हारुहितो नाेजु : जापान र नेपालको साहित्यिक सेतु (भिडियो)
हारुहिताेले जापानी लोककथाकाे सङ्ग्रह ‘आरुबहादुरको कथा’ लेख्नुभएकाे छ भने गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहलाई जापानी भाषामा अनुवाद गर्नुभएको छ
भाइबहिनीहरू, तपाईंहरुले जापानी लोककथा ‘आरुबहादुरको कथा’ पढ्नुभएको छ ? अनि यो कृतिका रचयिताको नाम थाहा छ ?
‘आरुबहादुरको कथा’ संकलन र नेपाली भाषामा अनुवाद गर्ने व्यक्ति जापानी नागरिक हारुहितो नोजु हुनुहुन्छ । उहाँ चार दशकअघि नेपाल आउनुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसमा दुई वर्ष नेपाली भाषा सिक्नुभयो । उहाँ जापानी भाषा र नेपाली भाषाको अनुवादक बन्न चाहनुहुन्थ्यो । त्यसपछि फेरि त्रिभुवन विश्वविद्यालयमै नेपाली भाषामा स्नातकोत्तर हासिल गर्नुभयो । त्यति पढ्दासम्म नेपालमा आठ वर्ष बिताउनुभयो ।
उहाँले नेपाली भाषा, शिक्षा, साहित्य, संस्कृति, संगीत, नाटक, चलचित्रलगायत क्षेत्रका धेरैजना विज्ञहरूसँग संगत गर्न पाउनु भयो । उहाँले प्रमुख लक्ष्य जापानी भाषाका साहित्यलाई नेपाली भाषा अनुवाद गर्नु थियो । विसं. २०५० सालतिर प्रसंग हो । हारुहितो नोजुले जापानी लोककथालाई नेपालीमा अनुवाद गर्नुभएको छ ।
उहाँले अनुवाद गर्नुभएका लोककथालाई कक्षा ४–७ को ‘सरल नेपाली शृंखला’ पाठ्यपुस्तकमा समावेश गरिएको छ । ती लोककथामध्ये ‘आरुबहादुरको कथा’ सबैले रुचाएको कथामा पर्दछ । उहाँले अरु पनि धेरै जापानी लोकथाहरू नेपालीमा अनुवाद गर्नुभएको छ । यसो त कुनै बेला उहाँले रचना गर्नुभएको ‘तान बुन साथी हो’ बालगीतले खुबै चर्चा पाएको थियो ।
उहाँ लेखक तथा अनुवादकका रूपमा चिनिनुहुन्छ । शब्दमा भाषा बोलेरमात्रै जिन्दगी चल्न सक्दैन, हातमुख पनि जोड्नुपर्छ भन्नुहुन्छ उहाँ । त्यसपछि भाषा अनुवादकको भूमिका निर्वाह गर्नुभयो । उहाँको बुझाइमा राम्रो अनुवादक हुनको निम्ति भाषामात्र जानेर हुँदैन । त्यो देशको रहनसहन, संस्कृति र संस्कारहरू जान्न जरुरी छ । एउटा देशको भाषा अर्को देशको भाषामा अनुवाद गर्नु सजिलो काम होइन । दुवै देशको उत्तिकै विज्ञ भएपछि मात्र यसको काम गर्न सक्छ । नभए अधुरो हुन्छ ।
हारुहितो नोजुलाई नेपाल मनपर्छ । त्यसैले उहाँ नेपाल आइरहनुहुन्छ । यसपटक नेपालबाट निम्तो पाएर दुईवटा कार्यक्रम भ्याउने गरी आइपुग्नुभयो ।
पहिलो कार्यक्रम– नेपाल वाङ्मय फाउण्डेसनले २०८१ असोज १ गते आयोजना गरेको ‘नेपालको बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धान तथा अभिलेखन निर्देशिका’ विषयक विमर्शमा सहभागी हुनुभयो ।
दोस्रो कार्यक्रम– नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडले संयुक्त रूपमा २०८१ असोज ४ र ५ गते आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनमा जापानी बाल साहित्यबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो । यही अवसरमा हामीले कुशल अनुवादक नोजुसँग छोटो कुराकानी गरेका छौं । (भिडियो हेर्नुस्)
सन् १९६० जनवरी १ (वि.सं. २०१६ पुस १७) मा जापानकाे नारा प्रिफेक्चरमा जन्मनुभएका हारुहितो नोजु नेपाली भाषा सिक्ने उद्देश्यले सन् १९८३ (वि.सं. २०४०) तिर नेपाल आउनुभएको थियो । उहाँलाई नेपाल, नेपाली समुदाय र नेपाली भाषा अत्यन्तै मन प¥यो । त्यसैले जापान र नेपालका निम्ति दोहोरो सम्बन्ध विस्तार गर्ने काममा लागी पर्दै आउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सकेसम्म भौतिक, नत्र भर्चुअल कार्यक्रमहरूमा उपस्थिति जनाउनु हुन्छ ।
हारुहितो नोजु प्राध्यापक डा. विप्लव ढकालको त्रिविमा स्नातकोत्तर पढ्दाको सहपाठी र अहिले पनि मिल्ने साथी हुनुहुन्छ । ‘हारुहितो जापान र नेपालको साहित्यिक सेतु हुनुहुन्छ,’ नेपाल वाङ्मय फाउण्डेसनको अध्यक्षसमेत रहनुभएका ढकाल भन्नुहुन्छ, ‘नोजुले जापानी र नेपाली भाषा साहित्य फाँटमा दुवै देशको भण्डारलाई नयाँ–नयाँ उपहार दिनुभएको छ ।’
नोजुले गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहलाई जापानी भाषामा अनुवाद गर्नुभएको छ । यसैगरी अरु धेरै नेपाली साहित्यकारका रचनालाई समेत जापानी भाषामा अनुवाद गर्नुभएको छ । जापानका उत्कृष्ट धेरै रचनाहरू नेपालीमा अनुवाद गर्नुभएको छ ।
हारुहितो नोजुले नाटक, कथा, कविता लेख्नुभएको छ । उहाँले कवि मञ्जुलको १० वटा गीतिशब्दलाई संगीत दिनुभएको छ । गायिका सुनिता सुब्बाले गाउनुभएको ‘त्रिवेणी’ एल्बम प्रकाशित भएको छ । नोजुको संगीतमा प्रसिद्ध गायिका मिरा राणालगायतले गाउनुभएको छ ।
आरोहण नाट्य समूहमार्फत् सुनिल पोखरेल र हारुहितो सहनिर्देशनमा ‘सन्ध्या सारस’ नाटक प्रदर्शन भयो । सबैले मन पराए । उक्त नाटकमा टेलिफिल्म ‘सन्ध्या सारस’ बनेपछि नेपाल टेलिभिजनबाट शृंखलाबद्ध प्रसारण भएको थियो । हारुहितो नोजुले तुलसी घिमिरेले निर्देशन गर्नुभएको ‘दुई थोपा आँसु’ चलचित्रमा अभिनयसमेत गर्नुभएको छ ।
प्रतिक्रिया