त्यो गाउँ, यो सहर
गाउँको वायु, पानी र माटो प्रदूषणमुक्त छ, हरियाली र खुला ठाउँहरू प्रशस्त छन् तर काठमाडौंमा जता गए पनि गाडीहरूको ताँती मात्रै देखिन्छ । यहाँ वायु प्रदूषण पनि धेरै छ ।
मेरो जन्म धनुषाको ढल्केवरमा भएको हो । म सानैदेखि गाउँमै हुर्केको हुँ । कक्षा १० सम्म आफ्नै गाउँमा बसेर पढें । यसैले होला, मैले सहरको बारेमा खासै बुझ्न र अनुभव गर्न पाएको थिइन ।
जब म कक्षा १० पास गरेर आफ्नो पढाइलाई निरन्तरता दिनका लागि काठमाडौं आएँ, मैले यहाँ युप्रै कुरामा भिन्नता देखे । जस्तै : वातावरण, जीवनशैली, रहनसहन, खानपान, विद्यालय तथा कलेज, प्रदूषण आदि थुप्रै कुरा यहाँँ अलग रहेछन् ।
आफ्नो गाउँमा हुञ्जेल मैले कहिल्यै एक्लै बस्नु परेन । कुनै कुरा चाहियो भने बुबाआमाले पूरा गरिदिनुहुन्थ्यो । घरमा मलाई सही बाटोमा हिँडाउने आमाबुबा हुनुहुन्थ्यो । सानोतिनो गल्ती गरे पनि उहाँहरूले आफ्नै समस्याजस्तो गरी समाधान निकालिदिनुहुन्थ्यो । जब म काठमाडौं आएँ, तब आफ्नो अभिभावक आफैं बन्नुपरेको छ । आफैंले सही र गलत बाटो छु्याएर हिँड्नुपरेको छ ।
बुबाआमाले कति दुःख गरेर मलाई पढाउनु भएको रहेछ, त्यो अहिले बुझेको छु । घरमा जस्तै यहाँ जथाभावी जे कुरामा पनि पैसा फसाउँदिन । घरमा हुँदा मिठो मिठो आमाले पकाएको जस्तै यहाँ पकाएर खान सक्दिन ।
गाउँमा प्रायः सरकारी र फाट्टफुट्ट मात्रै प्राइभेट स्कुलहरू छन् । काठमाडौंमा त सरकारी स्कुल, कलेजहरू कहाँ छन् भन्ने पनि थाहा नहुने रहेछ । जता हेरे पनि प्राइभेट स्कुल/कलेज मात्रै रहेछन् । मैले यहाँका कलेजहरूमा ठुल्ठूला भवन र आधुनिक तरिकाले पढाउने उपकरणहरू देखें । गाउँभन्दा यहाँ राम्रो पढाइ हुन्छ भनेर सुनेको मात्रै थिएँ, यतै आएर पढ्न थालेपछि हो रहेछ भन्ने लागेको छ ।
गाउँमा शान्त वातावरण छ । त्यहाँको वायु, पानी र माटो प्रदूषणमुक्त छ । हरियाली र खुला ठाउँहरू प्रशस्त छन् । तर, काठमाडौंमा जता गए पनि गाडीहरूको ताँती मात्रै देखिन्छ । यहाँ वायु र ध्वनि प्रदूषण पनि धेरै छ ।
गाउँमा सामुदायिक जिम्मेवारीहरू पारिवारिक र सामाजिक मान्यताका आधारमा पूरा गर्ने गरिन्छ । त्यहाँका मानिसहरूमा सहयोगी भावना र एक–अर्काको मद्दत गर्ने प्रवृत्ति हुन्छ । तर, काठमाडौंमा व्यक्तिगत जिम्मेवारीहरू बढी महत्वपूर्ण हुने रहेछ । ओल्लो घर र पल्लो घरको त परको कुरा, ओल्लो कोठा र पल्लो कोठामा बसेका मानिसहरूबीच पनि हार्दिक सम्बन्ध हुँदैन रहेछ ।
यहाँको जीवन व्यस्त र चापयुक्त छ । व्यक्तिगत र व्यावसायिक जिम्मेवारीहरूलाई प्राथमिकता दिनुपर्ने भएर होला, यहाँ कसैलाई कोहीसँग सरोकार नहुने रहेछ ।
मेरो अनुभवमा गाउँको जीवन शान्त, सरल र स्वस्थकर हुन्छ । गाउँमा मानिसहरूको आत्मीयता, सहयोगी भावना र सामुदायिक भावना सहरको तुलनामा धेरै छ ।
तर काठमाडौँमा जीवन छिटो र व्यस्त हुन्छ । यहाँ धेरै अवसरहरू पाइन्छ तर व्यस्तता र प्रदूषणका कारण मानिसहरू तनावमा देखिन्न्छन् ।
प्रतिक्रिया