आज संविधान दिवस
नेपालको संविधान २०७२ असोज ३ गते राजपत्रमा प्रकाशन भई जारी भएकाले यो दिनलाई संविधान दिवसका रूपमा मनाइएको हो ।

भाइबहिनीहरू आज नेपालको संविधान दिवस हो । तपाईंहरु सबै जनालाई संविधान दिवसको शुभकामना ।
नेपालको संविधान २०७२ असोज ३ गते राजपत्रमा प्रकाशन भई जारी भएकोले यो दिनलाई संविधान दिवसका रूपमा मनाइएको हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि जारी भएको यो पहिलो संविधान हो ।
‘संविधान’को अर्थ देशका सम्पूर्ण कानुनको मूल स्रोत अथवा राज्य, राष्ट्र कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरू लेखिएको मूल विधान, मूल कानुन हो ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न यो संविधान बनेको हो ।
मुलुकको पहिलो प्रधानमन्त्री जङ्गबहादुरले नेपालमा वि.सं. १९१० मा मुलुकी ऐन जारी गर्नुभएको थियो । त्यो ऐन जातीय भेदभावमा आधारित थियो ।
नेपालमा २००७ सालमा प्रजातन्त्रको घोषणा भयो । त्यसपछि २००८ सालमा अन्तरिम संविधान लागू भएको थियो । अन्तरिम संविधान लागू भएको आठ वर्षपछि २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी भएको थियो ।
यसै संविधानअनुसार पहिलो पटक देशमा आमनिर्वाचन भयो । आमनिर्वाचनबाट बिपी कोइराला जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभयो ।
त्यो सरकारलाई विघटन गरेपछि पञ्चायत लागू भयो । २०१९ सालमा नेपालको संविधान जारी भयो । २०४६ सालमा जनआन्दोलन भयो । उक्त आन्दोलबाट पञ्चायतको अन्त्य भयो । त्यसपछि २०४७ कात्तिक २३ गते नेपाल अधिराज्यको संविधान २०४७ जारी भएको थियो ।
उक्त संविधान कार्यान्वयन हुँदै गर्दा देशमा माओवादीको सशस्त्र संघर्ष सुरु भयो । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । राज्यसत्ताको बागडोर राजा ज्ञानेन्द्रको हातमा गयो ।
सशस्त्र जनयुद्धमा रहेका माओवादी र सात राजनीतिक दल तथा नागरिक समाज मिलेर २०६२/६३ को जनआन्दोलन भयो । फलस्वरुप संवैधानिक राजतन्त्रको अन्त्य भयो । त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ जारी गरियो । यही संविधानबमोजिम २०६५ सालमा संविधानसभाबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएको घोषणा गरियो ।
२०७२ असोज ३ मा दाेस्रो संविधानसभाबाट पारित नेपालकाे सविधान २०७२ राष्ट्रपति डा. रामवरण यादवले जारी गर्नुभएको हो ।
यो संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ भनी लेखिएको छ ।
यो संविधानलाई ३५ भागमा विभाजन गरिएको छ । यसको ३०८ धारा रहेका छन् । संविधानको भाग–३ मा मौलिक हक र कर्तव्य उल्लेख गरिएको छ । यसैअन्तर्गत धारा ३९ मा बालबालिकाको हक उल्लेख छ ।
याे पनि पढ्नुहाेस् :

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया