई माया गर्नु छैन । अरूले माया गरेको पनि डाह गर्नु छ डाहाडेहरू, सक्छौ भने तिमीहरू पनि आमाको कविता लेख न, हैन शरद् ?’

शरद्ले हो र होइनको जवाफ दिन नपाउँदै कृपा मिस कक्षामा आएपछि सबै चुप लागेर किताब पल्टाउन थाले ।

शोभा पिँढीमा चामल केलाउँदै थिइन् । शरद्लाई देखेपछि आत्तिँदै भनिन्– ‘लौन, के भयो बाबुको ओठमा ?’

स्कुलबाट आउँदा लडेर ओठ काटेको हो । धेरै दुखेको छैन । साँच्ची आमा, तपाईं पनि मजस्तै खुसी हुनुहुन्छ हगि ?’

शोभाले शरद्लाई मुसार्दै भनिन्– ‘साह्रै खुसी छु बाबु ! छोराले के खाएर स्कुल जालान् भनेर पीर गर्दै मेला गएकी थिएँ । बजैले सबै पीर हटाइदिनुभएछ ।’

शरद्ले पिँढीमा बस्दै भने– ‘म पनि ठूलो भएपछि आमा, बजै, आन्टी, अङ्कल सबैलाई खुसी दिन्छु । प्लेनमा घुमाउँछु ।’

तिम्रो इच्छा भगवान्ले पु¥याउँन् । ल खाजा ल्याइदिन्छु भन्दै शोभा घरभित्र पसिन् ।

यसरी दिन बित्दै गयो । शरद् प्रनितको घरमा बसेको सात महिना भए पनि प्रनित शरदलाई पटक्कै मन पराउँदैनथे । सधैँजसो निहुँ  खोजेर  पिट्थे । एक दिन स्कुल जान लाग्दा अर्गली कुलोको साँगु बगाएछ । रोहितले भने, ‘अब यो कुलो कसले पहिले तर्छ ?’

स्पर्शले प्रनितलाई फुक्र्याउँदै भने, ‘हाम्रा साथीहरूमा सबैभन्दा बलियो डन त प्रनित नै हो क्यार ! ऊ नै पहिला तर्छ ।’

साथीहरूले फुक्र्याएपछि या हु ला....भन्दै प्रनित बर्सातको कुलोमा हाम फाले ।

प्रनितलाई कुलोले बगाउन थालेपछि रोहित र स्पर्श कुलेलम ठोके । शरद् प्रनितलाई बचाऔँ भन्दै, उनलाई बगाएतिर दौडिए  । 

केही तल पुगेपछि प्रनित ठूलो ढुङ्गामा अड्किए । शरद्ले बल गरेर प्रनितलाई कुलोबाहिर निकाले । त्यतिबेलासम्म अरू ४–६ जना ठूला मान्छेहरू पनि जम्मा भए । शरद्ले भने– ‘काकाहरू ! छिट्टो उत्तानो पारेर उनको पेटमा थिच्नुहोस् न ।’ 

रमणले पेटमा थिच्दै भने– ‘पीर नगर शरद्, यो छट्टुलाई केही हुँदैन । ऊ पानी पनि ओकल्यो ।’

वेदकुमारी रुँदै आएर प्रनितलाई मुसार्दै भनिन्– ‘लौन, के भयो मेरो बाबालाई ? उठ बाबा ! उठ !! घरमा कोही छैनन् सबै बजार गएका छन् । अब के गर्नु ?’

प्रनितले बिस्तारै आँखा खोलेर यताउता हर्दै भने– ‘ऐया मरे नि ! खोइ, रोहित, स्पर्श ? उनीहरू नभएको भए म आज मर्ने नै थिएँ आमा !’

रमणले रिसाउँदै भने– ‘खोइ, अरूलाई त हामीले देखेनाँै । शरद्ले बचाऊ बचाऊ भनेको सुनेर हामी आयौँ । कुलोको डिलैडिल यही कुद्दै थियो । धन्न कुलोमा खसेन । ज्यानको बाजी लगाएर बचाउने शरद् नै हो ।’

हिलाम्य भएर काँपिरहेको शरद्तिर हेर्दै वेदकुमारीले भनिन्– ‘यो त देवता नै हो । यसको गुन गाएर नै सकिन्नँ । हैन, कसरी कुलोमा परे नाति ?’

शरद्ले भने– ‘हेर्नुहोस् न मैले गर्दा नै प्रनित कुलोमा हाम फालेका हुन् ।’

वेदकुमारीले हात उठाउँदै भनिन्– ‘मैले तँलाई यही गर्न घरमा ल्याएकी हो ?’

सुतेको ठाउँबाट ज¥याकजुरुक उठेर हजुरआमाको हात समात्दै प्रनित बोले– ‘होइन ब्यारे ! शरद्ले त कुलोमा जानु हुँदैन भनेर मलाई समात्दै थिए । साथीहरूले डनलाई केही हुँदैन भने, उनलाई धकेलेर म नै कुलोमा गएको हुँ । हिरो नभएको भए डन त  मर्ने पो रहेछ । अस्तिन पनि उनी लडेर ओठ काटेको होइन नि ! उनले जाँच छ, पढ्नुपर्छ भन्दा मैले नै मुक्का हानेको हुँ । मलाई बचाउन उनले धेरै कुरा लुकाएका छन् ।’

 प्रनितको कुरा सुनेपछि सबैका आँखा रसायो ।

शरद्को टाउको मुसार्दै वेदकुमारीले भनिन्– ‘उफ ! कुरा यति गहिरो पो रहेछ । झन्डै पिटेकी म मूर्खले । शरद्ले गर्दा एउटै भएको नातिलाई गुमाउनु परेन । महामूर्ख प्रनितले पनि सुध्रिने मौका पाए । ‘सङ्गत गुनाको फल’ भनेको यही त रहेछ । सबैले सहयोग ग¥यौ, म साह्रै खुसी छु । तिमीहरूको यो गुन कहिल्यै भुल्ने छैन । आजदेखि मेरा दुइटा नाति भए ।’

प्रनित बोले– ‘हो आमा ! अबदेखि मलाई पनि अरू डन साथीहरू चाहिँदैन । हिरो भाइ भए पुग्छ । म पनि सधैँ राम्रो काम गरेर भाइजस्तै हिरो बन्छु ।’   

प्रनितको कुरा सुनेर सबै खुसी हुँदै हाँसे । वेदकुमारी, शरद् र प्रनित कुरा गर्दै अघिअघि लागे । 

अरू सबै शरद्को तारिफ गर्दै आ–आफ्नो बाटो लागे । 

बुद्धनगर काठमाडौं

 

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।)