सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

समाज बुझ्दै बाल क्लबका विद्यार्थी (भिडियाे)

भिडियो र फोटो सौजन्य : नमेशबहादुर राई

हामी सबैले सुनेको नाम हो– युगकवि सिद्धिचरण श्रेष्ठ । अर्को नाम पनि चर्चित छ– व्याकुल माइला (प्रदीपकुमार राई) ।

श्रेष्ठले रचना गर्नुभएको कविता ‘मेरो प्यारो ओखलढुंगा’ सबैलाई कण्ठस्थ छ । व्याकुल माइलाले रचना गर्नुभएको गीत ‘सयौं थुँगा फूलका हामी’ त हाम्रो राष्ट्रियगान नै हो । 

उहाँहरु दुवै जनाको जन्मथलो ओखलढुंगा हो । नेपाली साहित्यको उन्नयनमा ओखलढुंगाको विशेष योगदान छ । 

त्यही ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ धिमिले गाउँमा श्री धिमिले आधारभूत विद्यालय रहेको छ । यो विद्यालय २०३६ सालमा स्थापना भएको हो ।

प्रधानाध्यापक नमेशबहादुर राईले दिनुभएको जानकारीअनुसार यहाँ ८३ जना विद्यार्थी पढ्नुहुन्छ । त्यसमध्ये ५० जना छात्रा र ३३ जना छात्र हुनुहुन्छ । उहाँहरूलाई पढाउन १० शिक्षिका र एक शिक्षक हुनुहुन्छ ।

यो विद्यालयका नानीबाबुले २०८० वैशाखमा सिद्धबाबा बाल क्लब गठन गर्नुभएको छ । क्लबले हरेक साता अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम गर्दै आएको छ । 

विद्यालयले ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) को अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यो वर्ष दिवसको आदर्श वाक्य ‘बहुभाषिक शिक्षाको प्रबद्र्धन : पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता’ रहेको छ । 

त्यसैअनुसार विद्यार्थीले स्थानीय जातजाति, भाषा, भेषभूषा, संस्कृति र परम्पराबारे बोल्नुभएको थियो । किरात वाम्बुले राई जातिबारे कक्षा ६ का सामेन राईले बोल्नुभएको थियो । यसैगरी मगर जातिका बारेमा कक्षा ७ का किस्मत मगरले बोल्नुभएको थियो । नेवार जातिका बारेमा कक्षा ८ की सदीक्षा श्रेष्ठले बोल्नुभएको थियो । गुरुआमा अन्जु राईले वाम्बुले राई भाषाको कविता वाचन गर्नुभएको थियो । 

कक्षा १ र २ का नानीबाबुले अंग्रेजी हस्तलेखन प्रतियोगितामा भाग लिनुभएको थियो । जसमा प्रनिशा राई पहिलो, प्रनिशा मगर दोस्रो र युनिता श्रेष्ठ तेस्रो हुनुभयो भने सपना श्रेष्ठले चौथो पुरस्कार प्राप्त गर्नुभयो । 

यसैगरी हाजिरी जवाफमा कक्षा ३ देखि ५ का नानीबाबुहरू सहभागी हुनुहुन्थ्यो । त्यसमा समूह–‘क’ का सुम्निमा राई, प्रतिमा मगर र वर्षा मगरले पुरस्कार पाउनुभएको थियो ।

मातृभाषा सम्बन्धी लेखनमा ६ देखि ८ कक्षाका विद्यार्थी सहभागी हुनुहुन्थ्यो । त्यसमा पहिलो अर्चना राई, दोस्रो सदिच्छा श्रेष्ठ, तेस्रो सामेन राई र चौथो पुरस्कार लक्ष्मी श्रेष्ठले प्राप्त गर्नुभएको थियो ।