बालबालिकाको उज्यालो भविष्यका लागि नयाँ सुरुवात

हामी भन्ने गर्छौं– बालबालिका कर्णधार हुन्, भोलिको देश निर्माता हुन् र वर्तमानका साझेदार हुन् । हो, यिनै बालबालिकाका आवाजलाई निरन्तर उठाइरहने प्रतिबद्धतासहित हामी तपाईंहरूमाझ आएका छौं– बालसंसार डटकम लिएर ।
यो एउटा अनलाइन पत्रिका हो । हामीले आमसञ्चारको एउटा पक्षलाई मात्रै सम्बोधन गरेर अघि बढ्ने लक्ष्य राखेका छौं ।
प्रसारण तथा प्रकाशनका विभिन्न माध्यमहरूबाट कार्यक्रम उत्पादन, प्रसारण तथा रिपोर्टिङ गर्ने काम यो अनलाइनले गर्नेछ । यो केवल वेबसाइट मात्र होइन, बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकताको अनन्त सम्भावनाको एउटा संसार पनि हो ।
शिक्षा र स्वास्थ्य संविधानले किटान गरेका आधारभूत अधिकार हुन् । यसमा बालबालिकाको पहुँच विस्तार महत्वपूर्ण विषय हो । यसतर्फ हाम्रो ध्यान जानेछ ।
आजको डिजिटल युगमा बालबालिका पनि प्रविधिको मुख्य हिस्सा बनिसकेका छन् तर यसमा उनीहरूको सुरक्षा, मानसिक विकास र सिकाइलाई केन्द्रमा राखेर तयार गरिएको प्लेटफर्म भने कमै छन् । यसै अभावलाई पूर्ति गर्ने र बालबालिकाको आवश्यकताअनुरूप सामग्री प्रदान गर्ने उद्देश्यले हामीले यो अनलाइन सुरु गरेका हौं ।
हाम्रो लक्ष्य बालबालिकाको जिज्ञासालाई प्रोत्साहन गर्दै उनीहरूको रुचि र प्रतिभालाई सही दिशा दिनु हो ।
विज्ञान र प्रविधिले सञ्चारका लागि अनेकन साधनहरू सिर्जना गरिदिएको छ । सञ्चारमाध्यम तथा प्रविधिको विकासले अशोचनीय फड्को मारेको छ । आमसञ्चार माध्यम भनेका छापा, विद्युतीय र अनलाइनमात्र हुन् भन्ने लाग्दैगर्दा न्यु मिडिया र सामाजिक सञ्जालले हामीलाई छोपिसकेको छ । तिनलाई पन्छाएर परम्परागत माध्यममै रमाउन नसकिने अवस्था छ ।
मिडियाको काम आममानिसलाई शिक्षा, सूचना र मनोरञ्जन दिने नै हो । नेपाली पत्रकारितामा छापा, रेडियो र टेलिभिजन परम्परागत मिडियाका रूपमा परिचित छन् ।
विगतमा छापा माध्यममा धेरैवटा बालपत्रिकाहरू छापिए, केही छापिइरहेकै छन् । रेडियो, एफएम र टेलिभिजनहरूमा बाल कार्यक्रम सुचारु छन् तर सञ्चारका साधनहरूको तीव्र विकाससँगै ती सबै विस्तारै छेउ लागिरहेका छन् ।
पछिल्लो डेढ दशकमा छापामाध्यमको स्थान अनलाइनले लिएको छ । अहिले न्युमिडियाले आमसञ्चारमा चुनौती र अवसर लिएर आएको छ । यही परिवेशमा हामीले बालबालिका लक्षित अनलाइन तथा न्युमिडिया रोजेका हौं । यसका माध्यमबाट बालबालिकाका समग्र पक्षलाई उजागर गर्ने हाम्रो प्रयत्न रहनेछ ।
भ्यु फाइन्डर नेपाल कम्पनी प्रालिअन्तर्गत सञ्चालित बालसंसार डट कमबाट हामी बालबालिका लक्षित सामग्री त पस्किन्छौं नै, सँगसँगै नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेका बालअधिकारका पक्षमा आवाज पनि उठाउने छौं । ती विषयमा सरकारको ध्यानाकर्षण गराउने छौं ।
नेपाल सरकार संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र हो । सरकारले अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूमा हस्ताक्षर गरी बालअधिकार सुनिश्चित गर्न जनाएका प्रतिबद्धताहरूप्रति हामी चनाखो भइरहने छौं ।
हाम्रो प्रमुख सरोकार पक्ष भनेका प्रत्येक बालबालिका हुन् । ती बालबालिकाका अभिभावक हुन् । घरपरिवार, समाज, बालबालिकालाई शिक्षादीक्षा दिने शिक्षालयहरू हुन् । ती स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू पनि हाम्रा सरोकार पक्ष हुन्, जो बालबालिकालाई स्वस्थ राख्न निरन्तर सेवारत छन् ।
बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावक, शिक्षक र विद्यालयले दिने गरेका उदाहरणीय समय, समर्पण अनि प्रबद्र्धन कार्यलाई हामी उजागर गर्नेछौं । बालबालिकाका हितमा बनेका ऐन, कानुन, नीति नियमहरू र त्यसको कार्यान्वयन गर्ने निकायको ध्यानाकर्षण गराउने छौं ।
हाम्रो पहललाई सबैले सकारात्मक रूपमा लिएर आवश्यक सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएका छौं । धन्यवाद !

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया