आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

लाेकबाजा संग्रहालय : जहाँ छन् ६ सय ५० भन्दा बढी बाजा

२०५२ सालदेखि देशका विभिन्न ठाउँ, गाउँघर, कुनाकन्दराहरू चहारेर यी बाजा संकलन गरिएका हुन्

बाजा समाजले निर्माण गरेको मनोरञ्जनको साधन हो ।

त्यत्तिकै रूपमा कुन जातिले कस्तो बाजा बजाउँछन् ? किन बजाउँछन् ? कहिले कहिले बजाउँछन् ? कतिखेर बजाउँछन् ? चाडपर्वमा बजाउँछन् कि अरु बेला बजाउँछन् ? बाजा बजाउने मान्छे को हुन्छ ? बाजा बजाउनु अघि केही विधिविधान पनि पूरा गर्छन् कि ? त्यसरी बजाइने बाजाहरू कति थरी होलान् ? कस्ता कस्ता होलान् ?

कतिपय बाजा सबैले बजाउन मिल्दैन । कतिपय बाजा बजाउन विभिन्न विधि पुर्‍याउनु पर्छ । नेपालका विभिन्न जातजाति समुदायले प्रयोग गरेका, गर्दै आएका अनेकथरी बाजाहरू छन् । 

नेपालमा १४२ जातजाति रहेका छन् । १२४ भाषा बोल्ने समुदाय छन् । ती जातजातिको आ–आफ्नै भाषा, संस्कार, संस्कृति परम्पराहरू छन् । त्यही संस्कृति परम्परालाई धान्ने अनेक थरी बाजागाजाहरू छन् । जनजीवनले परम्परागतदेखि चलाउँदै आएका बाजालाई लोकबाजा भनिन्छ । 

आधुनिक प्रविधिको विकाससँगै कतिपय बाजाहरू समाजको चलनचल्तीमा छैन । हराइसकेका छन् । भएका बाजागाजाहरू एकै ठाउँमा हेर्न, देख्न पाइन्न । हो, त्यस्ता बाजाहरू काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर हातामा नेपाली लोकबाजा संग्रहालय रहेको छ । संग्रहालयमा ६ सय ५० भन्दा बढी किसिमका बाजाहरू हेर्न सक्छौं । 

यो संग्रहालयका संस्थापक रामप्रसाद कँडेल हुनुहुन्छ । उहाँकै अगुवाइमा २०५२ सालदेखि देशका विभिन्न ठाउँ, गाउँघर, कुनाकन्दराहरू चहारेर यी बाजाहरू संकलन गरिएका हुन् । संग्रहालयमा सजाइएका बाजामध्ये केही उपहारका रूपमा प्राप्त भएका हुन् । कतिपय थोत्रा फ्याकिएका बाजालाई लिएर पुनःमर्मत गरिएका छन् । धेरैजसो बाजाहरू धेरथोर दाम लगाएरै किनिएका हुन् ।

कतिपय बाजाको नाम पुरानो पुस्ताले सुनेका होलान् तर युवा पुस्ताका निम्ति नितान्त नाम नसुनेका बाजाहरू छन् । ती बाजाले कस्तो आवाज दिन्छन् भन्नेसमेत जानकारी छैन । आधुनिक बाजाको तुलनामा ती पुराना लोकबाजाहरू अव्यावहारिक लाग्नसक्छ ।

लाेकबाजा संकलन र संरक्षणमा गर्नुपरेका संघर्ष र चुनाैतीका विषयमा हामीले संस्ठापक कँडेलसँग भिडियाे कुराकानी गरेका छाैं ।
 

गणेश राई

(वरिष्ठ पत्रकार राई शिक्षा पत्रकारितामा दख्खल राख्नुहुन्छ ।)