आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

साहित्यको जग हाे– बाल साहित्य (भिडियाे)

बाल साहित्यमा पढ्ने, हेर्ने र सुन्ने सामग्री बनाउन सक्नुपर्नेमा जाेड

अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिन चल्नेछ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मेलनको उद्घाटन गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनलाई बहुभाषिक सम्मेलनका रूपमा लिएको बताउनु भएको छ । 

यसैगरी अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनका संयोजक तथा नेपाल प्रज्ञा–प्रतिष्ठान उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बाल साहित्यलाई मूलधारको साहित्यले झैं मान्यता दिनुपर्ने बताउनुभएको छ । 

सम्मेलनमा विभिन्न देशका प्रतिनिधिले आफ्ना अनुभव सुनाउनुभएको छ ।

सिक्किम युनिभर्सिटी नेपाली विभाग प्रमुख डा. कविता लामा साहित्यको जग नै बाल साहित्य भएको बताउनुहुन्छ । साथै भारतीय नेपाली साहित्यको विकास हुन बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ । 

यसैगरी जापानबाट हारुहितो नोजु सहभागी हुनुहुन्छ । उहाँले चार दशकभन्दा बढी समय नेपाली भाषा, साहित्य, संगीतबारे अध्ययन, अनुवाद र संगीत दिनुभएको छ । उहाँ आफ्नो मुलुकको भाषा तथा साहित्य र त्यसमा पनि बाल साहित्यलाई विशेष प्राथमिकतामा राख्न सक्नुपर्ने बताउनुहुन्छ । 

भारतको उडिसाबाट सहभागी हुनुभएका अजित पात्रले बालबालिकाको चौतर्फी विकासका निम्ति बाल साहित्य निर्माण हुनुपर्ने बताउनुभएको छ । वर्तमान डिजिटल युग भएको हुँदा बाल साहित्यमा पढ्ने, हेर्ने, सुन्ने सामग्री पस्कन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । 

सम्मेलनको उद्घाटन सत्रमा भारत, चीन, बंगलादेश, भुटान, श्रीलंका, जापान, मलेसिया, दक्षिण कोरिया, नेदरल्यान्ड्स र डेनमार्कका प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्मेलनमा विदेशीसँगै नेपालका बाल साहित्यकार र विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता छ ।