सौर्यमण्डल बाहिर गरिएको सबैभन्दा ठूलो एलियन खोज
वैज्ञानिकहरू यस्तो ग्रहको खोजी गरिरहेका छन् जहाँ जीवन रहेको प्रमाण फेला परोस्
ब्रह्माण्डमा एक हजार एक सयभन्दा बढी एलियनका प्रमाण फेला परेका छन् ।
वैज्ञानिकहरू लगातार ब्रह्माण्डमा जीवनको सम्भावनाको खोजी गरिरहेका छन् । उनीहरू यस्तो ग्रहको खोजी गरिरहेका छन् जहाँ जीवन रहेको प्रमाण फेला परोस् । हालसालै एउटा यस्तो टोली ब्रह्माण्डका ६० लाखभन्दा धेरै ग्रहमा जीवनको प्रमाण फेला पार्न सफल भएको छ, जसले केही समयका लागि सबैलाई उत्साहित बनायो ।
कुनै पनि ग्रहमा जीवन छ कि छैन भन्ने पहिचान गर्न दुई प्रकारका सिग्नेचर विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो छ, त्यो ग्रहको बायोसिग्नेचर र दोस्रो त्यो ठाउँ वा ग्रहको टेक्नेसिग्नेचर । बायोसिग्नेचर र टेक्नोसिग्नेचर दुवै सरल शब्द हुन् ।
बायोसिग्नेचर मूलतः ती यौगिक तत्व, अणु र आइसोटोपहरू हुन् जसको उपस्थिति वा अनुपातले जीवनको अस्तित्वको प्रमाणका रूपमा काम गर्दछ । उदाहरणका लागि कुनै ग्रहमा औसतभन्दा बढी पाचन प्रक्रिया वा जलीय प्रक्रियामार्फत् सिर्जना हुने कार्बनडाइअक्साइड, मिथेनजस्ता यौगिक वा वायुमण्डलीय ग्यास छन् भने त्यहाँ कुनै न कुनै समयमा जीवन हुने सम्भावना धेरै हुन्छ । अहिले छैन भने पनि भविष्यमा विकसित हुने सम्भावना हुन्छ ।
ब्रह्माण्ड अनन्त छ, त्यसैले यहाँ कुनै पनि यौगिक फेला पर्नसक्छ । त्यसैले बायो सिग्नेचरको उपस्थितिलाई त्यति धेरै विश्वासिलो मानिँदैन र यही विश्वसनीयतालाई सम्बोधन गर्नका लागि वैज्ञानिकहरू अहिले नयाँ लाइफ सिग्नेचरको खोजी गरिरहेका छन्, जसलाई टेक्नोसिग्नेचर नाम दिइएको छ ।
टेक्नोसिग्नेचर मुख्यतया अत्यधिक ऊर्जावान् वेभ हुन्, जसको सिर्जना कुनै प्रजातिद्वारा कृत्रिम रूपमा गर्ने सम्भावना बढी हुन्छ । उदाहरणका लागि पृथ्वीमा धेरै प्रकारका सञ्चार उपकरण प्रयोग गर्ने गरिन्छ । सेटेलाइटतर्फ धेरै सिग्नल पठाउने गरिन्छ, जसका कारण अनगिन्ती डेटा प्रसारण भइरहेको हुन्छ । यस्तो अवस्थामा यी डेटा तारमार्फत् नभई रेडियो फ्रिक्वेन्सीमार्फत पृथ्वीबाट सेटेलाइटमा पठाइन्छ । यसरी पठाइएका प्रायः डेटा सेटेलाइटहरूले प्राप्त गर्ने गर्दछन् तर कहिलेकाहीँ सबै सिग्नल सेटेलाइटसम्म नपुग्न सक्छन् ।
जसरी हाम्रा सेटेलाइटले यी डेटा रिसिभ गरेर विश्लेषण गर्ने गर्दछन्, त्यसैगरी यदि कुनै शक्तिशाली रेडियो टेलिस्कोप धेरै प्रकाश वर्ष टाढा पृथ्वीतर्फ लक्षित गरेर तैनाथ गरिएको छ भने त्यसले स्पष्ट डेटा नभए पनि यी रेडियो सिग्नल डिटेक्ट गरेर यी सिग्नल कृत्रिम रूपले कसैले सिर्जना गरेका हुन् भन्ने पत्ता लगाउन भने अवश्य सकिन्छ ।
जसरी हामीले पठाएको डेटा एलियनले डिटेक्ट गर्न सम्भव छ, त्यसैगरी हामी मानिसले पनि कुनै ग्रहमा केन्द्रित गरेर त्यसको टेक्नोसिग्नेचर डिटेक्ट गर्न सक्छौं । वैज्ञानिकहरू अहिले यस्ता टेक्नोसिग्नेचर उत्पन्न गर्ने ग्रहको खोजीमा लागेका छन् । भाग्यवश केही वैज्ञानिकहरूले फेला पनि पारेका छन् ।
यी टेक्नोसिग्नेचर पत्ता लगाउन केही वित्तीय संस्थाहरूले पैसा जम्मा पारे र यसका लागि १० करोड डलर लगानी पनि गरे । एलियनको खोजीका लागि आजसम्म गरिएको यो सम्भवतः सबैभन्दा ठूलो लगानी हो । यो एलियन लाइफ खोजी परियोजनाको नाम ब्रेकथ्रु लिसन हो । यो परियोजनाले पृथ्वीमा रहेका केही शक्तिशाली रेडियो टेलिस्कोपको प्रयोग गर्दछ ।
जस्तो कि अमेरिकामा रहेको ग्रिन बैंक रेडियो टेलिस्कोप र अस्ट्रेलियाको पार्केस टेलिस्कोप । ती टेलिस्कोपहरूद्वारा वरिपरिका एक सय ग्यालेक्सीमा रहेका १० लाख स्टार सिस्टम स्क्यान गरेर त्यहाँका टेक्नो सिग्नेचर निकालिएको थियो । अहिले यसको परीक्षण भइरहेको छ ।
प्रतिक्रिया