आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

लघुकथा : ताली

`विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ ।´

उद‌्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो ।

पुरस्कार पाउने विद्यार्थीहरू एकपछि अर्को आउँदै गरे । पुरस्कार थन्क्याउँदैको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भ्याएनन् ।

`खै, ताली ?´ उद‍्घोषक शिक्षक फेरि चिच्याए । ताली पिट्नेले पिटिरहे । अर्काका लागि ताली पिट्दा पिट्दा एकथरि थाके ।

पुरस्कार पाउने विद्यार्थीहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए ।

ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के ।

सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए ।

 


भोर्लेटार, लमजुङ  

रमेशचन्द्र घिमिरे

(घिमिरे नेपाली लेखक सङ्घ गण्डकी प्रदेश कार्य समितिका सचिव हुनुहुन्छ । उहाँका बालसाहित्यका कृतिहरु प्रकाशित छन् ।)