आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

एउटै पृष्ठभूमि, जो अहिले फरक मार्गमा छन्

हरेक अभिभावकले आफ्नो सन्तानको खुसी र सफलता चाहन्छ । राम्रो शिक्षा दिक्षा होस् भन्ने चाहन्छ । तर बाल गायक सचिनको हकमा त्यस्तो भएन । हुन सकेन । बाबु तेजेन्द्र परियारका कारण अहिले सचिन घर न घाटको भएका छन् ।

 

बालबालिकाको मस्तिष्क र कला अबोध हुन्छ । अभिभावकले राम्रो वातावरण दिए, कला र ज्ञानले सुन्दर भविष्य बनाउन सक्छन् । तर अभिभावकले लापरवाही गरे, उनीहरूको कला र ज्ञानको दुरुपयोग त हुन्छ नै । उनीहरूको भविष्यसमेत जोखिममा पर्छ ।

यो प्रसंग हो, सचिन परियार र अशोक दर्जीको ।

यी दुई बाल कलाकारको पृष्ठभूमि एउटै हो । धरातल एउटै हो । कला पनि एउटै हो । दुई–चार वर्षको अन्तरालमा चर्चा बटुलेका यी दुवैसँग गाउन सक्ने अदभूत कला छ । सानै उमेरमा उनीहरूले दर्शक स्रोताको मन जितेका छन् ।

तर यी दुई अहिले एउटै मार्गमा छैनन् । अभिभावकको भूमिकाका कारण अशोकले जीवनलाई लयमा हिँडाइरहेका छन् भने सचिन सडकमा माग्दै हिँडिरहेका छन् ।

यो कसरी भयो ? यसको संक्षिप्त चर्चा गरौं ।

करिब ६ वर्षअघि झापाको दमकस्थित कुनै सडकमा गीत गाएर पैसा मागिरहेका थिए, अशोक । १०/१२ जनाको भीडमा उनी गुञ्जिरहेका थिए–

‘जुनी जुनी मलाई तिम्रै हुन मन छ,
फेरि फेरि फेरि नाइ नभन्नु ल ।’

त्यहाँ गीत सुनिरहेकामध्ये एक जना यूटुबर थिए । उनले अशोकको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याए । अशोकलाई कला र भाग्यले यति साथ दियो कि, भिडियो रातारात भाइरल भयो । सबैले उनको गायकीको प्रशंसा गरे । भोलिपल्ट उनको अन्तर्वार्ता लिन सयौँ यूटुबर त्यहाँ पुगे ।

गायक तथा संगीतकार टंक बुढाथोकीले पनि अशोकको भिडियो हेरे । उनलाई असाध्यै मन पर्‍यो । झन् टंकको गृहजिल्ला पनि झापा नै थियो । त्यसपछि उनलाई लाग्यो, ‘यो फुच्चेलाई काठमाडौँ ल्याउनुपर्छ ।’

टंकले अशोकलाई काठमाडौँ ल्याएर थप हिट गराए । केही पैसा कमाए पनि तर उनीभित्र मानवीय संवेदना भने हराएन ।

‘मनबिनाको धन ठूलो कि, धनबिनाको मन’ बोलको गीतले अशोकसँगै टंकको चर्चालाई शिखरमा पुर्‍यायो । टंक पहिल्यैदेखि गायक तथा संगीतकार भए पनि दर्शक स्रोताको आँखामा परेका थिएनन् । उनले पनि अशोककै कारण थप चर्चा बटुले ।

टंकलाई अशोकको कलाले तान्यो वा उनको गरिबीले, त्यो उनै जानुन् । तर, उनले अशोकलाई आफ्नो घरमा भित्र्याएर परिवारको सदस्य घोषणा गरे ।

समाज जतिसुकै आधुनिक र शिक्षित भए पनि अझै जातीय विभेदको जड समाप्त भइसकेको छैन । त्यसैमाथि अशोकलाई दर्जी (तल्लो जात) भनेर होच्याउने एउटा वर्ग पनि देखिएको हो । यसका बाबजुद पनि टंकले अशोकलाई घरमा भित्र्याएर अभिभावकत्व लिने (हुर्काउने, पढाउने) जुन घोषणा गरे, त्यसको प्रशंसा गर्न कन्जुस्याईं गर्न हुँदैन ।

यो सबै ६ वर्ष अघिको कुरा हो । टंक अझै आफूले लिएको जिम्मेवारी र अभिभावकत्वबाट पछि हटेका छैनन् । अहिले अशोक ठूलो भइसकेका छन् । उनी अहिले कक्षा ७ मा पढ्छन् । उमेरसँगै शारीरिक बनावट र आवाजमा परिवर्तन हुँदैछ तर अशोकको गायकीलाई जीवित राख्न टंकले दिनहुँ रियाज गराइरहेका छन् ।

हालै उनी एउटा चलचित्रमा काम गर्न पनि अनुबन्धित भए, बालनायकको रूपमा । उनको पढाइलाई असर नहुने गरी लामो बिदा (बर्खा वा जाडो) को समयमा छायांकन गर्ने चलचित्र निर्माण पक्षको तयारी छ ।

जे होस्, अशोक अहिले टंकको सुन्दर अभिभावकत्वमा हुर्किरहेका छन् । जीवनको लय समातिरहेका छन् ।

टंक अशोकका आफ्नै बाबु होइनन् तर अहिले रगतको बाबुछोराझैं बनेका छन् । सचिन र तेजेन्द्र रगतकै बाबुछोरा हुन् तर दुवै जना अहिले सडकमा छन् । घर न घाटको बनाएका छन् ।

जब सचिन आफ्नै बाबुबाट प्रयोग भए...

हरेक अभिभावकले आफ्नो सन्तानको खुसी र सफलता चाहन्छ । राम्रो शिक्षा दिक्षा होस् भन्ने चाहन्छ ।

तर बाल गायक सचिनको हकमा त्यस्तो भएन । हुन सकेन । बाबु तेजेन्द्र परियारका कारण अहिले सचिन घर न घाटको भएका छन् ।

सचिन पनि चार वर्षअघि सडकमा गीत गाएर पैसा माग्दै हिँडेका पात्र हुन् । उनको भिडियो पनि समाजिक सञ्जालमा भाइरल भएको हो । सयौँ यूटुबरले अन्तर्वार्ता लिएका हुन् तर उनलाई हिँड्नुपर्ने बाटोमा हिँड्न दिइएन ।

‘के छ हजुर’ भन्ने उनको मिठो लजवले महानायक राजेश हमालसमेत भुतुक्कै भएका थिए । कहाँको राजेश हमाल, कहाँको सचिन ! तर सचिनसँग हमालले काम गरे । वास्तवमा त्यो सचिनको कलाको जादू थियो ।

सबै कुरा राम्रो हुँदै थियो । केही सामाजिक अभियन्ताहरूले काठमाडौँकै एक विद्यालयमा सचिनलाई भर्ना पनि गरिदिए । उक्त विद्यालयले आफ्नै निवासमा राखेर कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा पनि गर्‍यो । तर, त्यहाँ भिलेन भनेर पुगे उनका बाबु तेजेन्द्र ।

‘आफ्नो छोरोलाई आफैं पढाउँछु’ भन्दै उनले सचिनलाई त्यहाँबाट निकाले । बाबु नै आएर लगेपछि विद्यालयले पनि गरोस् के !

तेजेन्द्रले सचिनलाई विद्यालयको सट्टा राति–राति दोहोरी साँझ र बारमा पुर्‍याएर गाउन लगाए । त्यसबाट आउने पैसा उनले आफैं उडाए ।

कतिसम्म भने, ५/६ महिनाअघि सचिन सिकिस्त बिरामी परे । उनलाई सामाखुशीस्थित ग्रिनसिटी अस्पतालमा भर्ना गरियो । तेजेन्द्रले समाजिक सञ्जालमार्फत यो कुरा जानकारी दिएपछि दर्जनौं अभियन्ताहरूले हस्पिटलमै पुगेर सहयोग गरे । कसैले १५ हजार, कसैले २० हजार, कसैले ५० हजार । त्यतिबेला केही अभियन्ताहरूले विदेशबाट समेत ६ लाख रुपैयाँ जम्मा गरेर सचिनको उपचारका लागि तेजेन्द्रलाई बुझाए । स्वदेश तथा विदेशबाट गरी करिब १२ लाख जम्मा भएको बताइन्छ ।

दुई साताको उपचारपछि सचिन ठीक भए । हस्पिटलको बिल करिब तीन लाख आयो । अरु पैसा कहाँ गयो ? भन्दा तेजेन्द्रले विभिन्न यूटुबरलाई दिएको अन्तर्वार्ताबाट थाहा हुन्छ । सचिनको पढाइ, पोशाक, बसाइलगायतलाई सुनिश्चित गर्नुको साटो तेजेन्द्रले सबै पैसा मोजमस्तीमा सकाए । जसको नतिजा अहिले फेरि सचिन बाटोमा माग्दै हिँडिरहेका छन् ।

यदि तेजेन्द्रले आफ्ना खराब आदतहरूबाट मुक्त भएर छोरोको भविष्य सोचेको भए, आजको अवस्था आउँदैनथ्यो । अहिले सचिन कुनै स्कुलमा पढिरहेका हुन्थे । तेजेन्द्र आफैं सुगठित शरीर भएका मानिस हुन् । कुनै श्रम गर्न सक्थे तर उनी पनि मगन्ते बनेका छन् ।

मानिसको आर्थिक अवस्था एकै किसिमको हुँदैन तर भएको अर्थलाई नियन्त्रित परिचालन गरेर सुन्दर मार्ग बनाउन सकिन्छ ।

अर्को बुझ्नैपर्ने कुरा, टंक अशोकका आफ्नै बाबु होइनन् तर अहिले रगतको बाबुछोराझैं बनेका छन् । सचिन र तेजेन्द्र रगतकै बाबुछोरा हुन् तर दुवै जना अहिले सडकमा छन् । घर न घाटको बनाएका छन् । यसरी तेजेन्द्रले अभिभावकत्व निभाउन नसक्दा उनको जीवन दुर्गतिमा त छ नै, छोरो सचिनको भविष्यसमेत जोखिममा परेको छ ।