आज ६० औँ राष्ट्रिय बाल दिवस
साथीहरू, तपाईंहरुलाई थाहा छ– हामी भदौ २९ मा किन राष्ट्रिय बाल दिवस मनाउँछौं ?

प्यारा भाइबहिनीहरू ! आज २०८१ साल भदौ २९ गते शनिबार । आज राष्ट्रिय बाल दिवस हो । सम्पूर्ण भाइबहिनीहरूमा राष्ट्रिय बाल दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
हामी यो वर्ष ६०औँ राष्ट्रिय बाल दिवस मनाउँदै छौँ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ यो वर्षको नारा रहेको छ ।
नेपाल सरकारले बालबालिकाको सम्मानमा यो दिवस घोषणा गरेको हो । विक्रम संवत् २०२२ सालदेखि राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । त्यतिखेर देशमा राजाको शासन थियो । जनताले राजा–रानी र राजपरिवारका जन्मोत्सवसमेत मनाउनु पथ्र्यो । त्यसैले तत्कालीन बडामहारानी रत्न शाहको जन्मदिन भदौ ४ गते बालदिवस मनाइन्थ्यो ।
नेपालमा २०६२÷६३ सालमा जनआन्दोलन भयो र शासन व्यवस्था परिवर्तन भयो । राजसंस्थाको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भयो । त्यसपछि बडामहारानीको जन्मदिनको सट्टा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।
हाम्रो देश नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ नोभेम्बर २० तारिखमा पारित गरेको थियो । उक्त महासन्धिलाई नेपालले २०४७ साल भदौ २९ गते (सेप्टेम्बर १४, सन् १९९०) अनुमोदन गर्यो । त्यही अनुमोदनको दिन भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।
नेपालमा मात्र मनाइने भएकाले राष्ट्रिय बाल दिवस भनिएको हो । नोभेम्बर २० तारिखका दिन भने विश्वभरि एकसाथ अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ ।
बालबालिका राष्ट्रको गहना हुन् । बालबालिका नभएको घर, परिवार, देश र संसारको कल्पना गर्न सकिँदैन । बालबालिका जन्म दिने हरेक आमाबुबा अथवा अभिभावको दायित्व भनेको हुर्काउन, बढाउन, पढाउन, खेलाउन, ज्ञान दिन, सिप सिक्न उचित वातावरण दिनु हो । बालबालिकाको शिक्षादीक्षादेखि समग्र हितका निम्ति कानुन बनाउने र लागू गर्ने दायित्व सरकारको हो ।
त्यसनिम्ति सरकारले हरेक वर्ष राष्ट्रिय बालदिवसमा नयाँ नारा निर्धारण गर्ने गरेको छ । राष्ट्रिय बालदिवस २०६४/६५ मा ‘सुनिश्चित बाल अधिकार : नयाँ नेपालको पूर्वाधार’ नारा राखिएको थियो । २०६६/६७ मा ‘हामी सबैको सरोकार : नयाँ संविधानमा सुनिश्चित बाल अधिकार’ भन्ने थियो । २०६८/६९ मा ‘हामी सबैको सरोकार : शान्ति, संविधान र सुनिश्चित बाल अधिकार’ भन्ने नारा तय गरियो ।
विश्वव्यापी कोभिड–१९ महामारी चलेको बेला २०७८ सालमा ‘सामान्य अवस्था वा कोभिडको महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ नारा थियो । २०७९ सालमा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ थियो भने २०८० सालमा पनि ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारा तय गरिएको थियो ।
नारा आफैंमा सबैथोक पूर्णता होइन । बाल दिवसको महत्वलाई थप उजागर गर्नका निम्ति यसरी नारा तय गरिएको हो । शिक्षा, स्वास्थ्य, अधिकारबारे जागरण फैलाउन यो दिवस मनाउने गरिएको छ । बालबालिकाको हितमा सकारात्मक नतिजा पैदा गर्नु यो दिवसको लक्ष्य हो । यसले कम्तीमा बालबालिकाको हितमा सबै पक्ष, तह र तप्काको ध्यान तानिन्छ र बालअधिकार सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता जनाउँदछन् ।
संविधान र ऐनमा बालअधिकार
बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका सबैलाई बालबालिका हुन् भनेर परिभाषित गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल जनसंख्यामध्ये बालबालिकाको संख्या ३३.८४ प्रतिशत रहेको छ । बालबालिकाको कुल जनसङ्ख्या ९८ लाख ६९ हजार ५८३ जना छ । जसमध्ये बालक ५१ लाख १४ हजार ५०५ र बालिकाका ४७ लाख ५५ हजार ७८ जना छन् ।
नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ ।
उपधारा (१) मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनिएको छ ।
उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुने उल्लेख छ ।
बालबालिकाको शिक्षाका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्यका निम्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम गर्दै आएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदनअनुसार २०७९ सालमा प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकामध्ये ९४.९ प्रतिशत विद्यालयमा भर्ना हुने गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म ७७ जिल्लामध्ये ७० जिल्ला ‘पूर्ण खोपयुक्त’ गरिएका छन् ।
बाल अधिकार संरक्षण गर्ने निकाय
देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । संघअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद् छ । यो परिषद्ले देशभरिका बालबालिकाको अधिकारका निम्ति समन्वयको भूमिका निर्वाह गर्दै आएको छ । बालबालिकाको अधिकार सुनिश्चित गर्न बनाइएका नीति, नियम र त्यसको कार्यान्वयनको अवस्थाबारे परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँसँग गरिएको कुराकानी :
‘सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने सरकारको निर्णय कार्यान्वयन गर्छौं’
-
बमबहादुर बानियाँ, उपाध्यक्ष, राष्ट्रिय बाल अधिकार परिषद्
अहिले भवन निर्माण, बाटोघाटो, माटोमा बढी लगानी छ तर भोलिका राष्ट्र सञ्चालक संवाहकहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा चाहिं धेरै काम हुन सकेको छैन ।
राष्ट्रिय बाल दिवसमा यसपटकको नारा के छ ?
हामीले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने अघिल्लो वर्षकै नारालाई निरन्तरता दिएका छौं । किनभने यसको लक्ष्य पूरा भएको छैन । नाराको निम्ति नारामात्र राख्ने नभएर बालबालिकालाई लगानी वषै नै राखिएको छ । अहिले देशव्यापी रूपमा बालबालिकाको सवालमा जति पनि विषयहरू छन्, यसलाई प्राथमिकताका साथ संघ, प्रदेश र स्थानीय तहमा बालबालिका ऐन २०७५ र नियमावली २०७८ बमोजिम सशक्त रूपमा कार्यान्वयनको पक्षमा अगाडि बढिरहेका छौं ।
यसपटक बालदिवसको कार्यक्रम के–के छन् ?
यसपटक लगानीलाई उत्प्रेरित गर्ने गरी बाल सहभागितालाई प्राथमिकतामा राखेका छौं । यो वर्षलाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नेपाल सरकारको निर्णय छ । त्यो निर्णय कार्यान्वयन गर्छौं । बाल विवाह अन्त्यका लागि हाम्रो कार्यक्रम छ ।
बालबालिकासम्बन्धी राष्ट्रिय नीति आइसकेको छ, २०८१ मा । यो नीतिअनुसार हाम्रा कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहलाई लक्षित गरेर अगाडि बढाउने कार्यक्रम छ ।
बालदिवसको ६०औं वर्षको उपलब्धिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
संयुक्त राष्ट्रसंघले बाल अधिकार महासन्धि १९८९ मा जारी ग¥यो । नेपाल पक्ष राष्ट्र भइसकेको छ, १९९० देखि । त्यसयताका तीन दशकलाई बालबालिकाको क्षेत्रमा निकै उपलब्धिमूलक समयका रूपमा लिइन्छ । नेपालमा पूर्व केन्द्रीय बाल कल्याण समितिबाट अहिले राष्ट्रिय बाल अधिकार परिषद् बनेको छ । सरकारले एउटा विशिष्टिकृत निकायको रूपमा परिषद्लाई लिएको छ ।
संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी हकलाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । त्यसैले कानुनी र नीतिगत रूपमा प्रशस्त उपलब्धिहरू प्राप्त भएका छन् । कार्यान्वयनका क्रममा स्थानीय तहसम्म पुग्नुपर्ने भएकाले हाम्रो बाल संरक्षण संयन्त्र लगभग ५५ प्रतिशत स्थानीय तहमा पुगिसकेको अवस्था छ । यो तीन दशकलाई बढी उपलब्धिमूलक रूपमा लिन्छौं हामीले । हरेक जिल्ला, हरेक स्थानीय तहसम्म बाल अधिकारका जति पनि इस्युहरू छन्, नयाँ नयाँ इस्यु छन् । तिनमा काम गरिरहेका छौं ।
अहिले चुनौती के कस्ता छन्, बाल अधिकार कार्यान्वयमा ?
संघको कानुन छुट्टै, प्रदेशको कानुन छुट्टै अनि स्थानीय तहको छुट्टै बाल अधिकारसम्बन्धी कानुन बन्छन् । त्यो कानुनलाई हामीले कार्यान्वयनको पक्षमा अलिक चुनौती देखेका छौं । हामीले समन्वय, सहकार्य र सहअस्तित्व यी तीनवटा टर्मलाई प्रयोग गरेर बाल अधिकारको क्षेत्रमा अगाडि बढ्नुपर्ने हुन्छ । त्यसले कहिलेकाहिँ विभिन्न मन्त्रालयहरूसँग समन्वय हुन नसक्दा र अन्तर मन्त्रालय सम्बुझाइ नहुँदाखेरी हामीसँग भएका प्रोभिजनहरू व्यवहारमा नआएको अवस्थाचाहिँ चुनौतीको रूपमा छ ।
सबैभन्दा बढी चुनौती त अहिले नेपालमा बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने हो । नयाँ–नयाँ इस्युहरूमा, घटनाहरूमा, मुलुकमा आएका परिवर्तनले समेत बालबालिकालाई असर पारिरहेको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेर्छ तर ८१–८२ प्रतिशत जनताको सरोकार राख्ने मन्त्रालय लगभग १ अर्ब ६० करोड रुपैयाँ बजेटमा चल्छ ।
बाल अधिकार परिषद्ले पनि विभिन्न खालका आर्थिक रूपमा बजेटिङ पार्टमा समस्याहरू भोग्नु परेको छ । यसलाई संघ, प्रदेश र स्थानीय तहले आफ्नो प्राथमिकतामा नराख्दाखेरी विभिन्न संकट, चुनौतीहरू आएका छन् ।
अहिले भवन निर्माण, बाटोघाटो, माटोमा बढी लगानी छ तर भोलिका राष्ट्र सञ्चालक संवाहकहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा चाहिं धेरै काम हुन सकेको छैन । यो राज्यले नै प्राथमिकतामा राख्न नसकेको अवस्थाले गर्दा चुनौतीमा परेको अवस्था छ ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया