ब्रह्माण्डमा फेला परेको हीराको ग्रह
यो ग्रह पृथ्वीबाट ४१ प्रकाश वर्ष टाढा रहेको छ र पृथ्वीभन्दा दुई गुणा ठूलो छ ।
हीरा मानिसको निकै प्रिय, दुर्लभ अनि महँगो वस्तु हो ।
ब्रह्माण्डको धेरै टाढा आकाशगंगामा खगोलविद्हरूले एउटा हीराले बनेको ग्रह फेला पारेका छन्, जसको नाम 55 क्यांक्री–ई (55 Cancri-e) हो ।
यो ग्रह पृथ्वीबाट ४१ प्रकाश वर्ष टाढा रहेको छ र पृथ्वीभन्दा दुई गुणा ठूलो छ । तर यसको घनत्व यति धेरै छ कि यसको मास हाम्रो ग्रहभन्दा नौ गुणा बढी छ । त्यसैले वैज्ञानिकहरूले यसलाई सुपर अर्थ भनेका छन् । यसको मतलब यो पृथ्वीभन्दा ठूलो छ तर अरुण र वृहस्पतिजस्ता ग्रहभन्दा सानो छ ।
सामान्यतया ग्रहहरू धुलो र ग्यासबाट बनेका हुन्छन् तर ग्रहमा ग्यास र धुलोको अनुपात फरक फरक हुनसक्छ । त्यसैले यसको बनोटमा फरक पार्छ । जस्तो कि पृथ्वीमा अक्सिजनको तुलानामा कार्बनको अनुपात कम छ । जसले गर्दा यहाँ हीराजन्य पदार्थ थोरै बन्छ । यहाँ करिब शून्य दशमलब शून्य शून्य एक (०.००१) प्रतिशत मात्रै हीराजन्य पदार्थ बन्ने सम्भावना हुन्छ । तर ५५ क्यांक्री–ईमा जस्तै अन्य ग्रहहरूमा अक्सिजनको तुलनामा कार्बनको अनुपात बढी हुनसक्छ ।
सामान्यतया कार्बन क्रिस्टलाइज भएपछि हीरा बन्ने गर्दछ । यस्तो कार्य प्रायः धेरै ताप र दबाबमा हुने गर्दछ । यो ग्रहमा यी दुवै अवस्था छन् । यो धेरै घनत्व भएको र उम्लिरहेको तातो ग्रह हो । त्यसैले वैज्ञानिकहरू यहाँको सबै कार्बन हीरामा परिणत भएको विश्वास गर्दछन् ।
अन्य ग्रहहरूजस्तै यसको पनि एउटा तारा छ र यसलाई क्यांक्री–ए भनिन्छ । पृथ्वीभन्दा फरक यसको तारा भने धेरै नजिक रहेको छ, जसले गर्दा यो धेरै तातो छ । यसको सतहको तापक्रम करिब दुई हजार चार सय डिग्री सेल्सियस छ । विकिरण उच्च भएका कारण यो ग्रहले आफ्नो वायुमण्डल गुमाएको छ ।
पुष्टि भएका पाँच हजार ६ सय एक्जोप्लानेटहरूमध्ये एक हजार नौ सय ग्रहमा हीराको वर्षा हुनसक्ने अनुमान गरिएको छ । यो पत्ता लागेका एक्जोप्लानेटको एक तिहाई हिस्सा हो । एक प्रकाश वर्षबराबर नौ दशमलब पाँच ट्रिलियन किलोमिटर हुन्छ । त्यसैले यी ग्रहमा पुग्न लगभग असम्भव छ ।
जबकि हीरा पृथ्वीको सबैभन्दा बहुमूल्य रत्नहरूमध्येको एक हो र यो हाम्रो सानो ग्रहमा दुर्लभ छ । तर हाम्रा ग्यालेक्सीहरूमा यो प्रसस्त मात्रामा भएको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया